अल्लोको कपडाबाट आकर्षक सामग्री
ताप्लेजुङ । ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उनीहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् ।
फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएकी छन् । बिहान–बेलुका घरायसी काम सकेर दिउँसो उनी अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्न व्यस्त रहन्छिन् । त्यही गाउँका ६५ वर्षीया गङ्गामाया लिम्बू पनि अहिले अल्लोको कपडाबाट सामग्री उत्पादन गरेर आत्मनिर्भर बनेकी छन् । उनीसँगै रूपमती लिम्बू पनि तालिम लिएर अल्लो कपडा उत्पादनमा सक्रिय छिन् ।
फुरुम्बो गाउँका १६ महिलाले सामूहिक रूपमा अल्लोको सामग्री उत्पादन गर्दै आएका छन् । हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग र फुङ्लिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरूले उद्यमशीलताको यात्रा सुरु गरेका हुन् । गत वर्षदेखि सुरु भएको अभियानले उहाँहरूको जीवनमा ठुलो परिवर्तन ल्याएको छ । तालिमले महिलालाई उद्यम विकास, अल्लो सङ्कलन, प्रशोधन र उत्पादनको सीप प्रदान गरेको छ । यसै तालिमपछि उनीहरूले कपडाबाट पोशाक, झोला, पर्स, रुमाललगायत सामग्री उत्पादन गर्न थालेका छन् ।
घरेलु तथा साना उद्योग महासङ्घका महिला उपाध्यक्ष विष्णु श्रेष्ठका अनुसार विद्यालयबाट पनि अल्लो सामग्रीको माग आएको छ । ‘महिलाहरूले उत्पादन गरेका सामानको गुणस्तर राम्रो भएकाले बजार विस्तार हुँदैछ,’ श्रेष्ठले भने । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो अभियानमा रेड पाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले रु २४ लाख लगानी गरेका छन् । फुङ्लिङ नगरपालिकाले रु दुई लाख, वडा कार्यालयले रु एक लाख ५० हजार र घरेलु तथा साना उद्योग कार्यालयले रु दुई लाख सहयोग गरेका छन् ।
तालिम र सामूहिक उत्पादनका क्रममा महिलाले ‘फुरुम्बु अल्लो कपडा उद्योग’ दर्ता गरेका छन् । सामूहिक उद्यमका रूपमा सुरु गरिएको यस उद्योगले उत्पादन गरेको सामग्री बजारसम्म पुर्याउन स्थानीय सरकार र हिमाली संरक्षण मञ्चले सहजीकरण गरिरहेको छ । फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार नगरपालिकाले महिलाका उत्पादन विद्यालयमा आपूर्ति गर्ने योजना बनाएको छ । लिम्बूले भने, ‘स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु मात्र होइन, यसले जिल्लाको पहिचानलाई समेत उजागर गर्छ ।’
घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष श्रेष्ठका अनुसार महिलाले घरको चुलोचौकोमा सीमित नरही स्थानीय स्रोत र साधनको सदुपयोग गरेर राम्रो आम्दानी गर्न सक्छन् । श्रेष्ठले भने, “स्थानीय सरकारले उत्पादन प्रवर्द्धन गर्न सक्यो भने महिलालाई अझ प्रोत्साहन हुनेछ”, स्थानीयस्तरमै कच्चा पदार्थको प्रशोधन र उत्पादनले महिलालाई आत्मनिर्भर बनाएको छ । यसले ग्रामीण महिलाको जीवनस्तर उकास्नुका साथै समाजमा उहाँहरूको स्थानसमेत बलियो बनाएको छ ।
फुरुम्बोका महिलाले सामूहिक प्रयासबाट स्थानीयस्तरमा स्वरोजगारको बलियो उदाहरण प्रस्तुत गरेका छन् । गाउँकै कच्चा पदार्थबाट उत्पादन गरिएका सामग्रीले बजार पाउँदै गर्दा उनीहरूमा आत्मविश्वास बढेको फुरुम्बो अल्लो प्रशोधन तथा कपडा उद्योगका अध्यक्ष चन्द्रकुमारी लिम्बूले बताइन् ।
अहिलेको उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजनाअन्तर्गत उत्पादित सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने योजना बनाइएको छ । उनले भनिन्, ‘सहज पहुँच र सहजीकरण पाउने हो भने हाम्रो उत्पादनले ठुलो बजार पाउन सक्छ ।’
महिलाको सामूहिक प्रयासले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जनाका नयाँ सम्भावना उजागर गरेको छ । यसले महिला सशक्तीकरण र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्णवास म्युजियम होटलले अङ्कित मूल्यमा आईपीओ ल्याउँदै, होटलका यस्ता छन् विशेषता
-
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
-
अखिल क्रान्तिकारीमा देखिएन प्रजातान्त्रिक संस्कार, निर्वाचन समिति अनिर्णीत
-
पाथीभरा घटना : सरकारले दमन गरेको भन्दै आन्दोलनको घोषणा
-
१० बजे १० समाचार : विप्लव नेतृत्वको नेकपाले खोल्यो ‘सी व्यापार केन्द्र’, ७ जना सिनियरलाई पन्छाएर जुनियरलाई एसपीको फुली
-
दुई घण्टाभित्रै दुई लाख प्यालेस्टिनी उत्तरी गाजास्थित आफ्नो घर फर्किए, खुसीसँगै दुःखी पनि !