साढे एक लाख रुपैयाँबाट सुरु भएको ‘भलो’ बाट वार्षिक चार करोडको कारोबार
काठमाडौँ । पछिल्लो समय कृषि क्षेत्रमा युवा पुस्ताले नयाँ–नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । तिनैमध्ये एक हो– अनलाइन प्लेटफर्म ।
गौतम गुरुङ र सिर्जना प्रधानले पनि अनलाइन प्लेटफर्ममार्फत आफ्नो व्यवसायलाई ब्रान्डिङ गरेर राम्रो आम्दानी गर्दै आएका छन् । यी दुवै जना सन् २०१७ मा यस्तै खालको एक प्लेटफर्ममा व्यावसायिक रूपमै काम गर्दथे । तर सो प्लेटफर्ममा चार जना लगानीकर्ताबिच कुरा नमिल्दा गुरुङ र प्रधान बाहिरिएका थिए ।
७०/७० हजार रुपैयाँ लिएर बाहिरिएका गुरुङ र प्रधानले सोही रकमलाई पुँजी बनाएर अनलाइन प्लेटफर्मबाटै व्यापार थाले । किनकि उनीहरूमा व्यवसायी बन्ने हुटहुटी थियो । दुवैलाई यसबारे योजना बनाउन एक वर्ष लाग्यो । त्यसपछि सन् २०१८ मा जन्मियो– अर्ग्यानिक अनलाइन । अनि यसलाई ब्रान्डिङ गरी उनीहरूले नाम दिए– ‘भलो’ ।
‘भलो’ ब्राण्डबाट अहिले गुरुङ र प्रधानले विभिन्न उत्पादन बजारमा ल्याएका छन् । बच्चाले खाने लिटो, सातु, कपालमा लगाउने तेल, सेम्पो, ट्रिटमेन्ट क्रिम उनीहरूले उपभोक्ताका लागि अनलाइनमा राखेका छन् । नवमः, फाइभ डाइट, हेयर हेलर, भलो हेयर ओयल, भलो हेयर मास्क र भलो हेयर सेम्पो जस्ता उत्पादन अनलाइनमार्फत देशका मुख्य सहरमा उपलब्ध रहेको उनीहरूको भनाइ छ ।
यी सामान कुनै प्रकारको केमिकलरहित रहेकाले स्वास्थ्यवर्द्धक रहेको उनीहरूको भनाइ छ । स्थापनाको करिब ७ वर्षमा उनीहरूले आफ्नो व्यापारको कारोबार वार्षिक ४ करोड रुपैयाँ बराबर पुर्याएका छन् ।
सिर्जना प्रधान भन्छिन्, ‘हामीले भलो ब्रान्ड बनाएपछिको पहिलो महिनाको कारोबार ७० हजार रुपैयाँ बराबर भएको थियो,’ उनले भनिन्, ‘अहिले राम्रो भएको छ, गत वर्ष मात्रै हाम्रो कारोबार ४ करोडको भएको थियो ।’ यो व्यवसायबाट प्रत्यक्ष रूपमा २३ जनाले रोजगारी प्राप्त गरेको उनको भनाइ छ ।
काठमाडौँको दोचा मार्गस्थित भलोको कार्यालयबाट अनलाइन मार्फत देशको जुनसुकै ठाउँमा रहेर पनि सामान खरिद गर्न सकिने सिर्जनाको भनाइ छ । भलोको नवमः, फाइभ डाइट, हेयर हेलर, भलो हेयर ओयल, भलो हेयर मास्क र भलो हेयर सेम्पो खरिद गर्न फेसबुक पेजमा ‘अर्ग्यानिक अनलाइन’ पेजमा म्यासेज गरेर वा त्यहाँ दिइएका सम्पर्क नम्बरमार्फत सामान खरिद गर्न सकिने सिर्जनाले बताइन् ।
यसका साथै अनलाइन बजार भनेर चिनिने ‘दराज’बाट पनि ‘भलो’का सामग्री खरिद गर्न सकिने सिर्जनाको भनाइ छ ।
- अनलाइन व्यवसायमा चुनौती
पछिल्लो समय अनलाइनबाट हुने ठगी पनि बढ्दै गएको छ । यसले गर्दा राम्रो व्यवसाय गर्नेहरूलाई चुनौती थपिएको छ ।
‘भलो’ले पनि विभिन्न चुनौती खेप्दै आएको छ । नेपालमा केमिकलरहित उत्पादन बजारमा पाउन मुस्किल छ । केमिकलले तत्काल नै नतिजा दिन्छ । यस्ता उत्पादनसँग स्थानीय उत्पादन प्रयोग गरी बनेका सामग्री प्रतिस्पर्धा गर्न मुख्य चुनौती रहेको सिर्जना दाबी गर्छिन् ।
‘हाम्रो सामानमा केमिकल प्रयोग हुँदैन,’ उनले भनिन्, ‘स्थानीय उत्पादन प्रयोग गरी हातले बनाएका सामान भएकाले यसको रिजल्ट देखाउन समय लाग्छ । अहिले मान्छेलाई एकदम छिटो रिजल्ट चाहिएको छ । तर छिटो रिजल्ट दिने वस्तुमा केमिकल मिसाइएको हुन्छ र त्यसले दीर्घकालीन रूपमा हानि गर्छ भनेर मानिसलाई बुझाउन पनि चुनौती छ ।’
अनलाइन मार्फत व्यवसाय गर्नेहरूका लागि सामाजिक सञ्जालमार्फत ग्राहकले दिने प्रतिक्रियाले पनि प्रभाव पर्ने गरेको गौतम गुरुङ बताउँछन् । ‘कतिपय अनलाइनमा ठगी पनि भइरहेका हुन्छन्,’ उनले भने, ‘हामी कानुनी रूपमा अनुमति लिएर काम गर्ने भएकाले अर्डर गरेका वस्तु डेलिभरी गर्दा कुनै किसिमको जोखिम हुँदैन भन्ने ग्राहकलाई बुझाउन समस्या छ । किनकि अनलाइन व्यवसायमा ठगी हुन्छ भनेर मानिसले बुझ्दै आएका छन् । तर हामीले सबै कुरा कानुनी प्रक्रिया अनुसार नै पूरा गर्दै आएकाले हामीबाट त्यस्तो ठगी हुँदैन ।’
उनले आफूहरूको सामान खरिद गर्दा कुनै नतिजा प्राप्त नगरेका कारण फिर्ता लिने गरेकोसमेत बताए । नेपालमा पछिल्लो समय युवा पुस्ताले नयाँ माध्यम सामाजिक सञ्जाल, अनलाइन प्रणालीको प्रयोग गरी व्यवसाय विस्तार गरिरहेका छन् । यसले युवापुस्तालाई उद्यमी भन्ने बाटो बनाइदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा एक जना जीवितै
-
‘सारंग’ फिल्मबारे यस्तो छ ऋचाको अनुभव
-
जब कडा सुरक्षा घेरा तोड्दै विराट कोहलीका समर्थक मैदानभित्र प्रवेश गरे ...
-
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
-
अदालतको आदेशमाथि स्वच्छ टिप्पणी गर्न पाइन्छ, त्यही गरेको हुँ : वरिष्ठ अधिवक्ता त्रिपाठी
-
विराट एक्स्पोमा खारेजीमा परेको संस्थाले स्टल राखेपछि खैलाबैला