रातोपाटी ब्रिफिङ : एक करोड धरौटी बुझाएर मध्यराती पोखरा हिँडे रविदेखि बिचैमा रोकियो अखिल क्रान्तिकारीको मतगणनासम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
मध्यराति पोखरा हिँडे रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर रिहा भएलगत्तै राति नै पोखरातर्फ लागेका छन् । त्यसलगत्तै सभापति लामिछाने भैरहवाबाट गाडीबाट पोखरा प्रस्थान गरेका रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष शालिकराम घिमिरेले बताए । आइतबार अबेर आएको फैसलापछि रकम धरौटीका लागि केहीबेर समय लागेको थियो । प्रभु बैङ्कमार्फत धरौटी बुझाएर रिहा भएका लामिछानेले केहीबेर आफ्ना नेता कार्यकर्तासँग खुसी साटेका थिए।
बैठकमा समय छैन भनेका मन्त्री खड्कालाई देउवाले दिए जवाफ
नेपाली कांग्रेस संसदीय दलको बैठकमा आइतबार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ऊर्जामन्त्री दीपक खड्कालाई जवाफ दिएका छन् । मन्त्री खड्काले भोलिको बैठकमा आउन समय नभएको भन्दै आज बोल्न समय लिएपछि देउवाले उनलाई ‘मन्त्री पनि हुने, समय छैन भन्ने’ भन्दै जवाफ फर्काएका थिए ।
अखिल क्रान्तिकारीको विश्वविद्यालय र विशेष प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित
अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार विशेष र विश्वविद्यालय प्रदेशले संयुक्त विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि मतगणना स्थगित गरेको हो ।
पाथीभरा झडपमा २१ प्रहरीसहित २५ जना घाइते
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा परी २५ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
१५ बुँदे निर्णयसहित सकियो राप्रपाको बैठक
राप्रपाको केन्द्रीय समिति बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकले सात बुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्युत भएको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी
सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी गरेको छ । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको हो ।
वडा केन्द्रित कार्यक्रममा एमाले
‘मिसन ०८४’मा जुटेको नेकपा एमाले यतिबेला वडा केन्द्रित अभियानमा जुटेको छ । एमालेले यही माघदेखि चैतसम्म वडा केन्द्रित अभियान चलाउँदैछ ।
पढाइमा किन कमजोर भए विद्यार्थी ?
विश्वविद्यालयमा भर्ना दर बढ्दो भए पनि उत्तीर्ण दर भने बढ्न सकेको छैन । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकले विद्यार्थीको पढाइ क्षमता निराशाजनक देखाउँछ । यसबारेमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
डेभिज फल पोखरा महानगर आफैँले सञ्चालन गर्ने
२०३४ सालदेखि छोरेपाटन माविले सञ्चालन गर्दै आएको पाताले छाँगो (डेभिज फल) पोखरा महानगर आफैँले सञ्चालन गर्ने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकबाट पाताले छाँगोको स्वामित्व महानगरले लिनेगरी निर्णय भएको हो ।
श्रमिक कम्युनिस्ट पार्टी विघटनको घोषणा
मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीसहित अन्य पार्टीहरूबाट फुटेर नयाँ बनाइएको ‘श्रमिक कम्युनिस्ट पार्टी नेपाल’ विघटनको घोषणा गरिएको छ । आइतबार सो पार्टीमा आबद्ध रहेका २५ जनाले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विघटन भएको घोषणा गरेका हुन् ।
मोदीलाई ओलीको बधाई
भारतको ७६ औँ गणतन्त्र दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटर ९एक्स०मार्फत मोदी र त्यहाँका जनतालाई गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरमा रगत बनेन ? हरेक दिन खानुस् यो चिज
-
उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको भेट
-
पाकिस्तानका ३८ वर्षीय स्पिनर नोमान अलीले बनाए नयाँ कीर्तिमान
-
खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’
-
दलितलाई निःशुल्क शिक्षाको माग, आवास र जमिनमा पहुँचको खोजी
-
एमालेबाट यहाँसम्म आइपुगेँ, जाँदाखेरि त्यहीँ नै कुरा हुन्छ : पूर्वराष्ट्रपति भण्डारी