१० बजे १० समाचार : रवि लामिछानेसँग एक करोड धरौटी माग, ‘समय छैन’ भन्ने मन्त्रीलाई देउवाको जवाफ
आज २०८१ माघ १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रुपन्देहीमा रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग, बैठकमा समय छैन भनेका मन्त्री खड्कालाई देउवाले दिए जवाफ, अखिल क्रान्तिकारीको विश्वविद्यालय र विशेष प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित, ताप्लेजुङ झडपमा २१ प्रहरीसहित २५ जना घाइते, १५ बुँदे निर्णयसहित सकियो राप्रपाको बैठक, कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी, वडा केन्द्रित कार्यक्रममा एमाले लगायत छन् ।
१. रुपन्देहीमा रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग
सहकारी गठी प्रकरणमा मुद्दा खेपिरहेका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । थुनछेक बहस सकिएपछि आइतबार जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
२. बैठकमा समय छैन भनेका मन्त्री खड्कालाई देउवाले दिए जवाफ
नेपाली कांग्रेस संसदीय दलको बैठकमा आइतबार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ऊर्जामन्त्री दीपक खड्कालाई जवाफ दिएका छन् । मन्त्री खड्काले भोलिको बैठकमा आउन समय नभएको भन्दै आज बोल्न समय लिएपछि देउवाले उनलाई ‘मन्त्री पनि हुने, समय छैन भन्ने’ भन्दै जवाफ फर्काएका थिए ।
३. अखिल क्रान्तिकारीको विश्वविद्यालय र विशेष प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित
अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनअन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार विशेष र विश्वविद्यालय प्रदेशले संयुक्त विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि मतगणना स्थगित गरेको हो ।
४. ताप्लेजुङ झडपमा २१ प्रहरीसहित २५ जना घाइते
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा परी २५ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
५. १५ बुँदे निर्णयसहित सकियो राप्रपाको बैठक
राप्रपाको केन्द्रीय समिति बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकले सात बुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्युत भएको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
६. कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी
सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी गरेको छ । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको हो ।
७. वडा केन्द्रित कार्यक्रममा एमाले
‘मिसन ०८४’मा जुटेको नेकपा एमाले यतिबेला वडा केन्द्रित अभियानमा जुटेको छ । एमालेले यही माघदेखि चैतसम्म वडा केन्द्रित अभियान चलाउँदैछ ।
८. सभामुखको सक्रियता बढ्यो
सभामुख देवराज घिमिरेको सक्रियता बढेको छ । संसद्को हिउँदे अधिवेशन आह्वान भएसँगै सभामुख घिमिरेको सक्रियता बढ्न पुगेको हो । उनले सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतक, सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
९. पढाइमा किन कमजोर भए विद्यार्थी ?
विश्वविद्यालयमा भर्ना दर बढ्दो भए पनि उत्तीर्ण दर भने बढ्न सकेको छैन । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकले विद्यार्थीको पढाइ क्षमता निराशाजनक देखाउँछ । यसबारेमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१०. डेभिज फल पोखरा महानगर आफैँले सञ्चालन गर्ने
२०३४ सालदेखि छोरेपाटन माविले सञ्चालन गर्दै आएको पाताले छाँगो (डेभिज फल) पोखरा महानगर आफैँले सञ्चालन गर्ने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकबाट पाताले छाँगोको स्वामित्व महानगरले लिनेगरी निर्णय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुल्यो विप्लव पार्टीको ‘सी व्यापार केन्द्र’, तस्बिरहरु
-
१०.६१ अंकले घट्दै २६३३ बिन्दुमा नेप्से, ८ अर्ब ९२ करोडको कारोबार
-
अध्यादेशमार्फत बनेको सहकारी प्राधिकरणले थाल्यो काम, अब कसरी अघि बढ्छ ?
-
उपत्यकाव्यापी फुटसल प्रतियोगिता हुँदै
-
अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क उच्च शिक्षा दिन अदालतको आदेश
-
आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौँ : अध्यक्ष प्रचण्ड