कतारका लागि नेपाली राजदूत पौडेलले पेस गरे ओहदाको प्रमाणपत्र

काठमाडौँ । कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले आइतबार कतार राज्यका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
अमिरी दिवान (राजप्रासाद कार्यालय)मा आयोजित कार्यक्रममा राजदूत पौडेललाई गार्ड अफ अनरले स्वागत गरिएको थियो । ओहोदाको प्रमाणपत्र पेस गरे पश्चात् अमिरसँगको भेटमा राजदूत पौडेलले अमिरको अप्रिल २०२४ मा भएको नेपाल भ्रमणबाट नेपाल र कतारबिचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए ।
इजरायल र प्यालेस्टाइनबिच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले खेलेको नेतृत्वदायी भूमिकाप्रति हार्दिक आभार व्यक्त गर्दै राजदूत पौडेलले बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि सहजीकरण गरिदिन समेत आग्रह गरे ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र कतारी जनताको उत्तरोत्तर प्रगति र समृद्धिको शुभकामना पनि उनले व्यक्त गरे ।
राजदूत पौडेलले आफूलाई न्यानो स्वागत गरेकोमा अमिर र कतार सरकारलाई धन्यवाद व्यक्त गरे । उनले नेपाल र कतारबिचको घनिष्ठ र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन आपसी सहयोगका विविध क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतार राज्यका लागि नेपालको राजदूत नियुक्त भएकोमा बधाई दिँदै विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने बताएका थिए ।
अमिरले मध्यपूर्वमा स्थायी शान्तिको लागि कतार निरन्तर प्रयत्नरत रहने प्रतिबद्धता जाहेर गरेको कतारस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आफ्नो नेपाल भ्रमणबाट अत्यन्त हर्षित भएको बताउँदै उनले नेपालको राष्ट्रपति पौडेललाई आभार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स