सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय
प्रदेश

प्रदेश संसद्मा ताप्लेजुङ घटनाको विरोध, सशस्त्र फौज फिर्ता लान आङ्बोको माग

प्रदेश सरकारका प्रवक्ताले भने, ‘प्रहरीमाथि आक्रमण गरेपछि घटना भयो ।’
आइतबार, १३ माघ २०८१, २० : ०९
आइतबार, १३ माघ २०८१

विराटनगर । २१ प्रहरी र चार आन्दोलनकारी घाइते भएको ताप्लेजुङ घटनाले कोशी प्रदेशसभामा प्रवेश पाएको छ । सांसदहरूले आइतबारको बैठकमा उक्त घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । विपक्षी माओवादी, एकीकृत समाजवादी मात्र होइन, सत्तारुढले नै पहिचानको आन्दोलन र स्थानीय संस्कृतिको संरक्षण गर्न माग गरेका हुन् ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अलोकतान्त्रिक र निरंकुश ढंगबाट नागरिकमाथि दमन र नागरिक आवाजमाथि बन्देज लगाउन सशस्त्र फौज उतारिएको दाबी गरे । पवित्र धार्मिक तथा सांस्कृतिक क्षेत्रमा भइरहेको घटनाप्रति उनले दुःख व्यक्त गरे ।

‘विकास होस् वा व्यापार होस् नागरिक र स्थानीय समुदायको सरोकारको विषय पर्छ । मुक्कुमलुङ क्षेत्र व्यापारिक प्रयोजनमा दिँदा स्थानीयको भावनामाथि ठूलो चोट पुगेको छ,’ आङ्बोले संसदमा विशेष समय लिएर भने, ‘त्यसको विरोध गर्दा ठूलो राज्य आतंक सिर्जना गरिएको छ र दमन गरिएको छ । सर्वप्रथम म यो राज्य आतंक र दमनको घोर भत्र्सना गर्दछु ।’

उनले एक व्यापारी रिझाउन जनतालाई गोली चलाउने र जनता ‘मार्ने’ काम सरकारबाट भएको भन्दै यस्तो कार्य तुरुन्त बन्द गर्न आग्रह गरे । ‘निर्माण कार्यलाई तत्काल रोकेर, त्यहाँ भएका सशस्त्र फौजलाई फिर्ता गरेर शान्तिपूर्ण वातावरण तयार गर्नुपर्छ,’ आङ्बोले भने, ‘शान्तिपूर्ण वातावरण बनाई वार्ता र संवाद गरेर बाँकी काम अगाडि बढाउन प्रदेश र संघीय सरकारलाई विषेश अनुरोध गर्न चाहन्छु ।’

एकीकृत समाजवादीका सांसद कमलप्रसाद जबेगूले प्रहरीले ७६ वर्षे वृद्धलाई पनि आक्रमण गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘हिजो दिनभरिको संघर्षपछि खाना खाने बेलामा आक्रमण गर्ने, कुटपिट गर्ने, ७६ वर्षे वृद्धलाई पनि आक्रमण गर्ने र त्यसै बखत गोली हानिएको छ,’ उनले विशेष समयमा भने, ‘चार जनालाई गोली लागेको छ । सरकारले चाहिँ सधैँ लडाइ नै गर्ने हो कि निमुखा जनतामाथि गोली नै प्रहार गर्ने हो कि, सेना नै उतार्ने हो कि ?’

उनले संघ र प्रदेश सरकार व्यापारीको पछाडि कुदिरहनु दुःखपूर्ण भएको बताए । ‘मुकुमलुङलाई, पाथीभरालाई जस्ताको त्यस्तै राख्नुपर्छ । पाथीभरा, वनजंगल प्रदेशलाई दिने अनि अतिक्रमणचाहिँ संघबाट हुने यो किन भइरहेको छ ?,’ उनले प्रश्न गरे, ‘निहत्था नागरिकमाथि गोली चलाउनु एकदमै दुःखद कुरा हो ।’

कांग्रेस सांसद शमशेर राईले राज्य पक्षबाट भएको दमनको भत्र्सना गरे । ‘म सोध्छु जब–जब पहिचानसँग जोडिएका फरक मतहरू आउँछन् त्यो नामाकरणको सवालमा होस् वा मुक्कुमलुङको विषयको फरक मतको बारेमा नागरिकहरूले बन्दुकको गोली नै खानुपर्ने बेला हो र यो ?,’ उनले प्रश्न गरे, ‘ताप्लेजुङभन्दा बाहिरकाले बोल्न जरुरी छैन भन्ने भाष्य सिर्जना गरिएको छ । मक्काको विषयमा विश्वभरका मुस्लिमहरूले धारणा राख्न पाएजस्तै मुक्कुमलुङ, खुवालुङ, तुवाचुङ सबै विषयमा सबैले कुरा उठाउन पाउँछन् ।’

कोशी प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले सदनमा ताप्लेजुङमा भएको उक्त घटनाको विषयमा जानकारी दिएका थिए । प्रदेशभित्र भएको दुःखद् घटनाप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो । प्रहरीभन्दा पहिले आन्दोलनका नाममा विभिन्न जिल्लाबाट मानिसहरू भेला हुने र प्रहरीसँग भिडन्त गर्ने योजना देखिएको उनले बताए ।

‘एक सय बढी लाठी, तीन थान खुकुरी र केही थान गुलेली प्रहरीले बरामद गर्यो । अचानक साँझ ५ः५० मा ढुंगा लडाएर आक्रमण गरियो । प्रहरीले आत्मसुरक्षाका लागि प्रतिकार गरेको हो,’ भण्डारीले भने, ‘त्यस क्रममा २० थान अश्रुग्यास, १० राउन्ड हवाई फायर र दुई राउन्ड गोली चलाउँदा उक्त घटना भएको हो । प्रहरीमाथि सांघातिक हमला भएपछि यो परिस्थिति भएको हो । ९० जनाको प्रहरी टोली त्यहाँ थियो । दुवैतर्फ केही घाइते भयो, हताहती नै भने भएन ।’

एमाले सांसद विदुरकुमार लिङ्थेपले पनि ताप्लेजुङमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै चाँडै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर निकास दिनुपर्ने माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप