मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियन ओपन टेनिस : सिनियाकोभा र टाउनसेन्डको जोडीले चुम्यो महिला डबल्सतर्फको उपाधि

आइतबार, १३ माघ २०८१, १६ : २२
आइतबार, १३ माघ २०८१

काठमाडौँ । पहिलो वरीइतामा आसिन क्याटरिना सिनियाकोभा र टेलर टाउनसेन्डको जोडीले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला डबल्सतर्फको उपाधि जितेको छ । 

अमेरिकाकी टाउनसेन्ड र चेक गणतन्त्रकी सिनियाकोभाको जोडीले आइतबार सम्पन्न फाइनलमा तेस्रो वरीयतामा आसिन हसिह सु–वेई र जेलेना आस्टापेन्कोको जोडीलाई हराउँदै उपाधि चुमेको हो ।

रोमाञ्चक फाइनलमा टाउनसेन्ड र सिनियाकोभाको जोडी ६–२, ६–७ (४), ६–३ अंकसे विजयी भयो । फाइनल खेल जित्न उक्त जोडीले दुई घण्टा २७ मिनेट समय खर्चिएको थियो । 

महिला डबल्सतर्फकी प्रभावशाली खेलाडी सिनियाकोभाले हालसम्म ग्रान्डस्लाम प्रतियोगितामा १० वटा युगलतर्फको उपाधि चुमिसकेकी छन् । मार्टिना हिंगिसपछि उनी ग्रान्डस्लाम प्रतियोगितामा महिला डबल्सतर्फ १० वटा उपाधि चुम्ने पहिलो खेलाडी पनि बनेकी छन् । 

यसअघि, सन् २०१५ मा स्विस टेनिस सुन्दरी मार्टिना हिंगिजले ग्रान्डस्लाम प्रतियोगितामा १० पटक महिला डबल्सतर्फको उपाधि जितेकी थिइन् । सिनियाकोभाले अस्ट्रेलियन ओपनमा जितेको भने यो तेस्रो उपाधि हो ।

यसअघि उनले सन् २०२२ र सन् २०२३ मा पनि महिला डबल्सतर्फको उपाधि चुमेकी थिइन् । त्यतिबेला उनले बारबोरा क्रेजिकोवासँग मिलेर महिला डबल्सतर्फको उपाधि हात पारेकी थिइन् । सिनियाकोभाले डब्लूटीए महिला डबल्स स्पर्धामा जितेको यो २९औँ उपाधि पनि हो । 

यसैगरी, सिनियाकोभाकी जोडी टाउनसेन्डले डब्लूटीए स्पर्धामा महिला डबल्सतर्फ जितेको यो आठौँ उपाधि हो । उनले हालसम्म दुईवटा ग्रान्डस्लाम उपाधि चुमेकी छन् । यसअघि, उनले गत वर्ष विम्बल्डनमा महिला डबल्सतर्फको उपाधि जितेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप