सभामुखको बढ्यो सक्रियता, सत्ता र प्रतिपक्षसँग अलग अलग छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरेको सक्रियता बढेको छ । संसद्को हिउँदे अधिवेशन आहवान भएसँगै सभामुख घिमिरेको सक्रियता बढ्न पुगेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गरिसकेका छन् । बैठक बस्ने मिति नजिकिएसँगै सभामुख देवराज घिमिरेले सरकार, सत्तापक्ष र प्रतिपक्षसँगको संवादलाई तीव्रता दिएका हुन् ।
संवादका क्रममा सभामुख घिमिरेले आइतबार सत्तापक्ष प्रतिपक्षका मुख्य सचेतक र प्रमुख सचेतकसँग छुट्टाछुटटै छलफल गरेका छन् । ती छलफलहरूमा सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर परामर्श गरेका हुन् ।
छलफलका क्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढङ्गले अघि बढाउने वातावरण बनाउन र विधेयकहरूलाई छिटो अघि बढाई संसद्लाई बिजनेस दिन आग्रह गरेका छन् । समितिमा अल्झिएर रहेका विधेयक, अघिल्लो संसददेखि थाती रहेका केही विषय लगायतमा सभामुखले चासो व्यक्त गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।
आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुखले सदनलाई प्रभावकारी बनाउन देखाएको चासोलाई सकारात्मक रूपमा लिँदै सदनलाई सहज ढङ्गले अघि बढाउन आफूहरूको पनि सकारात्मक पहल हुने प्रतिबद्धता जनाएको कांग्रेसका मुख्य सचेतक घिमिरेले बताए ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद्को प्रभावकारिताका साथै महत्त्वपूर्ण विधेयक अघि बढाउन सत्तारुढ दलले सहयोग गर्नुपर्नेमा सभामुखको जोड रहेको जानकारी दिए । माघ १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।
माघ १४ गते प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग संयुक्त छलफल राखेका सभामुख घिमिरेले माघ १५ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यसबाहेक घिमिरेले संसदीय समितिहरुमा अड्किएका विधेयकहरूका बारेमा समेत सम्बन्धित समिति सभापतिहरूसँग अलग अलग संवाद गरिरहेको सभामुखको सचिवालयले जनाएको छ ।
यता संसद् अधिवेशनसँगै राजनीतिक दलहरूले पनि संसदीय दलका बैठक धमाधम बोलाएका छन् । नेपाली कांग्रेसले आइतबार दलको बैठक बोलाएर आफ्ना सांसदहरूलाई संसद् बैठकमा एकमुख सरकारको प्रतिरक्षा गर्न निर्देशन दिएको छ भने सकारको नेतृत्वकर्ता दल नेकपा एमालेले माघ १६ गते मङ्गलवार बस्ने गरी दलको बैठक बोलाएको छ ।
संसद्को चौथो प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि माघ १४ गते सोमबार सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा बस्ने रास्वपा सचिवालय बैठकले आसन्न संसद् अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा ठोस धारणा तय गर्ने बुझिएको छ ।
संसद् बैठक आह्वान हुनु केही दिन अघिमात्र सरकारले ल्याएको अध्यादेशका बारेमा सत्तापक्ष र प्रतिपक्ष विभाजित अवस्थामा छन् । यही अवस्थामा बस्ने संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्ष अध्यादेशको पक्ष र विपक्षमा उभिने निश्चित जस्तै छ ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्ष दलहरू अध्यादेशको विपक्षमा उभिने तयारीमा छन् भने सत्तापक्षका दलहरूले अध्यादेशको बचाउ गर्न आफ्ना सांसदहरूलाई औपचारिक अनौपचारिक ढङ्गले निर्देशन दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र प्रमुख राजनीति दलका मुख्य र प्रमुख सचेतकबिच छलफल सुरु
-
कांग्रेस नेता रमेशजङ्ग रायमाझी विवादमा
-
परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ
-
निलम्बित सचिव पाण्डेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा पेसी
-
प्रिमियर इन्टरनेसनलद्वारा लिटरेचर फेस्टिभल सम्पन्न
-
पर्स नबोकी हिँड्छन् आमिर खान ?