मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गैरकानुनी बाटो फस्टाउँदा रेमिट्यान्समा धक्का, विगत पाँच वर्षमा यो वर्ष सबैभन्दा कम रेमिट्यान्स

मङ्गलबार, १५ जेठ २०७५, ०९ : ३१
मङ्गलबार, १५ जेठ २०७५

काठमाडौँ । चालु आर्थिक वर्षमा (२०७४/०७५) रेमिट्यान्समा गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले पनि यो वर्ष रेमिट्यान्समा गिरावट आएको उल्लेख गरेको छ ।

राष्ट्र बैंकको ५ वर्षको प्रथम आठ महिनाको तथ्याङ्कमा यो वर्ष भने रेमिट्यान्स आप्रवाह घटेको छ । 

आर्थिक वर्ष ०७०-७१  मा ५ खर्ब ४३ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

त्यस यता लगातार बृद्धि भएर आर्थिक वर्ष २०७३/०७४ (गत आव) सम्म आइपुग्दा सो वर्ष मात्र ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो ।

तर, अचानक चालु आवमा भने रेमिट्यान्स कम भित्रिएको तथ्याङ्कले पुष्टि गरेको छ । 

चालु आवको आठ महिनामा ४ खर्ब ७१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्ला बर्षहरुको तुलनामा यो रकम कम हो ।

पछिल्लो समय नेपालमा हुने गरेको ठूलो परिणामको सुन तस्करी जस्ता क्रियाकलापले पनि रेमिट्यान्स रकममा कमी आएको एक रेमिट्यान्स व्यवसायी बताउँछन् ।

मलेसिया, दुवई, साउँदी अरब लगायत नेपालीको वैदेशिक रोजगारीको गन्तव्य रहेको देशबाट रेमिट्यान्समार्फत पैसा पठाउनेको संख्या घटेको ती व्यवसायी भन्छन् । 

रेमिट्यान्स घट्नुको कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या कम भएको राष्ट्र बैंकले भनेपनि गैरकानुनी बाटो भएर पैसा नेपाल भित्रिदाँ त्यसको सीधा असर रेमिट्यान्समा देखिएको हो । 

पाँच वर्षको विप्रेषण आप्रवाहको अवस्था

 

स्रोत राष्ट्र बैंक : प्रथम आठ महिनाको 

सुधार आउँदै रेमिट्यान्स आयात

गत वर्षभन्दा यो वर्ष रेमिट्यान्स रकम घटेपनि पछिल्लो केही महिनाको अवस्थाले रेमिट्यान्स रकम भने क्रमिक रुपले बढ्दै गएको देखाउँछ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको नौ महिनाको तथ्याङ्क हेर्ने हो भने क्रमिक रुपले रेमिट्यान्समा सुधार आउँदै छ । यद्यपि, विगतका वर्षहरुको तुलनामा रेमिट्यान्स आयातको बृद्धिदर खुम्चदै गएको यथार्थ भने हो । 

चालु आर्थिक वर्षको कात्तिकमा गत वर्षको भन्दा रेमिट्यान्समा गिरावट आएको छ । कात्तिकसम्ममा २ खर्ब २८ अर्ब ९५ करोड रेमिट्यान्स भित्रिएको देखिन्छ । यो गत बर्षको यहि अवधिको तुलनामा भने कम हो । गत वर्ष २ खर्ब ३२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स आयात भएको थियो । चालु आर्थिक वर्षको मंसिरमा (पाँचौ महिनामा) पनि रेमिट्यान्स आयात  घटेको छ । ३ खर्र्ब ४२ अर्ब २३ करोड रेमिट्यान्स गत वर्षको मंसिरमा आयात भएको थियो । तर, चालु आवको मंसिरमा आइपुग्दा घटेर २ खर्ब ८५ अर्ब ३८ करोड रुपैयाँ आयात भएको छ । बाँकी अरु महिनामा भने क्रमशः बढ्दै गएको छ । 

स्रोत : राष्ट्र बैंक (नौ महिनाको तथ्यांक)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप