एमालेले कसरी गर्दैछ संगठन निर्माण र विस्तारको काम ?
काठमाडौँ । संगठनात्मक कामलाई तीव्रता दिएको नेकपा एमालेले २०८१ जेठ मसान्तभित्र ७७ वटै जिल्ला अधिवेशन सक्ने बताएपनि निर्धारित मितिको ८ महिना बित्न लाग्दा समेत सबै जिल्लाको अधिवेशन गर्न सकेको छैन ।
सदस्यता नवीकरण र आवश्यक तयारी अभावलगायतका विभिन्न कारणले मोरङ, सप्तरी, सिरहा, धनुषा र अछामको जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले रातोपाटीलाई बताए ।
संगठन विभागका सचिव माधव ढुंगेलले बाँकी रहेका जिल्ला अधिवेशन पनि अव धमाधम हुने क्रम गरेको बताए ।
‘समयमा जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाहरूको हकमा अधिकांश पालिका र वडा वा सो सरहका कमिटीका अधिवेशनहरू सम्पन्न भैसकेका छन्’, ढुंगेलले भने, ‘ती जिल्लाहरूमा टोल/प्रारम्भिक अधिवेशनहरू सम्पन्न हुने क्रम जारी छ ।’
तीन महिने अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि अधिवेशन सम्पन्न नभएका ठाउँमा यथाशीघ्र अधिवेशन सम्पन्न गर्नेगरी निर्देशन भैसकेको ढुंगेलको भनाइ छ । एमालेले यही माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान चलाउँदैछ ।
२०७९ को निर्वाचन लगत्तै संगठानिक सुदृढीकरण गर्न भन्दै ‘मिसन ग्रासरुट’ अभियान चलाएको एमाले ‘मिसन ग्रासरुट’ अभियान लगत्तै सातै प्रदेश, जिल्ला र पालिका हुँदै हाल वडा केन्द्रित कार्यक्रममा केन्द्रित हुन पुगेको हो ।
पार्टी कमिटीका विभिन्न अधिवेशनहरू गराएर पार्टीमा नेता कार्यकर्ता व्यवस्थापनका साथै ‘मिसन २०८४’ सफल बनाउने एमालेको योजना छ ।
२०७९ को निर्वाचनमा दोस्रो स्थानमा सीमित बनेको एमाले २०८४ को निर्वाचनमा सङ्घ,प्रदेश र स्थानीय तीनै तहमा पहिलो हुने प्रयासमा छ ।
यसअघि एमालेले गत वैशाखमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न गरेको थियो । त्यसयता संगठनात्मक काममा तीव्रता आएको एमाले नेताहरूको दाबी छ ।
यही क्रममा एमालेले २०८१ सालको सदस्यता नवीकरणको काम आधारभूत रूपमा सम्पन्न गरेको जनाएको छ ।
यद्यपि सदस्यता नवीकरण र विस्तारको काम योजनाअनुरूप प्रभावकारी ढङ्गले सम्पादन हुन नसकेको एमालेको आन्तरिक विश्लेषण छ ।
‘तीन महिने अभियानमा पार्टी सदस्यता नवीकरणसँगै अनलाइन प्रक्रिया अघि बढाइएको छ । पार्टीको दसौँ महाधिवेशनले पार्टीको एघारौँ महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पुर्याउने लक्ष्य निर्धारण गरेको हुँदा सोहीअनुसार सदस्यता विस्तारको काम योजनावद्धरूपमा अघि बढाउनुपर्नेछ’, पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै जारी गरेको अन्तरपार्टी निर्देशनमा भनेका छन् ।
एमालेले सदस्यता विस्तार अन्तर्गत कूल मतदाता सङ्ख्याको ६ प्रतिशत हुने गरी अघि बढाउन यसअघि नै निर्देशन दिइसकेको थियो । ‘वडा तहमा न्यूनतम ३ प्रतिशत पुर्याउने योजना अघि बढाइएको थियो । पहाडी क्षेत्रका केही जिल्लाबाहेक अधिकांश जिल्लाले त्यो योजनाअनुरूप सदस्यता विस्तार गर्नसकेको देखिँदैन’, अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको पछिल्लो आन्तरिक सर्कुलरमा भनेका छन् ।
यही बिचमा नेकपा एमाले केन्द्रीय संगठन विभागले पार्टी संगठनात्मक कामलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय कार्यशाला सम्पन्न गरेको छ । मंसिर अन्तिम साता सम्पन्न उक्त कार्यशालाले निकालेका निष्कर्षहरूलाई कार्यान्वयन गर्नेमा अहिले एमालेको मुख्य ध्यान केन्द्रित भएको एमाले नेताहरूको भनाइ छ ।
यसअघि एमाले र कांग्रेसबीच असार १७ गते मध्यराती भएको ७ बुँदे सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । उक्त सरकारलाई सफल र सरकारको काम प्रभावकारी बनाउन राज्य सञ्चालनसँग सम्बद्ध पार्टी विभागहरूका तर्फबाट एमालेले सुझाव मागेको थियो ।
यही बिचमा नेकपा एमालेले नेताहरूको नयाँ कार्य विभाजन समेत गरेको छ । नयाँ कार्य विभाजन अनुसार कतिपय विभागमा नेतृत्व परिवर्तन भई विभागीय काम नयाँ शिराबाट अघि बढाउने प्रयास भएको एमाले जनाएको छ ।
‘विभागहरूले पार्टी नियमावलीले गरेको व्यवस्थाअनुरूप नीतिगत अध्ययनका काम अघि बढाएका छन् । समसामयिक विषयमा सम्बन्धित निकायलाई सुझाव दिने र ध्यानाकर्षण गर्ने कामसमेत गर्दै आएका छन् । कतिपय विभागको काम भने खासै अघि बढ्न सकेको देखिँदैन । त्यस्ता विभागहरूलाई काममा तीव्रता दिन अनुरोध गरिएको छ’, एमालेले पार्टी संगठन कामबारे आन्तरिक सर्कुलरमा भनेको छ, ‘पार्टीसम्बद्ध जनसंगठनको काम पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको देखिन्छ ।’
कतिपय जनसंगठनहरूले आफ्नो तहका राष्ट्रिय भेला आयोजना गरी संगठनात्मक कामलाई तीव्रता दिएको बताएको एमालेले आगामी वैशाख मसान्तसम्ममा पार्टीसम्वद्ध १६ वटा जनसंगठनहरूको अधिवेशनको सम्पन्न गर्ने दाबी गरेको छ । ‘कतिपयले अधिवेशनको मिति तोकेका छन् भने कतिपय तोक्ने प्रक्रियामा रहेका छन्’, जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको भनाइ छ ।
पार्टी संगठनलाई व्यवस्थित बनाउने क्रमसँगै एमालेले विधानलाई समेत समयानुकूल बनाउने जनाएको छ । त्यसका लागि आगामी भदौ महिनाको २० देखि २२ सम्म विधान महाधिवेशन बोलाइसकेको छ ।
‘अवबपार्टीले विधान अधिवेशन केन्द्रित बहस र छलफल पनि चाँडै प्रारम्भ गर्छ । त्यसको विस्तृत योजना अव बस्ने पार्टी सचिवालयले तय गर्छ’, संगठन विभागका सचिव ढुंगेलले भने, ‘बलियो राष्ट्रिय शक्ति निर्माण गर्न बलियो पार्टी चाहिन्छ, बलियो संगठन चाहिन्छ त्यसका लागि एमालेले आफ्नो संगठनलाई व्यवस्थित र मजबुत बनाउने आवश्यक कामहरू गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयका शौचालय फोहोर भएको भन्दै प्रधानमन्त्री कार्यालयमा गुनासो
-
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबिच समन्वय अपरिहार्य: प्रधानमन्त्री
-
माओवादी नेताका कार्यविभाजन र जिम्मेवारी हेरफेरमा किन भयो ढिलाइ ?
-
साना दलको गुनासोपछि प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
-
ट्रम्पको कडाइपछि कोलम्बियाको ‘यु–टर्न’, निर्वासित नागरिकलाई राष्ट्रपतिको विमानबाट फिर्ता ल्याइने
-
रातोपाटीमा १५०० रुपैयाँमै डिजिटल वर्गीकृत विज्ञापन राख्न सकिने