सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय
अखिल क्रान्तिकारी निर्वाचन

अखिल क्रान्तिकारीको अध्यक्ष पदमा हेमन्त र विजयबिच कडा प्रतिस्पर्धा, कुन प्रदेशमा कति मत ल्याए ?

आइतबार, १३ माघ २०८१, १३ : ५५
आइतबार, १३ माघ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबिच कडा प्रतिस्पर्धा देखिएको छ । सङ्गठनको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत नेतृत्व छनोटका लागि शनिवार भएको निर्वाचनमा सापकोटा र राईबिच चर्को प्रतिस्पर्धा देखिएको हो ।

पछिल्लो मत परिणाम अनुसार ७ प्रदेशको मतपरिणाम सार्वजनिक हुँदा सापकोटाले जम्मा ४८१ मत पाएका छन् । सापकोटालाई टक्कर दिँदै अर्का अध्यक्षका उम्मेदवार राईले ४६१ मतका साथ पछ्याइरहेका छन् । सापकोटा र राईबिचको मतान्तर जम्मा २० रहेको छ । तेस्रोमा उपदेश यादवले २२१ मत पाएका छन् भने सुदिन पौडेल १४४ मत पाएर चौथो स्थानमा छन् ।  यो रिपोर्ट तयार पार्दासम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । 

यसैगरी सबैभन्दा बढी मतदाता रहेको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशमा विवादका कारण मतगणना सुरु भएको छैन । आचारसंहिता र मतपत्रमा टिक लगाएको मसीको रङका कारण विवाद हुँदा मत गणना कार्य ढिलाइ भएको जानकारी प्राप्त भएको छ । 

मधेस प्रदेशमा मतगणना सम्पन्न भए पनि विवादका कारण स्थगित भएको छ । त्यहाँ खसेको मतभन्दा चार मत कम भएको, सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएको आरोप लगाउँदै सापकोटा र राई पक्षधरले फेरि निर्वाचन हुनुपर्ने माग राखेका कारण मतगणना गर्ने काम बन्द गरेको बुझिएको छ । 

पछिल्लो प्राप्त मतपरिणाम अनुसार सापकोटाले कोशीमा ५७, मधेसमा ४०, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८५, कर्णालीमा ८०, सुदूरपश्चिममा ७२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।  सापकोटालाई पछ्याएका राईले कोशीमा १२६, मधेसमा ४१, बागमती ४८, गण्डकी ३९, लुम्बिनी ६६, कर्णाली ८२, सुदूरपश्चिम ५९ मत पाएका छन् । 

तेस्रो स्थानमा रहेका यादवले कोशीमा ५१, मधेसमा ६७, बागमतीमा ५१, गण्डकीमा १५, लुम्बिनीमा १०, कर्णालीमा ५, सुदूरपश्चिममा २२ मत पाएका छन् । तर बलियो प्रतिस्पर्धी ठानिएका अध्यक्षका अर्का उम्मेदवार सुदिन पौडेलले कोशीमा १९, मधेसमा १, बागमतीमा १७, गण्डकीमा ६१, लुम्बिनीमा २२, कर्णालीमा ८, सुदूरपश्चिममा १६ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप