सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय

कङ्गोमा विद्रोहीद्वारा १३ विदेशी शान्ति सैनिकको हत्या

आइतबार, १३ माघ २०८१, १२ : ०८
आइतबार, १३ माघ २०८१

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा शान्ति स्थापनाका लागि खटिएका १३ जना सैनिकहरू विद्रोही एम २३ समूहसँगको मुठभेडमा मारिएका छन् । ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थित गोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक पनि रहेको दक्षिण अफ्रिकाको सेनाले जनाएको छ । 

त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गोले एम२३ विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ ।

पछिल्ला केही दिनमा एम२३ सँगको भिडन्तमा १३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन् । राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ र त्यहाँको खराब अवस्थाबारे आइतबार राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा छलफल हुँदै छ । सोमवारका लागि तय भएको सो छलफल आइतबार नै गर्न लागिएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप