सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय
नो केबलकार समूह र प्रहरीबिचको झडप

ताप्लेजुङ घटनामा २१ प्रहरीसहित २५ जना घाइते

तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार हुँदै
आइतबार, १३ माघ २०८१, १२ : ०२
आइतबार, १३ माघ २०८१

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा परी २५ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएको जानकारी दिए । उनका अनुसार नो केबलकार समूहका घाइते ३ जनालाई नोबेल अस्पताल विराटनगरमा उपचारका लगिएको जानकारी दिए । 

‘करिब ५ः५० बजेको समयमा प्रहरी इन्स्पेक्टर रोहित शर्मालाई एक जना आन्दोलनकारीले ढुङ्गाले मुखमा हान्नु भएको रहेछ । हेलमेट फुटेर उहाँको मुखमा ढुङ्गाले लाग्यो । उहाँको दाँत हल्लिएको छ र मुख सुन्निएको छ । अहिले उपचाररत हुनुहुन्छ,’ शर्माले भने, ‘नेपाल प्रहरीका १२ जना र सशस्त्र प्रहरीका ९ जना घाइते छन् । अधिकांश सामान्य उपचार पछि डिस्चार्ज भएका छन् । इन्स्पेक्टरसहित केहीको उपचार भइरहेको छ । गोली लागेर आन्दोलनरत समूहका ३ जनाको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।’ 

आन्दोलनरत पक्षमध्येका यमबहादुर लिम्बू र धर्मान पालुङ्वालाई गोली लागेको हो । आन्दोलनरत पक्षका एक जनाको खुट्टा भाँचिएको आफूलाई जानकारीमा आएको उनले बताए ।

 ‘भाग दौडका क्रममा उहाँको खुट्टा भाँचिएको भन्ने जानकारीमा आएको छ,’ उनले भने । आन्दोलनरत पक्षका १ जना सामान्य घाइतेको उपचार पछि घर फर्किएको उनले बताए । ‘थप केही बिरामी भएको उहाँहरूले भन्नुभएको छ । हामीले उपचार गराउँछौँ । ल्याउनुहोस् भनेका छौँ,’ शर्माले भने । 

अहिले त्यहाँको सुरक्षा अवस्था कडा गरिएको उनले बताए । उनले प्रहरीले सुरक्षा सावधानी अपनाएको कारण नै ठुलो क्षति हुन नपाएको बताए । ‘माथिबाट आन्दोलनकारीले ढुङ्गा बर्साइसकेपछि तल रहेका प्रहरीहरूले गोली चलाउनु परेको हो । आन्दोलनकारीले छुरी, दाउरा, ढुङ्गा र गुलेलीहरूसहित आइसकेपछि र कमान्डरलाई नै हानेपछि त्यो अवस्था सिर्जना भएको हो,’ शर्माले भने । 

प्रमुख जिल्ला अधिकारीलाई धाक धम्की

प्रमुख जिल्ला अधिकारी शर्माले आन्दोलनकारी पक्षका प्रदिप मादेनले आफूलाई जिल्ला छाड्ने धम्की आएको बताए ।  ‘घटना हुनुभन्दा अगाडि प्रमुख जिल्ला अधिकारी म आफैँलाई फोन गरेर प्रदीप मादेनले तँ जिल्लामा सुरक्षित छैनस् भनेर असाध्यै अश्लील र तल्लो स्तरका शब्द प्रयोग गरेर जे सक्छस् गर तँ भाग्छस् । अब युद्धको घोषणा भयो भन्नुभयो,’ शर्माले भने, ‘त्यसपछि मैले पनि उहाँलाई तपाई प्रमुख जिल्ला अधिकारीसँग बोल्दै हुनुहुन्छ याद गर्नुहोस् र ख्याल पनि गर्नुहोस् प्रमुख जिल्ला अधिकारी असुरक्षित हुने हो भने तपाई पनि असुरक्षित हुन सक्नुहुन्छ । तपाईँको जवाफ देको हुँ भने ।’ शर्माले मादेनलाई निगरानी गरिरहेको र कानुनको भागेदार रहेको पनि बताए । 

पाथीभरा क्षेत्रको बलुडाडा आसपास क्षेत्रमा दुई पक्षबिच झडप भएको थियो । त्यसक्रममा प्रहरीले चलायो १२ सेल अश्रुग्याँस र केही गोली हानेको थियो । ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मङ्गलवारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप