एबी डे भिलियर्स भन्छन्– ‘कप्तान बनाउन आरसीबीसँग विराट कोहलीको विकल्प छैन’
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण आगामी मार्च २३ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागी अधिकांश टोलीले आफ्ना कप्तानको घोषणा गरिसकेका छन् । तर, केही टोलीले अझै कप्तानको घोषणा गर्न बाँकी छ । त्यसमध्ये रोयल च्यालेन्जर्स बेंगलरु (आरसीबी) पनि एक हो ।
कप्तानको जिम्मेबारी कसलाई दिने भन्ने विषयमा आरसीबीले अझै निर्णय लिन सकेको छैन । यसैबिच, आरसीबीका पूर्वखेलाडी एबी डे भिलियर्सले कप्तानको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । डे भिलियर्सले आरसीबीले कप्तानको जिम्मेबारी प्रभावशाली ब्याट्सम्यान विराट कोहलीलाई दिनु पर्ने धारणा व्यक्त गरेका हुन् । उनले आरसीबीसँग विराटको विकल्प नरहेको बताएका छन् ।
‘आरसीबीले विराट कोहलीलाई नै कप्तान बनाउनु उचित हुन्छ । अर्को विकल्प छैन । विराटले लामो समयदेखि आरसीबीको सफलतामा महत्वपूर्ण योगदान पू¥याउँदै आएका छन्,’ डे भिलियर्स भन्छन् । विराट सन् २०१३ देखि सन् २०२१ सम्म आरसीबीको कप्तानको भूमिकामा सक्रिय थिए । उनको कप्तानीमा पटक–पटक आरसीबी प्रतियोगिताको प्लेअफ चरणमा पनि पुगेको छ ।
तर, आरसीबीले हालसम्म आईपीएलको उपाधि भने चुम्न सकेको छैन । विराटकै कप्तानीमा आरसीबी उत्कृष्ट प्रदर्शन गर्दै सन् २०१६ को आईपीएलमा फाइनलसम्म पुगेको थियो । सन् २०२२ को आईपीएलअघि विराट आफैले कप्तानको जिम्मेबारीबाट विदा लिएका थिए । सुरुदेखि नै एउटै टोलीबाट आईपीएल खेल्ने केही सिमित खेलाडीमध्ये विराट पनि एक हुन् ।
विराटले सन् २००८ देखि नै आरसीबीबाट खेल्दै आएका छन् । डे भिलियर्सका अनुसार, विराटको अनुभव र सफल नेतृत्व आगामी संस्करणमा पनि आरसीबीको सफलतामा कारक बन्न सक्छ । तर, आरसीबीले हालसम्म कप्तानको बारेमा स्पष्ट निर्णय लिइसकेको छैन । समाचारमा जनाइए अनुसार, युवा ब्याट्सम्यान रजत पाटिदार पनि आरसीबीको कप्तानको दौडमा सहभागी छन् ।