शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

तीन कविता

आइतबार, १३ माघ २०८१, १० : ५९
आइतबार, १३ माघ २०८१
  • १)  आमा

सुन्तलेको असिना पानीले चुटेर
जाडोले थर्थर काम्दै
नाङ्गै खुट्टा
कट्टु मात्रै लगाएर
तेह्र वर्षको उमेरमा
चार पाथी चामल बेची
किनेको थिएंँ
६ कोष टाढा
भोजपुर बजार गएर
छत्तीस सालमा
मैले एउटा अटोमेटिक छाता ।

हातमा दिने नगद नभएर
जिन्सी सामान नै
चामल दिएकी थिइन्  
मेरी आमाले मलाई
छाता किन्न
स्नेहका आँसु बगाएर ।

मैले गुन फर्काउनु छ 
दशधारा दुधको
ऋण पनि त तिर्नै छ
दुःख जति लुकाएर
हाम्रा सपना पूरा गर्न 
किन सधैँ तल्लीन रहन्छन् आमाहरू ?
आमाहरू अनेकौँ बुहार्तन बेहोरेर 
छोराछोरीकै खुसीका लागि 
किन सधैँ रोएर बाँच्ने गर्छन् ?
आमाको वात्सल्यता कसले दिन सक्छ र ?
धर्ती आकाश दुवै हुन आमा
मरेर पनि बाँच्छिन् किन ?
म सोध्न चाहन्छु भगवान्लाई 
जवाफ छ त भगवान्सँग ?
निरुत्तर भई किन बस्छौ भगवान् तिमी ?
तिमीप्रति मेरो कुनै भरोसा छैन 
म पूजा अर्चना गर्न सक्तिनँ तिम्रो 
के आमा नै साक्षात् भगवान हैनन् र ?
००

  • २) बुबा 

चौतिस सालको एक बर्खा
म थलिएको थिएँ
भात खान मन नहुने
ज्वरो आउने
दुब्लाउँदै गएर
सुकेनासले भेटेजस्तो
सिद्रा भएको थिएँ म
खेतीपातीको चटारो उस्तै
मलाई एक्लै छोडेर
सखर चिउरा खाजा खानु भन्दै
बटुकीमा राखिदिएर
हतारको गाँस टिपी
आमा बुबा बेँसी झर्नुहुन्थ्यो
म भर दिन
एक्लै पालीमा सुतीबस्थेँ
साँझको पर्खाइमा
जब आउनुहुन्थ्यो आमा–बुबा
 म खुसीले हाँसिदिन्थे
पोलेको मकै खान मन लाग्दा 
नङ्खिला गएर
बुबाले हरिया मकै ल्याइदिएको
सम्झना ताजै छ 
मेरो इच्छा पूरा गरिदिने
दुःख बिमारमा के छ भनी सोधिदिने 
नाना पापाको जोहो गर्दै 
ऋणको पहाडले थिचे पनि 
नहडबडाई
दुःख पीडा चपाएर 
पीडाहरू व्यक्तै नगरी 
हाम्रो सुखका लागि
जीवन समर्पण गर्ने 
महान् मान्छे हो बुबा
म समर्पित छु बुबाप्रति
मैले मुहार हँसाउनु छ
देवताको असली रूप तिमी 
तिमीलाई पुज्नु छ मैले 
पितृ देवो भवः

पितृ देवो भवः पिता देवता समान हुन्  
००

  • ३)  गुरु 

बत्तीस साल पौस
कक्षा तीनमा पढ्दै गर्दा
नन्दप्रसाद गुरुले दिनुभएको
गुणन हिसाब मिलाएर 
स्याबासी पाएको त्यो क्षण
गुरुमा देखिएको प्रशन्नता
विद्यार्थी त यस्तो हुनुपर्छ भनी
डडाल्नोमा धाप मारेर 
अरु विद्यार्थीलाई समेत 
हौसला प्रदान गर्ने गुरुलाई
नमन गर्न मन छ ।

विद्यार्थीको सफलतामा
खुसी प्रकट गरी
विद्यार्थीको असफलतामा
दुःख व्यक्त गर्दै
सही बाटो देखाउन तल्लीन
आफू पग्लिएर
अरुलाई उज्यालो छर्नेहरू
आफू रित्तिएर
अरुलाई भरिलो पार्नेहरू
कहाँ भेटौँ ?
कुन शब्दले पुकारा गरौँ ?
शब्दविहीन भएको छु म
दीर्घायुको कामना गर्दै 
आरोग्यताको प्रार्थना गर्छु 
म आशीर्वादको अपेक्षा राख्दै
शिर थापिबस्छु
शिरमाथि हात राखी
आशीर्वाद दिनुपर्छ
गुरु दक्षिणा के टक्राउँ हजुरलाई ?
एकलव्य तिमी कहाँ छौ ?
तिम्रो जवाफ पर्खी बस्छु 
गुरु दक्षिणमा के टक्राउन सक्छु म ?
०००
सुन्दहरैँचा—६, दुलारी, मोरङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाशचन्द्र खतिवडा
प्रकाशचन्द्र खतिवडा
लेखकबाट थप