सगरमाथाको आरोहण शुल्कले हलचल : कस्तो पर्छ असर ?
काठमाडौँ । सरकारले हिमाल आरोहण शुल्क बढाएको छ । पर्यटन विभागको सिफारिसमा केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहण नियमावली संशोधन गर्दै शुल्क बढाएको हो । नियमावलीको अनुसूची ४ मा यस्तो शुल्क निर्धारणको व्यवस्था गरिएको छ ।
शुल्क बढाउने निर्णय भए पनि यस्तो शुल्क नेपाल राजपत्रमा प्रकाशित भने भएको छैन । अहिले गरिएको उक्त निर्णय आगामी सेप्टेम्बर १ (२०८१ भदौ १७) देखि लागु हुनेछ ।
नयाँ दर अनुसार सगरमाथा चढ्न वसन्तकालीन समयमा सगरमाथा आरोहण शुल्क १५ हजार अमेरिकी डलर पुर्याइएको छ । त्यस्तै, शरद ऋतुमा ७ हजार ५ सय डलर पुर्याउने निर्णय भएको छ । बाँकी सिजन (जाडो र मनसुन) को शुल्क ३ हजार ७५० डलर कायम गरिएको छ । यसअघि तीन वटा सिजनको शुल्क क्रमशः ११०००, ५५०० र २७५० डलर थियो ।
त्यस्तै, नेपाली आरोहीका लागि वसन्त ऋतुमा १ लाख ५० हजार रुपैयाँ पुर्याइएको छ । शरद ऋतुमा ७५ हजार रुपैयाँ र बाँकी सिजनका ३७५०० रुपैयाँ कायम गरिएको छ । हालसम्म तीन सिजनमा ७५०००, ३७५०० र १७२५० रुपैयाँ शुल्क कायम छ ।
सगरमाथा बाहेकका ८००० मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि लागि वसन्तकालीन, शरदकालीन र अन्य सिजनमा क्रमशः ३०००, १५०० र ७५० डलर शुल्क निर्धारण गरिएको छ । हालसम्म यस्तो शुल्क १८००, ९०० र ४५० डलर शुल्क रहँदै आएको छ ।
त्यस्तै, ७५०१ हजारदेखि ८००० हजार मिटर उचाइसम्मका हिमालका लागि १०००, ५०० र २५० अमेरिकी डलर तोकिएको छ । हालसम्म यो दर ६००, ३०० र १५० अमेरिकी डलर कायम गरिएको छ ।
७००० हजारदेखि ७५०० मिटरसम्मका लागि ८००, ४०० र २०० डलर पुर्याइएको छ । अहिलेसम्म यो उचाइको हिमाल चढ्न ५००, २५० र १२५ डलर लाग्दै आएको छ ।
त्यस्तै, ६५०१ देखि ६९९९ मिटरसम्मका लागि ५००, २५० र २०० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ ।अहिलेसम्म उक्त हिमालका लागि ४००, २०० र १०० अमेरिकी डलर आरोहण शुल्क निर्धारण गरिएको छ ।
६५०० मिटरभन्दा कम उचाइका हिमालका लागि ३५०, १७५ र १८५ डलर शुल्क पुर्याइएको छ । हालसम्म यस्तो शुल्क २५०, १२५ र ७० डलर रहँदै आएको थियो ।
त्यसबाहेक, मनासलुको लागि क्रमशः १५००, ३००० र १५०० डलर तथा ६८१२ मिटरको माउन्ट अमादबलममा भने १०००, १००० र ५०० डलर शुल्क निर्धारण गरिएको छ । यसअघि मनासलुका लागि छुट्टै शुल्क थिएन । माउन्ट अमादबलमका लागि भने तीन सिजनमा क्रमशः ४००, ४०० र २०० डलर शुल्क निर्धारण गरिएको थियो ।
सरकारले हिमाल आरोहणमा बढाउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय जगतमा व्यापक चासो बढेको छ । अन्तर्राष्ट्रिय मिडियाले यो विषयलाई चासोका साथ प्रकाशन गरेका छन् ।
अहिले सरकारले उक्त शुल्क बढाउनुमा हिमालमा थपिँदै गएको फोहोरको व्यवस्थापन गर्न र पर्वतारोहणमा काम गर्ने व्यक्तिको बीमा कभरेज बढाउने रहेको उल्लेख गरेको छ । यद्यपि आगामी वसन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्नेले यसको भार व्यहोर्नु पर्दैन ।
- कस्तो पर्छ असर ?
सरकारले पर्वतारोहण शुल्क बढाएसँगै यसको असर पर्यटन क्षेत्रमा कस्तो पर्छ भन्ने विषय सर्वाधिक चासोको विषय छ । एक दशकपछि गरिएको शुल्क परिमार्जन र त्यसको प्रयोजनलाई स्वाभाविक मान्न सकिए पनि यसले गर्ने असरबारे समेत नजरअन्दाज गर्न नहुने पर्यटन क्षेत्रका सरोकारवाला बताउँछन् ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा सरकारको यो निर्णयले पर्वतारोहणका साथै पर्वतीय पर्यटन (ट्रेकिङ) व्यवसायमा समेत असर पर्ने बताउँछन् । अहिले पर्वतारोहण गर्न आउनेहरू एक्लै आउँदैनन् । हिमाल चढ्ने एकजना व्यक्तिले अरू ४/५ जना लिएर आउने गरेको उनको भनाइ छ । त्यसरी आउने व्यक्तिमध्ये अधिकांश बेसक्याम्पसम्म पुग्छन्, ट्रेकिङ गर्छन् । तर शुल्क बढ्दा यसमा नकारात्मक असर गर्न सक्ने उनको भनाइ छ । ‘पर्वतारोहण र ट्रेकिङबिच नङ मासुको सम्बन्ध हुन्छ, त्यसैले असर नपर्ने भन्ने हुँदैन,’ उपाध्यक्ष शेर्पा भन्छन्, ‘पर्वतारोहणको सुरुवात ट्रेकिङबाटै हुने भएकोले यसको स्वाभाविक असर पर्न सक्छ ।’
यसको अर्को असर चाहिँ चीनबाट सगरमाथा चढ्ने सम्भावना हो । अहिले चिनियाँ क्षेत्रबाट समेत सगरमाथा चढ्न पाइन्छ । त्यो क्षेत्रबाट सगरमाथा चढ्दा २५/३० हजार डलरमा सम्पूर्ण खर्च धान्ने अवस्था रहेको व्यवसायीहरू बताउँछन् । जबकि अहिले नेपालले पर्वतारोहणको शुल्क मात्रै ११ हजार डलर छ । सबै खर्च जोड्दा करिब ४० हजार डलर पर्न आउने शेर्पाको भनाइ छ । त्यसैले अहिले पनि कतिपय पर्यटक चीनबाट हिमाल चढ्ने गरेका छन् ।
तर, नेपालबाट सगरमाथा चढ्दा तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । यहाँबाट चढ्दा माथिल्लो रेञ्ज बढी सुरक्षित छ भने तल्लो क्षेत्र बढी जोखिमपूर्ण मानिन्छ । तलो क्षेत्रमा उद्धार कार्य तत्काल हुनसक्ने र माथिल्लो क्षेत्रमा जोखिम कम हुने भएकोले यो बाटो नै पर्वतारोहीको मुख्य रोजाइ हुने गरेको छ । बढ्दो शुल्कले यताको पर्वतारोही उता सिफ्ट हुनसक्ने सम्भावना रहेको शेर्पा सुनाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग
-
विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको स्थगित मतगणना आज १२ बजेदेखि सुरु हुने
-
शिक्षकहरूले गर्न लागेको आन्दोलनको औचित्य के ?
-
सभामुखले प्रमुख पाँच दलका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्दै
-
अल्लोको कपडाबाट आकर्षक सामग्री
-
सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी