सर्वाधिक रन बनाउनेमा बायाँहाते ब्याट्सम्यानको दबदबा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने दोस्रो ठुलो प्रतियोगिता हो, च्याम्पियन्स ट्रफी । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण आगामी फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदै छ ।
भारतले भने च्याम्पियन्स ट्रफीमा आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ संयुक्त अरब इमिरेट्स (यूएई) मा खेल्नेछ । नवौँ संस्करणमा आठवटा टोलीको सहभागिता रहने छ । प्रतियोगिताका क्रममा कुल १५ वटा खेल खेलिने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, भारत, न्युजिल्यान्ड र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा भने अफगानिस्तान, अस्ट्रेलिया, इङ्गल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् ।
यसअघि, च्याम्पियन्स ट्रफीको आठवटा संस्करण सम्पन्न भइसकेका छन् । आठ संस्करण सम्पन्न हुँदासम्म च्याम्पियन्स ट्रफीमा विश्व क्रिकेटका दिग्गज ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।
च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको विषयमा यहाँ चर्चा गरिएको छ । रमाइलो पक्ष के हो भने, च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन बनाउने अधिकांश ब्याट्सम्यान बायाँहाते रहेका छन् ।
क्रिस गेल (वेस्ट इन्डिज)
वेस्ट इन्डिजका प्रभावशाली ब्याट्सम्यान क्रिस गेल च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । हाल अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका ४५ वर्षीय बायाँहाते ब्याट्सम्यान गेलले सन् २००२ देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए ।
गेलले च्याम्पियन्स ट्रफीमा १७ खेल खेलेका छन् । १७ पालीमा उनले ५२.७३ को औसतले कुल सात सय ९१ रन बनाएका छन् । यस क्रममा उनले तीन शतक र एक अर्धशतक पनि हिर्काएका छन् । च्याम्पियन्स ट्रफीमा उनले बनाएको उच्च स्कोर भने अविजित एक सय ३३ रन हो ।
च्याम्पियन्स ट्रफीमा उनको स्ट्राइक रेट भने ८८.७७ रहेको छ । गेलले च्याम्पियन्स ट्रफीमा १५ छक्का र एक सय एक चौका पनि हिर्काएका छन् ।
माहेला जयाबद्र्धने (श्रीलङ्का)
आफ्नो समयका चर्चित श्रीलङ्काली ब्याट्सम्यान हुन्, माहेला जयाबद्र्धने । ४७ वर्षीय माहेला जयाबद्र्धनेले पनि सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् । उनले सन् २००० देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए ।
माहेला जयाबद्र्धनेले च्याम्पियन्स ट्रफीमा कुल २२ खेल खेलेका छन् । २२ खेलेको २१ पालीमा उनले ४१.२२ को औसतले कुल सात सय ४२ रन बनाएका छन् । च्याम्पियन्स ट्रफीमा उनको उच्च स्कोर भने अविजित ८४ रन हो ।
दायाँहाते ब्याट्सम्यान माहेला जयाबद्र्धनेले पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । च्याम्पियन्स ट्रफीमा माहेला जयाबद्र्धनेको स्ट्राइक रेट भने ८४.८० रहेको छ । उनले ६ छक्का र ७९ चौका पनि प्रहार गरेका छन् ।
शिखर धवन (भारत)
आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा भारतका शिखर धवन तेस्रो स्थानमा आसिन छन् । ३९ वर्षीय बायाँहाते ब्याट्सम्यान धवनले सन् २०१३ देखि सन् २०१७ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए ।
धवनले च्याम्पियन्स ट्रफीमा १० खेल खेलेका छन् । उनले १० पालीमा ७७.८८ को औसतले कुल सात सय एक रन बनाएका छन् । यस क्रममा धवनले तीन शतक र तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
च्याम्पियन्स ट्रफीको एउटै पालीमा उनको उच्च स्कोर भने एक सय २५ रन हो । उनको स्ट्राइकर रेट १०१.५९ रहेको छ । उनले आठ छक्का र ७९ वटा चौका पनि प्रहार गरेका छन् ।
कुमार सांगाकारा (श्रीलङ्का)
च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचिमा श्रीलंकाका कुमार सांगाकारा चौथो स्थानमा आसिन छन् । ४७ वर्षीय सांगाकाराले सन् २००० देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए ।
बायाँहाते ब्याट्सम्यान सांगाकाराले च्याम्पियन्स ट्रफीमा कुल २२ खेल खेलेका छन् । २२ खेलको २१ पालीमा उनले ३७.९४ को औसतले कुल ६ सय ८३ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र चारवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
च्याम्पियन्स ट्रफीमा उनको स्ट्राइक रेट भने ७१.३६ रहेको छ । एउटै पालीमा उनको उच्च स्कोर भने अविजित एक सय ३४ रन हो । उनले ६८ वटा चौका पनि हिर्काएका छन् ।
सौरभ गांगुली (भारत)
सौरभ गांगुली आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । ५२ वर्षीय गांगुली पनि बायाँहातले नै ब्याटिङ गर्थे । उनी च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पाँचौँ स्थानमा आसिन छन् ।
गांगुलीले सन् १९९८ देखि सन् २००४ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए । च्याम्पियन्स ट्रफीमा १३ खेलको ११ पालीमा उनले ७३.८८ को औसतले कुल ६ सय ६५ रन बनाएका छन् । उनको स्ट्राइकर रेट भने ८३.१२ रहेको छ ।
गांगुलीले च्याम्पियन्स ट्रफीमा तीन शतक र तीनवटा अर्धशतक पनि हिर्काएका छन् । च्याम्पियन्स ट्रफीको एउटै पालीमा उनको उच्च स्कोर भने अविजित एक सय ४१ रन हो । उनले १७ छक्का र ६६ वटा चौका पनि हिर्काएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत