शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : निराशाजनक सिकाइ उपलब्धि

‘सिकाइ गरिबी’को चपेटामा नेपाली बालबालिका र शिक्षा प्रणाली

आइतबार, १३ माघ २०८१, १० : ३५
आइतबार, १३ माघ २०८१

गरिबी भनेपछि हामी आर्थिक अवस्था कमजोर भएको भन्ने बुझ्छौँ । यस लेखमा हामी ‘सिकाइ गरिबी’ को बारेमा कुरा गर्दैछौँ । बालबालिकाले आफ्नो उमेर वा कक्षा अनुसार न्यूनतम स्तरको पढ्न, लेख्न र बुझ्न नसक्ने अवस्थालाई ‘सिकाइ गरिबी’ भनिन्छ । यो समस्या नेपालमा गम्भीर बन्दै गएको छ ।

बालबालिकाको सिकाइ कस्तो छ भन्ने विषयमा विगत लामो समयदेखि विभिन्न मापदण्ड बनाएर अध्यययन–अनुसन्धानका काम भइरहेको छ । नेपालमा यस विषयमा गरिने अनुसन्धानको नाम शिक्षाको वार्षिक अवस्थाको प्रतिवेदन (असर) भन्ने हो । २०७४ देखि २०८० सम्म गरिएका नेपालका विभिन्न स्थानको ‘असर’ प्रतिवेदन अनुसार १० वर्ष उमेर समूहका कक्षा ५ मा अध्ययन गर्ने बालबालिकामध्ये ७० प्रतिशतले तथा १३ वर्ष उमेर समूहका कक्षा ८ मा अध्ययन गर्ने करिब ४० प्रतिशत बालबालिका कक्षा २ तहका कथाहरू तथा साधारण पाठ्यपुस्तक समेत ठिकसँग पढ्न सक्दैनन् । सन् २०१९ मा दक्षिण एसिया, अफ्रिका र दक्षिण अमेरिकाका १३ देशमा ५ देखि १६ वर्ष उमेर समूहका बालबालिकाको आधारभूत गणितीय ज्ञानको मापन सम्बन्धी सर्भेक्षण भएकोमा कक्षा ८ मा रहेका बालबालिकाको सिकाइ स्तर हेर्दा नेपालको सर्भेक्षण गरिएको बालबालिकाहरूको सिकाइ स्तर अफ्रिकाका गरिब देशहरूको भन्दा र दक्षिण एसियाका अन्य देशभन्दा कमजोर देखिएको थियो । करिब ८ वर्ष विद्यालय गएर पनि कक्षा २ वा ३ मा सिक्नुपर्ने सामान्य वाक्य संरचना भएको कथा तथा गणितको गुणन तथा भागहरू गर्न नसक्नु भनेको २०९० वा २०९५ सालतिर नेपालको बजारमा काम गर्न तयार हुने जनशक्ति कति कमजोर हुँदैछ भन्ने हो ।

नेपालमा जहिल्यै निजी र सरकारी विद्यालयहरूको तुलना गरेर सरकारीभन्दा निजी राम्रो भन्ने भाष्य सिर्जना भएको छ । नेपालभित्रको सरकारी र निजी विद्यालयमध्ये तुलनात्मक रुपमा निजीको नतिजा राम्रो देखिएको मात्र हो । अन्य देशको तुलनामा समग्रमा हेर्ने हो भने निजी तथा सरकारी सबै विद्यालयमा रहेका बालबालिकाहरूमा सिकाइको अवस्था कमजोर देखिन्छ ।

सिकाइ गरिबी किन हुन्छ भनेर खोजी गर्दा शिक्षा प्रणालीको असमान पहुँच प्रमुख कारण हो । धेरै विद्यालयमा आधारभूत पूर्वाधार, योग्य शिक्षक तथा सिकाइका साधनहरूको अभाव छ । विगतको दशकमा निजी विद्यालय राम्रो र सरकारी विद्यालय नराम्रो भन्ने भाष्य सिर्जना भएकाले हजारौँ अभिभावक आफ्नो गाँस काटेर भए पनि आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने संस्कृति विकास भएको छ । त्यस्तो मनोविज्ञानको फाइदा उठाएर कयौँ निजी विद्यालय खुलेका छन् । केहीबाहेक अधिकांश निजी विद्यालयमा बालमैत्री आवश्यक पूर्वाधार पनि पाइँदैन । केही निजी विद्यालय सुविधा सम्पन्न र महँगा छन् । तर धेरै निजी विद्यालयहरू न्यूनतम पूर्वाधार पनि नभएका र आवश्यक शैक्षिक योग्यता पनि नभएका शिक्षकहरूबाट चलिरहेका छन् ।

शिक्षकहरूले कमजोर भएको सिकाइ सिपमा ध्यान दिनेभन्दा कक्षागत पाठ्यक्रम र किताब पढाएर सकाउनु पर्छ भन्ने दबाबमा रहँदा कमजोर बालबालिकाहरू झन्–झन् कमजोर हुँदै जाने र केही बालबालिकाले मात्र राम्रो नतिजा ल्याउने अवस्था आएको देखिन्छ ।

गुणस्तरीय शिक्षाका लागि अधिकांश विद्यालयमा पाठ्यक्रम नयाँ भए पनि पढाउने शैली पुरानो रहनु, सिकाइका नवीनतम प्रविधिको प्रयोग नहुनु तथा शिक्षकहरूको दक्षता अभावले सिकाइको प्रभावकारिता घटाइरहेको देखिन्छ ।

मैले विद्यालयमा शिक्षक भएर ६ वर्ष काम गर्दाको एउटा उदाहरण छ । सामान्यतया बालबालिकाहरू कक्षा १ मा भर्ना भएर पढ्न आएपछि शिक्षकहरूले कक्षा १ को पाठ्यक्रम अनुसार पढाउन सुरु गर्छन् । अधिकांश बालबालिका सिकाइ कमजोर हुँदा वा सबै सिकाइ सिप नहुँदा पनि कक्षा २ मा पुग्दछन् । अब कक्षा १ मा सिक्नुपर्ने सबै सिकाइ सिप प्राप्त नभएका ती बालबालिकालाई कक्षा २ मा पुगेपछि सोही कक्षाको पाठ्यक्रम अनुसार पढाइन्छ । झन् नेपाल सरकारले एक दशक अगाडि सुरु गरेको निरन्तर मूल्याङ्कन विधिको बुझाइ बालबालिकाहरूलाई फेल गराउन नपाइने भन्ने नै छ । त्यसले गर्दा सामान्य सिकाइ सिप नभएता पनि बालबालिकाहरू माथिल्लो कक्षा (६, ७ तथा ८)मा पुगेको देखिन्छ । कक्षा ५ तिर पुगेर पनि कक्षा १ वा कक्षा २ मा सिक्नुपर्ने न्यूनतम सिकाइ पनि हासिल नभएका बालबालिकाहरूको सङ्ख्या ठुलो छ ।

शिक्षकहरूले कमजोर भएको सिकाइ सिपमा ध्यान दिनेभन्दा कक्षागत पाठ्यक्रम र किताब पढाएर सकाउनु पर्छ भन्ने दबाबमा रहँदा कमजोर बालबालिकाहरू झन्–झन् कमजोर हुँदै जाने र केही बालबालिकाले मात्र राम्रो नतिजा ल्याउने अवस्था आएको देखिन्छ ।

आर्थिक अवस्था कमजोर भएर बिचमै पढाइ छाड्ने बालबालिकाको बारेमा बेला–बेला कुरा हुन्छ । तर सिकाइको स्तर कमजोर हुनाले कक्षामा पढाएको नबुझ्दा दिक्क लागेर पढाइ छाड्ने बालबालिका पनि धेरै छन् । हाल कक्षाकोठामा प्रयोग गरिने शिक्षण विधिहरूले बालबालिकाको मनोवैज्ञानिक अवस्था, विविध सिकाइ शैली र व्यक्तिगत आवश्यकतालाई सम्बोधन गर्दैनन् । बालबालिकाहरूको सिकाइ कमजोर रहनुको अर्को कारण स्थानीय भाषालाई शिक्षा प्रणालीमा प्राथमिकता नदिनु, भाषागत समस्याले बालबालिकालाई पाठ्यक्रम बुझ्न कठिन हुन्छ ।

मैले विद्यालयको शिक्षक भएर पढाउँदा अन्य सामान्य शिक्षकहरूले जस्तै बालबालिकालाई यो दिन यति पेज होमवर्क गर भनेर दिने गर्थे । उनीहरूले मैले भनेजस्तो सधैँ होमवर्क गरेर ल्याए पढाइ भएको मान्दथेँ । एकदिन एउटा विद्यार्थीले मलाई भन्यो– सर तपाईंले पढाएको मलाई एकदमै मनपर्छ । राम्रो पनि लाग्छ । पढ्न मन पनि छ । तर दुई हप्तादेखि मेरो घरमा आमा बिरामी हुनुहुन्छ । म २/३ हप्ता केही गर्न सक्दिनँ । बरु अर्काे महिनाबाट गर्छु, हुन्छ ?

मेरो शिक्षण विधिमा मैले आइतबार ११ बजे यति पेज यो लेखेर होमवर्क गरेर आऊ भन्नु सामान्य थियो । त्यो विद्यार्थीको प्रश्नले म झस्किएँ । मैले घरमा आएर सोचेँ– म को हो त ? कसले पढ्ने, कहिले पढ्ने, कसरी पढ्ने भन्नेमा मैले भनेकोजस्तो मात्रै हुनुपर्ने हो र ? पढ्ने, सिक्ने त ऊ हो नि !

हामी बच्चाहरूलाई मेसिनजस्तो सोच्छौँ । हरेक दिन सिक्न र होमवर्क गर्न तयार बस्नुपर्ने । उनीहरू मानसिक रूपमा सिकाइका लागि तयार नभएसम्म शिक्षकले जति कडा गरेर सयौँ पेज होमवर्क गराइरहे पनि केही सिकाइ हुँदैन ।

मैले शिक्षकहरूको विधिलाई सैद्धान्तिकरण गर्दाखेरी एउटा शिक्षक अनुशासन केन्द्रित हुन्छन् । मैले भनेजस्तै हुनुपर्छ, मैले भनेको दिनमै गर्नुपर्छ । सिकाइ भनेको मैले भनेकोजस्तो मात्र हो । मैले भनेको मान्नु र ठ्याक्कै मैले भनेको जस्तो गर्नु भनेको अनुशासन केन्द्रित शिक्षण हो । हामीले अहिलेसम्म गरेको यही विधि हो । यो झण्डै सामन्तवादको अवयव हो । सेना–प्रहरीमा अनुशासन तथा ‘चेन अफ कमाण्ड’ धेरै महत्त्वपूर्ण हुन्छ । बितेको २०० वर्ष नेपालले सेना तथा एकदमै अनुशासित सेक्युरिटी गार्डको रूपमा नाम कमाउन यो अनुशासनमा आधारित शिक्षा प्रणालीको महत्त्वपूर्ण भूमिका छ ।

यो शिक्षा प्रणालीले अनुशासन केन्द्रित मानिस निकाल्ने भयो । यदि मैले साँच्चै नै बालबालिकाहरूको सिकाइ चाहन्छु भने म सिकाइको माहोल बनाउँछु । त्यो बालबालिकाले दुई हप्तामा सक्दिनँ भन्यो भने दुई हप्ता कुर्न सक्छु नि । यदि बालबालिकाले सिकेको हेर्न चाहन्छु भने मैले भनेको दिन होमवर्क गरेरमात्र सिकेको हुने हो कि अर्को समयमा उसले साँच्चै नै मनदेखि नै सिकेको महत्त्वपूर्ण हो ? इनोभेसन र सिर्जनशीलता यस्तो शिक्षण विधिबाट आउँदैन ।


हामी आजकल कक्षा १० मा वा कक्षा १२ मा राम्रो नतिजा आएन भनेरु कुरा गर्छौं । नेपालको कक्षा ५ देखि ८ सम्मका केही अपवादबाहेक विद्यालयहरूमा करिब एक तिहाइ बालबालिका ८/१० वर्ष विद्यालयमा आइसकेर पनि कक्षा २ को किताबमा रहेका कथा तथा सामान्य गणितको जोड घटाउ गर्न नसक्ने अवस्थामा छन् ।


हाम्रो धेरै अभिभावक तथा शिक्षक तत्कालै विद्यार्थीलाई अनुशासनमा राखे खुसी मान्छन् । म कक्षा ६ मा पढ्नेबेला मेरो २ जना साथीले खाजा समयमा विद्यालयको छेउमै लुकेर चुरोट खाँदै थिए । शिक्षकले देख्नुभयो । दुवै जनाले खुब पिटाइ खाए । शिक्षकले दुवै जनाको अभिभावक बोलाएर जिम्मा लगाए । एक जना अभिभावकले उहाँको छोरालाई पिट्दै लैजानुभयो । तर, उसले भोलिबाट झन् लुकेर धेरै चुरोट खान थाल्यो । ऊ आजसम्म खाँदैछ । तर उसले त्यस घटनापछि कहिल्यै शिक्षक तथा अभिभावकले देख्ने गरी चुरोट खाएको छैन । ऊसँगै चुरोट खाने अर्को केटाको अभिभावक ज्यादै शान्त स्वभावको हुनुहुन्थ्यो । उहाँले उल्टो शिक्षकलाई आफ्नो छोरालाई पिटेकोमा गाली गर्नुभयो । अभिभावकको सहयोग पाएपछि त्यस केटाले भोलिपल्टदेखि झन् शिक्षक तथा सबैले देख्ने गरी चुरोट ताने । तर त्यस केटाले करिब २ महिनापछि चुरोट चटक्कै छोड्यो, आजसम्म खाँदैन । उनको अभिभावकले उनलाई विस्तारै समय लगाएर चुरोट किन खानु हुँदैन र यो कति खराब कुरा हो भन्ने बुझाए । तत्कालै पिट्नु र गल्ती सच्याउन खोज्नु भनेको क्षणिक अनुशासनमा मात्र राख्न खोज्नु रहेछ । सही र गलत सिकाएर चित्त बुझाउन सकेमा जीवनपर्यन्त सिकाइ हुन सक्ने रहेछ । अनुशासन महत्त्वपूर्ण हो, तर सिकाइसहितको अनुशासन जीवनभर रहन्छ । डर देखाएर, तर्साएर बनाएको अनुशासन आँखा अगाडिमात्र हुने रहेछ । सिकाउने प्रक्रिया सम्मानजनक र बुझाइमा आधारित भएमा दिगो रहन्छ भनेर मैले सयौँ उदाहरण देखेको छु ।

एक पटक मैले डेनमार्कको एउटा विद्यालयमा केही समय बस्ने मौका पाएँ । त्यस विद्यालयमा बालबालिकाहरूलाई सुरुमा अक्षर वा शब्दहरू पढ्न लगाउने, पढ भन्ने वा लेख्न सिकाउने गरिँदैन थियो । शिक्षकहरूले ती साना बालबालिकाहरूलाई सोधेर उनीहरूलाई एकदमै खुसी हुने कुरा तथा कथा पढेर सुनाउने तथा खेलहरू खेलाउने गर्दथे । कक्षा ४ मा पढ्दासम्म बालबालिकाहरूले ए, बी, सी, डी अक्षर जानेकै थिएनन् । त्यो बेलासम्म रमाइला कथामात्रै सुनाउने गरिन्थ्यो । उनीहरूलाई रमाइलो बनाउने, जे मनपर्छ, त्यो सुनाएर खुसी पार्ने विधि प्रयोग गरेको देखेको थिएँ । हाम्रो देशका बालबालिका ४ कक्षामा पढ्दा किताबको कथाहरू घोकेर भन्न सक्ने, अलिअलि लेख्न सक्ने भइसकेका हुन्छन् । तुलना गर्दा त वाह, नेपालको बालबालिका डेनमार्कको भन्दा जान्ने भन्ने लाग्दछ । तर, डेनमार्कको त्यस विद्यालयमा कक्षा ४ मा पुगेपछि अब शिक्षकले म कथाहरू पढेर सुनाउन सक्दिनँ, तिमीहरू आफैँले पढ्न सक्ने हुनुपर्छ भनिदिने रहेछ । रचनात्मक सिकाइ विधिमा त्यो बालबालिकालाई यो शिक्षक गएपछि मैले त्यति रमाइलो कथा कसरी भन्ने भनेर उत्सुकता हुन्छ । हिजो यति रमाइलो भइरहेको थियो, अबदेखि मैले विगतकै जसरी रमाइलो गर्नुपर्छ भनेर आफैँ गर्न खोज्छन् । उसले छिटो पढ्न सिकेर आफैँ कथा पढ्न थाल्दछ । कक्षा ८ तिर पढ्ने डेनमार्कका बालबालिकाहरू तुलनात्मक रूपमा नेपालमा सोही कक्षा पढ्ने बालबालिकाको भन्दा धेरै सिकाइ सिपयुक्त भइसकेको हुन्छ । किनकि त्यहाँको बालबालिकालाई आफूले किन पढ्न र सिक्न आवश्यक छ भन्ने बुझाएर पढ्न उत्प्रेरित गरिन्छ । हाम्रोमा ‘पढ–पढ’मात्रै भन्छौँ । किन पढ्ने भन्ने थाहा छैन । कहाँ प्रयोग गर्ने भन्ने थाहा छैन ।

हामी आजकल कक्षा १० मा वा कक्षा १२ मा राम्रो नतिजा आएन भनेरु कुरा गर्छौं । नेपालको कक्षा ५ देखि ८ सम्मका केही अपवादबाहेक विद्यालयहरूमा करिब एक तिहाइ बालबालिका ८/१० वर्ष विद्यालयमा आइसकेर पनि कक्षा २ को किताबमा रहेका कथा तथा सामान्य गणितको जोड घटाउ गर्न नसक्ने अवस्थामा छन् । यो अवस्था सरकारी विद्यालयहरूको मात्र होइन, निजी विद्यालयहरूको पनि त्यस्तै छ । जब जग नै कमजोर छ भने बलियो घरको आशा कसरी गर्ने ?

(त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तिमल्सिनासँग गरिएको कुराकानीमा आधारित । उनी लामो समयदेखि बालबालिकाहरूको सिकाइ उपलब्धिका विषयमा अनुसन्धान गर्दै आएका छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजीव तिमल्सिना
राजीव तिमल्सिना
लेखकबाट थप

छुटाउनुभयो कि ?