‘हाम्रो सिकाउने र विद्यार्थीले सिक्ने प्रणालीमै समस्या भयो’
विश्वविद्यालयमा विद्यार्थी उत्तीर्णदर ३० प्रतिशत हाराहारी मात्र छ । विद्यालय तहमा यो दर अलिक बेसी अर्थात् ५० प्रतिशत आसपास छ । यस हिसाबले विश्वविद्यालयमा ७० प्रतिशत अनुत्तीर्ण हुन्छन् भने विद्यालयमा ५० प्रतिशत ।
शिक्षक सेवा आयोगले लिने लाइसेन्स परीक्षाको नतिजा त झन् उदेकलाग्दो छ । निमावि तहमा एक लाख १९ हजारभन्दा बढीले परीक्षा दिँदा १० हजार ९७४ जना मात्र सफल भए । ९० प्रतिशत उत्तीर्ण हुन सकेनन् ।
नेपाल मेडिकल काउन्सिलले लिएको ७१औँ लाइसेन्स परीक्षामा ६८ प्रतिशत डाक्टर अनुत्तीर्ण भए । ३१.०४ प्रतिशत मात्रै उत्तीर्ण भए । एमबीबीएस र बीडीएसतर्फ ८४४ जना परीक्षामा सहभागी थिए । तीमध्ये २६२ जना मात्र सफल भएका हुन् । ५६२ जना अनुत्तीर्ण भए ।
यसरी हेर्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्म नै विद्यार्थी सिकाइमा कमजोर देखिने गरेका छन् । यसको कारण के हो ? हरेक क्षेत्रमा विद्यार्थी असफल हुनुमा दोषी को हो ? रातोपाटीकर्मी कृष्णसिंह धामीले यी विषयमा शिक्षाविद् विद्यानाथ कोइरालासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंशः–
- विद्यार्थीहरूको पढाइ कमजोर हुँदै गएको देखिन्छ । हरेक क्षेत्रमा हुने परीक्षाको नतिजाले यही यथार्थ बताउँछ । यसको कारण के हो ?
सिक्ने कुरामा नै ढिला भयो । जस्तोः मानौँ विद्यार्थीले ग्लास भेटायो भने उसलाई धेरै कुरामा जिज्ञासा हुन्छ । कसले यो ग्लास पहिला बनाएको होला ? कसले पहिला प्रयोग गर्यो होला ? यो किसिमको सम्भाव्यता गहिरिएर सिक्ने वातावरण बनाइदिएको भए केटाकेटीहरू सिक्थे ।
सिकाउने जुन खालको ढंग छ त्यसमै समस्या भएकाले विद्यार्थीलाई सिकाइ उपलब्धि कम भयो भन्ने मेरो पहिलो ठम्याइ हो । दोस्रो के हो भने हामीले बालबालिकालाई जे पढायौँ त्यो जान्यो कि जानेन भनेर सिकाइ बुझाउँदा रहेछौँ । सिकाइ फेरि यस्तो हुँदो रहेछ कि बालबालिकाले के बुझे भन्ने महत्त्वपूर्ण हुन्छ । तर, हामीले के पढायौँ भनेर सोध्ने रहेछौँ । हाम्रो सिकाउने र विद्यार्थीले सिक्ने प्रणालीमै समस्या भयो ।
तेस्रो समस्या कहाँनेर छ भने कोरोना महामारीपछि जुन अवस्था आयो त्यसले सिकाइ एकदमै कमजोर भयो भनिएको छ भन्ने अन्तर्राष्ट्रिय जगत्को चिन्तन रहेछ । विद्यार्थीले इन्टरनेटमा पढेर नतिजा राम्रो आउन नसकेको भन्ने रहेछ । भौतिक पढाइ राम्रो हो, इन्टरनेटको होइन भनेर चिन्तन बलियो बनेको छ । नेट र भेटको लडाइँ सकियो । अब के गर्नुपर्ने देखिन्छ भन्दा नेटमा कति सिके ? भेटमा कति सिके ? यी दुवै माध्यमबाट के सिके ? कस्ता ज्ञान प्राप्त गरे ? यस्ता किसिमको सोच बनाउनुपर्छ ।
विद्यार्थीले नेटमा पढ्दा विषयवस्तु मात्रै सिक्दैन । यसले कसरी काम गरेको होला, कसले बनायो होलाजस्ता हजारौँ प्रश्न हुन्छ उसको मनमा । कसैले त्यस्ता प्रश्नको उत्तर दिँदैनन् । ती विद्यार्थीको जिज्ञासा एकातिर छ, हाम्रो प्रश्न गराइ अर्कोतिर भएछ ।
मैले यी तीन मुख्य कारणले हाम्रो पढाइ र सिकाइ कमजोर भएको देख्छु । अर्को पाटो म के देख्छु भने सिकाइमा तीन कुरा सँगै जोडिएको हुन्छ । एउटा अवधारणा जोडिएको हुन्छ । दोस्रो विषयवस्तु कसरी सिक्ने भन्ने हुन्छ । तेस्रो परीक्षामा कसरी उत्तर लेख्ने भन्ने हुन्छ ।
विद्यार्थी र शिक्षकबिच पढाउने–पढ्ने कला फरक भयो । त्यो कलामा शिक्षकलाई अपडेट गराउन सकेनौँ ।
हामीले अवधारणा नजानीकन विषयवस्तु सिकाउँदा रहेछौँ । जुन विषयवस्तु पढायो त्यही विषयवस्तुको परीक्षा लिन्छौँ । सिक्नुपर्ने विषय सिकाउन सकेनौँ । त्यो सिक्नुपर्छ भन्ने जरुरी नै ठानेनौँ । जे पढ्यो त्यही कुरा सिक्छ । सिक्नुपर्ने जरुरी नै भएन । कण्ठ पारेपछि भयो भन्ने भयो । जसले गर्दा पास हुन कण्ठ पार्ने गरियो । सिकाइका लागि केही भएन ।
- हरेक ठाउँमा शिक्षकका कारण विद्यार्थीको सिकाइ कमजोर भयो भन्ने गरिन्छ । के शिक्षकले नसिकाएकै हुन् त ?
शिक्षकमा के समस्या भएछ भने विद्यार्थीको पढ्ने र शिक्षकले पढाउने गतिमा मेल नै भएन । त्यसैले मैले शिक्षकहरूलाई ठाडै भन्ने गरेको छु, लन्ठ हामी भयौँ, चंख विद्यार्थी भए । अब लन्ठ मान्छेले चंख केटाकेटीलाई सिकाउने कसरी भन्ने हाम्रा निम्ति चुनौती भयो । चुनौती कसरी समाधान गर्न सकिन्थ्यो भन्दा विद्यार्थीलाई तिमीहरूमध्ये कसले के जानेका छौ त्यहीअनुसार गर भनेको भए केटाकेटीले मजाले जान्थे ।
शिक्षकको पढाउने कला जस्ताको त्यस्तै भएछ । विद्यार्थीको पढ्ने कला फरक भइसकेको छ । विद्यार्थीको पढ्ने कला कस्तो भयो भने उसले सूचना जहाँबाट पनि पाउँछ । कक्षा ४–५ का केटाकेटीलाई हेर्छु । तिनीहरूले होमवर्क गर्ने ग्रुप नै बनाएका हुँदा रहेछन् । आफूले जानेको विषयवस्तु सेयर गर्ने र अरूले गरेको विषयवस्तु हेर्ने गरेका हुन्छन् । उनीहरू यसरी अध्ययन गर्छन् ।
शिक्षकले के गर्दा रहेछन् भने आफूले दिएको विषयवस्तु सही भयो कि भएन भनेर चेक गरेर हिँड्दो रहेछ । विद्यार्थी र शिक्षकबिच पढाउने र पढ्ने कला फरक भयो । त्यो कलामा शिक्षकलाई अपडेट गराउन सकेनौँ ।
शिक्षकलाई मात्रै दोष दिएर त हुँदैन । शिक्षकलाई अपग्रेड गर्नु सम्बन्धित निकायकै जिम्मेवारी हो । चाहे पालिकाको होस्, चाहे त्यो केन्द्र, संघ, कर्मचारी, प्रशासन सबैको जिम्मेवारी हो । हामीले शिक्षकलाई अपग्रेड गराउने कुरा गर्न सकेनौँ । किनभने, विद्यार्थी नयाँ भएपछि पढाउने शैली पनि नयाँ हुनुपर्छ । पढाउन थालेको कति वर्ष भयो भनेर सोध्दा शिक्षकहरू १० वर्ष, १५ वर्ष भयो भन्छन् । विद्यार्थी त फेरिए तर शिक्षकको पढाउने तरिका उस्तै भयो ।
विद्यार्थी फेरिए भन्ने थाहा छ । आफ्नो शैली फेरिएन भन्ने पनि थाहा छ । त्यसैले के गर्नुपर्छ भने शिक्षक कमजोर छ भने उसलाई पनि सिकाऊ । विद्यार्थीबाट पनि सिक्ने कुरा धेरै हुन्छन् । शिक्षक–विद्यार्थी एकार्काका परिपूरक हुनुपर्छ ।
- उच्च शिक्षातर्फ पनि विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिन्छ । यसमा कारण के हो ?
उच्च शिक्षामा पनि रमाइलो पक्ष छ । विद्यार्थीले कसरी सोच्दो रहेछ भने यो कोर्स पढेर के काम पाइन्छ ? हामी के भन्न नसक्दा रहेछौँ भने तिमी आफ्नै कोर्स बनाउन त । आफ्नै कोर्स बनाउनु भनेको सेल्फ स्टडी हो । यसलाई इन्डिभिजुअल कोर्स भन्छन् । यस्ता कोर्सलाई क्रेडिट दिन पनि सकिन्छ । एडिट पनि गराउन सकिन्छ । क्रेडिट र एडिट दुवै पनि हुन सक्छ । विद्यार्थीलाई आफ्नै कोर्स बनाउन भन्न सकेका छैनौँ । अभिभावकसँग मिलेर कोर्स बनाउन त भनेर पनि भन्दा रहेनछौँ । साथीसँग मिलेर कार्स बनाउन त भनेर पनि भन्दा रहेनछौँ ।
हामीले बनाइदिएको कोर्स उसलाई पढ्दा खेरि त्यसै रिएक्टिभ भइहाल्छ नि ! हाम्रो निम्ति समस्या के भने त्यो कोर्सबारे मलाई पनि जानकारी छैन । म कसरी पढाउँछु भन्नेचाहिँ हामी रहेछौँ । विद्यार्थी के भन्दा रहेछन् भने शिक्षक चाहिँदैन । म नेटमा खोज्छु । एक्सपर्ट को–को हो भनिदिनू । रिसर्च पर्सन को हो भनिदेऊ । म त्योसँग सम्पर्क गर्छु भनेर भन्दा रहेछन् ।
मैले शिक्षकहरूलाई ठाडै भन्ने गरेको छु, लन्ठ हामी भयौँ, चंख विद्यार्थी भए । अब लन्ठ मान्छेले चंख केटाकेटीलाई सिकाउने कसरी भन्ने हाम्रा निम्ति चुनौती भयो ।
तर, शिक्षकहरू के भन्दा रहेछन् भने होइन मैले नै पढाउनुपर्छ । मैले नै परीक्षा लिनुपर्छ । होइन भने म पढाउँदिनँ भन्दा रहेछौँ । त्यसैले विश्वविद्यालयको पनि दशा त्यही हो ।
अहिले आएको जेनेरेसन त जी–जेनेरेसनवाला हो । जी–जेनेरेसनको केटाकेटी भए । हामीचाहिँ पुरानो जेनेरेसनको भयौँ । अनि हामीले आफूलाई अपडेट नगर्ने, विद्यार्थीको कुरा मिलाउन नसक्ने । जसले गर्दा उच्च शिक्षाको दशा पनि त्यही भएको हो ।
- नेपालमा पढ्दा कमजोर हुने विद्यार्थी विदेशमा पढ्दा उत्कृष्ट हुन्छन् भन्ने पनि छ । त्यो कसरी सम्भव छ ?
हामीकहाँ र विदेशमा पढाउने कला एकदमै फरक छ । विषयवस्तु यहीको हो । र पनि पढाउने शैली वा कला फरक छ । फरक के छ भने विदेश गएका विद्यार्थीलाई के भन्दा रहेछन् भने तिमीले के जान्यो ? आफैँले खोजेर अध्ययन गर । आफ्नो विचार प्रस्तुत गर भन्दा रहेछन् ।
हामीचाहिँ सकी–नसकी पढाउनतिर लाग्दा रहेछौँ । बाहिर आफैँ अध्ययन गर्छन् । यहाँ बाध्यात्मक रूपले गराइन्छ । विदेशमा नेपाली विद्यार्थीलाई विषयवस्तु कसरी सिक्ने भनेर चुनौती नै हुन्छ । विकल्प पनि धेरै हुन्छ । लाइबेरीमा अडियो, भिडियो, पुस्तकलगायत विभिन्न विकल्प हुन्छन् । विद्यार्थीले लाइबेरीमार्फत आफूलाई मन पर्ने माध्यमबाट पढ्ने गर्छन् । तर, नेपालमा किताबी ज्ञान मात्र पढ्न दिइन्छ ।
हाम्रो आफ्नो पना र उताको तरिका दुवै मिलाउँदा त विद्यार्थी ह्वात्तै अगाडि जाँदो रहेछ । दोस्रो कुरा के हो भने पहिला चुनौती नै हुन्छ । यो नयाँ कुरा कसरी पढ्ने भनेर चुनौती हुँदो रहेछ । तर, पछि गएर विद्यार्थीलाई नै सबै कुरा गर्न लगाउने, विद्यार्थीलाई आवश्यक कुरा खोज्न लगाउने रहेछन् । जसले गर्दा विदेश पुगेपछि नेपाली विद्यार्थीले राम्रो गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल
-
ह्वाइट हाउसद्वारा अमेरिकी अनुदान र ऋणमाथि रोक लगाउने ट्रम्प प्रशासनको आदेश रद्द
-
१२ बजे, १२ समाचार : अछाममा दुई किशोरीको हत्या भएको प्रहरी निष्कर्षदेखि भ्रष्टाचारमा दोषी ठहर प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्चमा मुद्दा लड्न पाउने फैसलासम्म
-
दुई किशोरी मृत्यु प्रकरण : हत्या भएको निष्कर्ष
-
समाजवादी युवा मोर्चाले माघ १८ गते गर्ने
-
१० बजे १० समाचार : केपी पथमा माधव, आवासीय चिकित्सकमाथि श्रम शोषण