न्यु वृन्दावनको यात्रा
![न्यु वृन्दावनको यात्रा](https://npcdn.ratopati.com/media/news/new-brinda-ban_TfT3wsEYuk.jpg)
छुट्टीको समय मिलाएर हामी दुई छोराहरूलाई साथमा लिएर पारिवारिक यात्राका लागि क्यानडाको प्रसिद्ध सहर तथा अमेरिकाको नायग्रा फल्ससँग जोडिएको टोरन्टोको यात्रामा थियौँ । ग्रामीण इलाका हेर्दै हामीले टोरन्टोसम्मको यात्रा गर्ने निधो गरेर सोही अनुरूप भित्री सडक सञ्जाल हुँदै हामी टोरन्टो पुगेका थियौँ । भित्री सडक सञ्जालबाट यात्रा गर्दा ती क्षेत्रको बसोबास, त्यहाँको जनजीवन र रहनसहनका बारेमा धेरथोर ज्ञान हुँदोरहेछ । त्यो ज्ञान लिनु पनि हाम्रो अभीष्ट थियो ।
टोरन्टो पुग्नुअघि हामी चारैजनाले भर्जिनियास्थित लुरे गुफाभित्र पसेर प्रकृतिले कुँदेको अनुपम कला र शिल्पी हेर्ने अवसर पनि प्राप्त गरेका थियौँ । यो यात्राको यो पनि एउटा अविस्मरणीय क्षण थियो । कुनै दा भिन्सी, पिकासो वा भ्यानगगले कोरेका चित्रकलाभन्दा कैयौँ गुना बढी रोमाञ्चक र अनुपम थिए यी कलाकृति ।
त्यहाँबाट निस्केपछि हामी नायग्रा फल्सको छेउछेउ हुँदै नवविवाहित भतिज नीतिश र बुहारी श्रेयालाई आशीर्वाद दिन टोरन्टो पुगेका थियौँ । टोरन्टोमा रहँदा हामीलाई सोचेभन्दा बढी नै सत्कार प्राप्त भएको थियो । नीतिश र श्रेया तथा आदित्य र स्यारोनले दिएको आतिथ्यता हामीले सोचेको भन्दा कैयौँ गुना बढी थियो ।
टोरन्टोको तीन दिवसीय यात्रा सकेर हामी कार्यक्रम अनुसार, वेस्ट भर्जिनियास्थित न्यु वृन्दावनमा हामीले अर्को रात बिताउने निर्णय गरेका थियौँ । यो वृन्दावन साँच्चैको वृन्दावन होइन, जहाँ कृष्णका बाललीलाहरू, कृष्णका मुरलीका सुमधुर स्वरहरू, गोपिनीका चालढालहरू छरिएका होउन् । ती कुराहरू त हामीले आशा पनि गरेका थिएनौँ । आशा गर्नु पनि त मूर्खता मात्रै हुन्थ्यो । तैपनि आफन्त तथा छरछिमेकीले भनेकोले मनमा एकोहोरो वृन्दावनको महिमा र गुणवत्ता एवं यो कस्तो ठाउँ होला भन्ने जिज्ञासा र उत्सुकता भने हामीभित्र गुम्सिरहेको र त्यहाँ एकपटक पुग्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । तँ आँट म पुर्याउँछु भनेझैँ हाम्रो आँटले अन्ततः विश्राम पायो ।
टोरन्टोेदेखिको लामो यात्रा पार गरेर घुमाउरो र साँघुरो बाटो छिचोल्दै हामी सात–आठ घण्टा लगाएर नयाँ वृन्दावन पुग्यौंँ । साँझ साँझ परिसकेको थियो । डाँडाका एकाध घरबाट मधुरो बत्तीको उज्यालो निस्केको थियो । हामी त्यहाँ पुग्दा त्यो डाँडोमा शान्ति छाएको थियो । मनमा पनि एक प्रकारको शान्तिभाव छाइरहेको थियो ।
एउटा डाँडोको टुप्पामा अवस्थित न्यु वृन्दावनमा हामीले पाइला टेक्यौँ । हामी चारैजनाले भारत बाहिर बनेको पहिलो वृन्दावनमा पाइला टेकेका थियौँ (हुन त भारतको वृन्दावनमा पनि गएका त छैनौँ ) । साँझका बत्ती आफ्नै लयमा जलिरहेका थिए भने मानिसहरू चुपचाप आफ्नै तालमा हिँडिरहेका थिए । वातावरण शान्त थियो, शान्ति छाएको थियो । एकाध मयुरले शान्ति खलबल्याउने चेष्टा गरे पनि त्यसको आवाजले झन् मनमा अथाह शान्ति छाएको थियो । यो वृन्दावनले दिनहुँ सयौँ मानिसहरूलाई आतिथ्यता दिँदै आएको छ र सात समुद्र पारी क्रिस्चियन धर्मावलम्बीको बाहुल्य भएको यो भूमिमा पनि सनातनीहरूमा हिन्दु वा सनातन धर्म एवं अध्यात्मप्रतिको आस्था एवं विश्वासको दियो जलाइरहेको छ । त्यो कुराको अनुभूत पनि गरिरहेका थियौँ । यो पराई भूमिमा हामी सनातनीहरूका लागि यो भन्दा खुसीको कुरा त के पो हुन्छ र ?
टोरन्टोेदेखिको लामो यात्रा पार गरेर घुमाउरो र साँघुरो बाटो छिचोल्दै हामी सात–आठ घण्टा लगाएर नयाँ वृन्दावन पुग्यौंँ । साँझ साँझ परिसकेको थियो । डाँडाका एकाध घरबाट मधुरो बत्तीको उज्यालो निस्केको थियो । हामी त्यहाँ पुग्दा त्यो डाँडोमा शान्ति छाएको थियो । मनमा पनि एक प्रकारको शान्तिभाव छाइरहेको थियो । हामी एउटा धाममा गइरहेका थियौँ, जहाँ शान्ति नै शान्ति छ भन्ने कुराले मन र मष्तिष्कमा डेरा जमाएको थियो । न्यु वृन्दावनको वर्णन सुनेका कारण त्यहाँ पुग्ने दिन अघिदेखि नै कानले कृष्ण भजन सुन्न इच्छा जाहेर गरिरहेको थियो ।
गाडी विश्रामस्थलमा रोकिएपछि हामी चारैजना उत्रियौँ । सीधै सूचना अधिकारी भए ठाउँमा गयौँ । उनले हामीलाई कोठाको साँचो हस्तान्तरण गरे र वृन्दावनका बारेमा संक्षिप्त जानकारी दिँदै चाँडो–चाँडो गरेर खाना खान सुझाव दिए । अबेला भएकाले हामीले पनि हतार–हतार त्यसै गर्यौँ । अनि झोला थन्क्याएर हामी चारैजना विशाल हलमा छिर्यौँ जहाँ ढोलक, मादल र मुर्चुङ्गाको तालमा ‘हरे कृष्ण हरे कृष्ण’ भजनको सुमधुर आवाजले हल गुञ्जायमान भइरहेको थियो । त्यो रात संयोगले नेपालीहरूमा हामी मात्रै थियौँ । भारतीयहरूको केही परिवार भने त्यहाँ देखिएको थियो । स–साना केटाकेटीहरू पनि थिए । तर अचम्म ! भजनमा देखिएका अधिकांश अनुहारहरू गोरा थिए । महिला र पुरुषले आ–आफ्नै किसिमको धोती लगाएका थिए भने दुवैको निधारमा चन्दनको सेतो टीका चम्केको थियो । यदाकदा अमेरिकाको बाटोघाटोमा कृष्णको भजन गाउँदै र श्रीमद्भगवत् गीता बेच्दै गरेका श्वेत तथा अश्वेतहरू त देखेको थिएँ तर यसरी कृष्णामृत पिएर मग्न भएको भने देखेको थिइनँ । गोराहरूको मनग्य उपस्थिति र उनीहरूको भक्ति देख्ने जोसुकैले पनि हाम्रो सनातनप्रति पश्चिमाहरूको दृष्टिकोण बुझ्न गाह्रो थिएन । सबैले ध्यानपूर्वक कृष्ण भजन र मंगल आरति गाइरहेका थिए । हलको कुनामा अर्र्काेतिर माला जप्नेको ताँती थियो । सबैले कृष्ण–कृष्ण भनेको कारण त्यो हल कृष्णमय थियो ।
यो वृन्दावनको संस्थापक हुन् श्रीला एसी भक्ति वेदान्त स्वामी प्रभुपाद । उहाँले नै ठूलो संघर्ष गरेर सन् १९६५ मा यो भूमिमा कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कोन) को स्थापना गरी भगवान कृष्णको महिमा र गरिमालाई विदेशी भूमिमा पुर्याएर मानिसको चेतना भर्ने काम गर्नुभएको थियो । प्रकृतिसँग सहअस्तित्व, गौसेवा र अध्यात्मप्रतिको रुझानलाई विश्वभर फैलाउने उद्देश्य पनि हो । यो धार्मिक तीर्थस्थलको निर्माण मात्र होइन, उहाँले १२ वर्षमा १४ पटकसम्म विश्व परिक्रमा गरी विश्वभर विभिन्न क्षेत्रका मानिसमा हरेकृष्ण जीवनशैली (भगवान्प्रति अर्पित भक्ति) अर्थात् भक्तियोगको ज्ञान र महत्तालाई उजागर गर्नुभएको थियो । भगवत गीतामा मूलतः ६ वटा मार्गदर्शक सिद्धान्त दिइएको छ : समदर्शन, अहिंसा, धर्म, इच्छा, मानवीयता र प्रेम ।
त्यो रात संयोगले नेपालीहरूमा हामी मात्रै थियौँ । भारतीयहरूको केही परिवार भने त्यहाँ देखिएको थियो । स–साना केटाकेटीहरू पनि थिए । तर अचम्म ! भजनमा देखिएका अधिकांश अनुहारहरू गोरा थिए । महिला र पुरुषले आ–आफ्नै किसिमको धोती लगाएका थिए भने दुवैको निधारमा चन्दनको सेतो टीका चम्केको थियो ।
लामो यात्राले जीउ क्लान्त र थकित थियो तथापि राति अबेरसम्म हामी भजनकीर्तन र मंगल आरतिमा रम्यौँ । छोराहरूले पनि साथ दिए । राति ११ बजे भजनकीर्तन बन्द भयो । हामी सुत्न गयौँ । निद्रामा पनि त्यही तन्द्रा थियो हरेकृष्ण । बिहान ५ बजेदेखि नित्य र निरन्तर हुने मंगल आरति, नृसिंहदेव प्रणाम, तुलसी पूजा, माला जप, भगवानप्रति अभिवादन, गुरूपूजा र भागवत कथा वाचन यहाँको दैनन्दिनी हो ।
बिहान बिस्तारा छोड्न मन लागेको थिएन तर घण्टीको सुमधुर आवाज कानमा पर्यो । बिहान ५ बज्नुअघि नै भक्तहरूलाई उठाउनका लागि घण्टी गुन्जिसकेको थियो । हामी हतार–हतार गरेर नुहाएपछि ठुलो हलमा पुग्यौँ । जुत्ताहरू बाहिरै फुकालेर हात जोड्दै हामी भित्र पस्यौँ । हामी पुग्नुभन्दा अघि नै केही भक्तहरू पुगिसकेका थिए । कसैको हातमा मुर्चुङ्गा थियो, कसैकोमा मादल, कसैकोमा ढोलक । कोही कुनामा बसेर ध्यानमग्न स्थितिमा थिए । सबैजना आ–आफ्नै धुनमा मस्त थिए, व्यस्त थिए । हामी पनि त्यही हुलमा मिसिएर केहीबेर कृष्णभक्तिमा लीन भयौँ । एकाध घण्टापछि गौशालामा गयौँ आठ–दशवटा गाईहरू थिए । विदेशी गोराहरूले ती गाईको स्याहारसुसार र दुध दुहुने काम गरिरहेका थिए । दूध दुहुन चाहने भक्तजनहरूलाई पनि पालैपालो गरी दिइने रहेछ । हामीले पनि दूध दुहुने काम गर्यौँ । दशकौँपछि दूध दुहुँदा बाल्यकालको सम्झना त ताजा भएको थियो, भैँसीको लात्ती र बाको गाली पनि एकसाथ आइरहेको थियो ।
न्यु वृन्दावनको सर्वाधिक आकर्षण चीज हो, श्रीला प्रभुपादको स्मरणमा बनाइएको स्वर्ण दरबार । यसमा ८००० वर्ग फिट त सुनैले बनेको छ । त्यस्तै यहाँको गुलाब वाग, मयुर, गौशाला, हाँस एवं नन्दी र हात्तीको विशाल मूर्तिले यो स्थानको गरिमा बढाएको छ । बिहानको नित्य भजन र आरति सकेपछि उपस्थित सबै श्रद्धालु भक्तजनलाई बिहानका लागि प्रसादका रूपमा सात्त्विक भोजन तयार गरिएको थियो । प्रसाद लिएपछि बिस्तारै मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका थिए । हामी पनि एउटा धार्मिक स्थलको अमिट छाप बोकेर आफ्नो गन्तव्यतर्फ फर्कियौँ ।