पुरातत्व विभागद्वारा महोत्तरीको पाटु रातमाटा क्षेत्रमा थप अन्वेषण सुरु
महोत्तरी । पुरातत्व विभागले बर्दिबास–३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे /नरहेको अन्वेषण सुरुआत गरेको छ । यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञटोली शनिबार बर्दिबास आइपुगेको छ ।
“हामीले हतियार कारखानास्थलको अध्ययन र प्रारम्भिक खोज अन्वेषण थालेका छौँ”, पुरातत्वविद ज्ञवालीले भने, “यसअघिका हालसम्म प्राप्त अध्ययनको निष्कर्षबाट यो ठाउँ पुरातात्विक महत्वको स्थल हो ।”
अहिलेको बिपी राजमार्ग (बर्दिबास–बनेपा राजमार्ग)को बर्दिबास–३ पाटुमा यो ठाउँ दुई दशकअघि जर्मन अन्वेषक गुडन कार्विन्सले पत्ता लगाए । उनकै अध्ययन तथा खोज अन्वेषणको प्रतिवेदनका आधारमा अबका खोजीकार्य अघि बढ्ने विज्ञटोलीले जनाएको छ । अहिलेको बर्दिबासचोकबाट चार किलोमिटर उत्तर राजमार्गबाट पश्चिमपट्टि यो कारखानाले निकै ठाउँ ओगटेको प्रारम्भिक अध्ययनले देखाएको छ । कारखानास्थलमा निकै पुराना गारोका अवशेषजस्ता ठाउँ भेटिएको जनाइएको छ ।
पछिल्लो समयमा करिब सात दशकअघि यो ठाउँ नजिक वन फडानी गरी बसोबास थालिएको हो । विज्ञटोलीले यसअघि सात हजार वर्ष पहिलेसम्म यहाँ आसपास मानव बस्ती रहेका अवशेष पाइएको जनाएको छ । पाषाण युगकालीन हतियार कारखानास्थल आसपासमा अहिले पाटु, भब्सी, रातमाटा र राइमण्डलसहितका बस्ती छन् । कतिपय घरबस्ती र संरचनाले यो पुरातात्विक महत्वको ठाउँ चर्चेको प्रारम्भिक अध्ययनले देखाएको विज्ञ ज्ञवाली बताए ।
“अब यसबारे गहन अध्ययन गरिन्छ”, उनी भने, “यो ठाउँको संरक्षण, संवर्द्धन, अध्ययन तथा अनुसन्धानबारे सरकारले औपचारिक रूपमै बजेटमा यसपालि पहिलोपटक सम्बोधन गरेको छ ।”
यहाँ सात हजार वर्ष पहिलेसम्म मानव बस्ती रहेको भए पनि हतियार कारखाना भने त्योभन्दा निकैअघिको रहेको हुनसक्ने विज्ञटोलीको कथन छ । कारखाना सञ्चालन त करिब ३० हजार वर्ष पहिलेको हुनसक्ने ज्ञवाली बताउछन् । “धेरै कुरा अबका थप अध्ययनले देखाउने छन्, प्रारम्भिक काम थालिएको छ”, ज्ञवाली भने, “यो अध्ययनले यहाँको निकै पुरानो मानव सभ्यताबारे अध्ययनको ढोका पनि खोल्नेछ ।” रातु नदीको पश्चिमतिरको यो ठाउँको निकै पुरानो मानव सभ्यताको अध्ययन हुने ज्ञवालीको भनाइ छ ।
“सरकारले यस ठाउँबारे चासो बढाएछ, अब हाम्रो ठाउँको विकास सम्भावनाबारे आस बढेको छ”, पाटुका बासिन्दा तथा माध्यमिक तहका शिक्षक दीपकराज बराल भने, “यसले हामीलाई उत्साही बनाएको छ ।”
हतियार कारखानास्थलबारे पुरातत्व विभागले औपचारिक रूपमै काम थालेपछि अब यहाँका प्राचीन महत्वका ठाउँबारे क्रमशः अध्ययन हुँदै जाने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षेत्री बताए । “हामी विभागको यो काममा साथ छौँ, आवश्यक सबै सहयोग पुर्याउँछौँ”, क्षेत्रीले भने । सबै पक्षको अध्ययन तथा अन्वेषण हुनसके रातु नदी किनारको प्राचीन सभ्यताबारे थप जानकारी बढ्दै जाने बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
-
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्
-
जथाभावी सामाजिक सञ्जालमा टिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन