बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

महिला एसेज : अस्ट्रेलियाद्वारा टी–२० सिरिज पनि ह्वाइट वास

शनिबार, १२ माघ २०८१, २१ : २२
शनिबार, १२ माघ २०८१

काठमाडौँ । महिला एसेज अन्तर्गतको टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ७२ रनले पराजित गरेको छ । योसँगै अस्ट्रेलियाले टी–२० शृङ्खला पनि ३–० ले ह्वाइट वास गर्न सफल भएको हो ।

यसअघि एकदिवसीय शृङ्खला पनि ह्वाइट वास गरेको अस्ट्रेलियाले एसेजमा १२–० को अग्रता बनाएको छ । अब दुई जनवरी ३० देखि एक मात्र टेस्ट खेलमा दुई टोली आमनेसामने हुनेछन् । अस्ट्रेलियाले यसअघि नै एसेज ट्रफी आफ्नो पक्षमा पारी सकेको छ ।

शनिबारको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १७.३ ओभरमा ९० रनमा सीमित बन्यो । टोलीका लागि कप्तान हेदर नाइटले ३८ बलमा सर्वाधिक ४० रन बनाइन् । उनले ३ चौका र १ छक्का प्रहार गरिन् ।

ओपनर ड्यानी वायट हजले १५ बलमा १७ रन जोडिन् । अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् । इंग्ल्याण्डलाई सस्तोमा समेट्न अस्ट्रेलियाकी जर्जिया वेरह्यामले घातक बलिङ गरिन् । उनले ४ ओभरमा मात्र ११ रन खर्चेर ३ विकेट लिइन् । डार्सी ब्राउनले २ विकेट तथा मेगन स्कट, एलाना किंग, एनाबेल सदरल्याण्ड र ताहलिया म्याकग्राथले १–१ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर तथा विकेटकिपर बेथ मुनीले शानदार ब्याटिङ गरेकी थिइन् । उनले मात्र ६३ बलको सामना गरेर १० चौका हिर्काउँदै सर्वाधिक ९४ रनको योगदान दिइन् ।

अर्की ओपनर जिर्जया भोलले २१ बलमा २३ रन जोडिन् । फोबी लिचफिल्ड र एल्से पेरीले १२–१२ रन बनाए भने ग्रेस ह्यारिसले ११ रन बनाइन् । इंग्ल्याण्डका लागि लिन्से स्मिथ, फ्रेया केम्प, चार्ली डिन, सोफी एक्लेस्टोन र एलिस क्यापसेले १–१ विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप