आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय
कथा

सम्मोहन

शनिबार, १२ माघ २०८१, २० : ४९
शनिबार, १२ माघ २०८१

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । ऊ खुसी भयो । उसको अनुहारमा चमक छायो । पोखरा उसको प्राथमिकतामा पर्ने घुम्ने ठाउँ पनि हो । कैयौँपटक एक्लै आफ्नो व्यावसायिक काममा यहाँ आएको छ । प्रत्येकपटक उसले पोखरा घुमिसक्दा शरीरमा स्फूर्ति र मानसिक ताजगी प्राप्त गथ्र्यो । आज तीनजना अरु साथीहरूसहित गफिँदै पोखरा टेक्दै छ । नजिकका साथीहरूसँग गरिने मस्ती फरक र अविस्मरणीय हुने अनुभव धेरैपटक गरेको छ । उसो त पोखरा समूहमै रम्ने स्थल हो ।  एक्लै रमाउँदाभन्दा समूह हुने रमाइलोले उसलाई अलि बढी कुतूहल बनाइदिएको छ । ‘म बिन्दास रमाउने मान्छे हुँ’ भनेर आफूलाई चिनाउने पनि गर्छ ।

ऊ एउटा शिक्षा व्यवसायी । व्यावसायिक संगठनको दायित्व बोकेर पोखरा आएको छ । राष्ट्रिय गोष्ठीमा भाग लिन देशैभरिका धेरै व्यवसायीको उपस्थिति हुने गोष्ठीमा भाग लिनुलाई उसले आफ्नो सांगठनिक दायित्व सम्झेको छ । तथापि उसको अभीष्ट भनेको मिल्ने साथीहरूसँगै पोखरामा रमाउने र पुनर्ताजगी प्राप्त गर्ने हो । यसमा ऊ स्पष्ट छ । व्यावसायिक बोझले थिचेको दैनिकीबाट फुत्त बाहिर निस्केर रमाउनुपर्छ भन्ने उसले जानेको छ । ऊ आफूभित्रको पेसाकर्मी ‘म’ र व्यक्तिगत ‘म’ बिचको द्वन्द्व पनि महसुस गर्छ । 

पेसाप्रतिको इमानदारिताले जति उसलाई पेसामा बाँध्ने कोसिस गर्छ, उति नै उसको व्यक्तिगत ‘म’ले राम–रमाइलो, ठट्टा–हाँसो र मोज–मस्तीतिर धकेल्छ । आज ऊ व्यक्तिगत ‘म’लाई जिताउन चाहेको छ । दुई दिनका लागि पेसागत बोझ थपक्क बिसाउन चाहन्छ । ‘दुई बीस आधा उमेर पुग्दा पनि सधैँ पेसाको दास बनिरहने हो भने रमाउने समय त घर्किहाल्छ हाल्छ नि !’ ऊ सोच्छ । म मेरै गुलाम हुनुभन्दा म मेरो मालिक बनेर राज गर्न चाहन्छु— फेरि दह्रो मुठी कस्छ । 

पोखरा नगरीमा आएपछि यति सोच्नुलाई मेरो पेसागत ‘म’ले व्यक्तिगत ‘म’लाई गद्दार नसम्झेला— फेरि ऊ आश्वस्त हुन खोज्छ । 

व्यक्तिगत ‘म’ रमाएर पेसामा संलग्न हुने हो भने पेसागत ‘म’को कार्यदक्षता र कार्यक्षमता पनि बढ्ला नि ! आफैँसँग तर्क गर्छ । ऊ भित्रभित्रै पोखराको चमक धमक र रात्रिकालीन जीवनमा एकाकार हुने वातावरण तयार गर्दै छ । केहीबेर कुरा र धेरैबेर सोचमग्न हुँदै साथीहरू सँगै ऊ होटल पुग्छ । मुस्ताङ चोकको एउटा होटलमा गोष्ठी भइरहेको छ । सहभागीहरूको बसोबास त्यही हो । एउटा कोठामा सामान राखेर साथीहरूसँगै चलिरहेको कार्यक्रममा लुसुक्क छिर्छ । सहभागीहरूको उपस्थिति बाक्लो थियो । उसले आफ्नो पनि सहभागिता जनाउँछ । यतिन्जेल अपराह्न २ बजिसकेको थियो ।

‘म एक्लै भएँ’ उसले सहारा खोज्यो । ‘म त्यहाँ आउँ ?’ अनुमति पनि माग्यो । ‘ढिला भइसक्यो, अब सुतौँ है’ उसले फोन काटिदिई । ऊ निःशब्द भयो । क्षणभरमै पुतलीको आमन्त्रण अस्वीकृतिमा बदलिएको थियो । उसले आँखा वरिपरि पुतली देख्यो ।

साँझ ५ बज्यो । कार्यक्रमकै बिच साथीलाई कोट्यायो । ‘बियर पिउन जाउँ’ उनले सुस्तरी भन्यो । उसको मन लेकसाइडमा बसेर हावाले फेवातालको पानीमा उठाएको छाल हेर्न हतारिरहेको थियो । मसिना पानीका छालहरूले डुङ्गालाई मन्द गतिमा हल्लाएको, तालको पानीमा गोधुली साँझ पर्दै जाँदा पर बलेको बत्तीको टिलपिल ज्योति हेर्न आतुर थियो । उसको हुटहुटीले गोष्ठी स्थलमा टिक्न दिइरहेको थिएन । मोबाइल निकाल्छ, समय हेर्छ । साथीलाई कोट्याउँछ । इसाराले जाउँ भन्छ । अन्ततः साथीहरू पनि निस्कन सहमत भए । कार्यक्रम छाडेर करिब तीन किलोमिटर पैदल हिँडेर लेकसाइड जाने सहमति भयो । तीन जोर खुट्टाहरू एकै साथ गन्तव्यतिर लम्किए । 

बाटोभरि उसले पटकपटक फोनमा कुरा गर्‍यो । सायद रमाइलो बाँड्दै थियो । केहीबेरमा ऊ फेवातालको तीरमा पुग्छ । साथीहरू पनि सँगै हुन्छन् । फेवातालको चिसो सिरेटोको उसलाई वास्तै भएन । ऊ चारैतर्फ चनाखो भएर हेर्दै थियो । केही खोजिरहेको थियो । जे देख्यो उतै आकर्षित हुँदै थियो । एउटा बालकझैँ कुतूहल थियो । ऊ पिउन चाहन्थ्यो । ऊ खान चाहन्थ्यो, आगो ताप्न चाहन्थ्यो । ऊ लाइभ गीत सुन्न चाहन्थ्यो । ऊ नाच्न चाहन्थ्यो, गफिन पनि चाहन्थ्यो । वास्तवमा ऊ फेवा किनारको यो वातावरणको भरपुर उपयोग गरेर ऊर्जावान् हुन चाहन्थ्यो । व्यावसायिक थकानलाई चकनाचुर पार्न चाहन्थ्यो । 

उसले बियर पिउन सनसेट बिच रेस्टुरेन्ट छनोट गर्‍यो । साथीहरूले सहमति जनाए । माघको जाडो, आधा काटेको टिनको ड्रममा ह्वाह्र्वार आगो दन्किरहेको थियो, हेर्दै न्यानो । अगाडि लाइभ ब्यान्डमा तीनजना गाउन र बजाउनमा मस्त थिए । मिठो गीत बजेको मस्त माहोल थियो । स्टेज नजिकैको कुर्सीमा थच्च बसेँ । उसले बियर र सेकुवा अर्डर गर्‍यो । ऊ पुलकित भयो । आगाको ज्वालाअगाडि उसको आधा अनुहार रातो देखियो । बेयराले बियर गिलासमा खनाइदिई । सेकुवाको प्लेट टेबलमा थपक्क राखी । गिलास उचालेर सबैले ‘चियर्स’ भने उसले लामो घुड्को घुड्क्यायो । साथीहरूले पनि पिए । लुकाउन खोजेको उसको मस्ती–मुड उसका क्रियाकलापले छरपस्ट पारेको थियो । ऊ छिनछिनमा उत्ताउलिन्थ्यो । आगोमा हत्केला सेकाउँदै संगीतको तालमा टाउको हल्लाउँथ्यो । घरी थपडी बजाउँदै जिउ मर्काउँथ्यो । 

बाहिर अँध्यारै भयो । तालको पानी देखिन छाड्यो । वरिपरि रङ्गीन बत्तीहरू अरु बढी उज्याला भए । साथीहरूसँगै ऊ बियरमा रमाउँदै गयो । ऊ बसेभन्दा पछाडि खाली टेबलमा दुई अधबैँसे महिलाहरू आए । सायद आगो ताप्ने लोभले होला । त्यहीँ थपक्क बसे । उसले वास्ता गरेन । हुन पनि उसले महिलामाथि टिप्पणी गरेको साथीहरूले सुनेका छैनन् । करिब ४५ वर्षकी एउटी पाकी महिला र अर्की अन्दाजी ३५ वर्षकी रातो रंगको टपक्क मिलेको फुल टिसर्ट, कालो स्टकिङ, घुँडासम्मको लामो बुट लगाएकी, लामो सलक्क परेर कम्मरसम्म लत्रेको कालो कपाल, गोरो वर्णको बाटुलो अनुहार, पुष्ट शरीर भएकी सुन्दर महिला थिई । तिनले पनि वेटरलाई बोलाएर अर्डर गरे । रेस्टुरेन्ट्मा केटी हेर्नु उसको प्राथमिकतामा त थिएन तर पनि जोडी आँखा उतैतिर नाच्दै थिए । उसले वास्ता नभएझैँ गर्‍यो । अरुले पनि उसलाई वास्ता गरेनन् । 

दुईवटा तोङ्बाको भाँडो र दुईवटा प्लेटमा खानेकुरा टेबलमा आए । वेटरले थर्मसको तातोपानी सरल खन्याइदिई । तोङ्बाको भाडो भरिए । महिलाहरूले एकअर्काको अनुहार हेरे, मन्द मुस्काए । हाई–फाइभ पारामा हत्केला जुधाए र तोङ्बाको पाइपमा थुथुनो जोते । अलिकति स्वाट्ट पारे । फेरि हेराहेर गरे । एउटीले मन नपरेको जस्तो मुखाकृति बनाई । पाकी महिला मुस्कुराई मात्र ।

साँझको चिसो बढ्दै थियो । म्युजिक चर्को स्वरमा बज्दै थियो । उसले उठेर कुर्सीलाई पूर्व फर्कायो, आगोको अगाडि । आगोको रापमा आनन्द मान्यो । अब ऊ महिलाहरूको सामुन्ने भयो, एक अर्कालाई हेर्न सहज भयो । आगोको रापले महिलाहरूको सुन्दर अनुहार अरु रापिलो देखियो । हेराहेर सहज हुँदै गयो । रातो टिसर्टवालीसँग आकर्षण महसुस गर्‍यो । एकपटक शिरदेखि पाउसम्म सरसर्ती हेर्‍यो । उसलाई काउकुती लाग्यो, रोमाञ्चित भयो । तिनीहरूलाई कहीँ देखेजस्तो लाग्यो, बोलुँझैँ भयो । मदिराको हल्का नशा र महिलाको रूप दुवैले ऊ एकै साथ लट्ठियो । महिलासँग आँखा जुधाएर ऊ मुस्कुरायो । रातो टिसर्टवालीले पनि मन्द मुस्कानमै जवाफ फर्काइ । अब दुवै पूर्व परिचितझैँ भए । 

चर्को लाइभ म्युजिकले कुराकानीको वातावरण बन्न दिएन । एउटा गीत सकियो, म्युजिक रोकियो । उसले मुख फोर्‍यो, बोल्न सुरु गर्‍यो । महिलाले मुस्कुराएर जवाफ फर्काई । उसले तोङ्बाको विषयमा सोध्यो । रातो टिसर्टवाली बोली ‘यो तोङ्बाको स्वादै छैन, नमिठो’ । उसलाई महिलाको स्वर मिठो लाग्यो,  सुनेर ऊ लट्ट पर्छ । ‘मिठो लागेन ?’ ऊ मायालु पारामा फेरि सोध्छ । ओठ लेब्य्राएर मुन्टो दायाँबायाँ हल्लाउँछे । त्यो रापिलो आगो अगाडि हल्लिएको गोरो अनुहार देखेरै ऊ कायल हुन्छ । उसको गालासम्म मुख लगेर ‘पानी हालेर पिउने नि !’ ऊ अथ्र्याउँछ । साथीहरूले पनि होमा हो मिलाइदिन्छन् । तर महिलाले अर्को पेग रम मगाई । गिलास उचालेर घुटुक्क पारी । तोङ्बा टेबुलको छेउतिर पन्छाइदिई । बियरले उसको मुड–अन भइसकेको थियो । महिला पनि उस्तै देखिन्थी । असहजताको पर्दा हटिसकेको थियो । 

‘तोङ्बा नपिउने ?’ उसले सोध्यो । 

महिलाले फेरि दायाँबायाँ मुन्टो हल्लाई । ‘तैँले चाखेर हेर त’ साथीहरूले उसलाई हौस्याए । महिलाले पनि तोङ्बाको भाडो अघिल्तिर धकेल्दिई र फिस्स हाँसी । हाँसोले उसको मुटु चसक्क गर्‍यो । उसले तोङ्बाको भाँडो उठायो । पाइपमा मुख जोत्दै गर्दा कतै लिपस्टिकको दाग त छैन ? भनेर हेर्‍यो । सफा नै थियो । दुई ओठले पाइप च्यापेर गाला खाल्डो पार्दै तन्कायो, दुईपटक तान्यो । महिला खुसी मानेर हेरिरही । 

‘कस्तो छ ?’ उसले सोधी । 

‘मिठो छ,’ आँखीभौँ उचाल्दै रमाइलो गरी टाउको हल्लायो । 

‘तिम्रो ओठको पनि स्वाद मिसिएर आयो, त्यसैले झन् मिठो भयो’ उसले जवाफमा प्रेम मिलायो । महिला आँखा ठुलो पारेर उज्यालो अनुहार लगाउँदै भुइँतिर हेरी । सबैजना आगोको रापले बाहिरबाट र मदिराको रापले भित्रबाट तात्दै थिए, ऊ भने महिलाको हाउभाउ र अदाले सर्वत्र तात्दै थियो । उनीहरू एकापसमा धेरै सहज भए । कुराकानी बाक्लिन थाल्यो । उसले फोन नम्बर माग्यो । आफ्नो मोबाइल उसको हातमा थमायो । महिलाले फोन नम्बर थिचिदिई । ऊ चिठ्ठा परेझैँ खुसी भयो । नम्बर सेभ गर्न नाम सोध्यो । ऊ बोल्न नपाउँदै, अर्की पाकी महिलाले प्याच्च बोलिन् ‘फूलकुमारी’ । दुवै महिलाले खित्का छाडे । उसलाई विश्वास लागेन । 

‘साँच्चि हो ?’ ऊ पक्का हुन चाह्यो । पाकी महिलाले टाउको हल्लाएर हो भनी । रातो टिसर्टवालीले अप्ठेरो मानी र कानमा मुख जोतेर भनी ‘पुतली’ । 

‘यस्तो नि नाम हुन्छ ?’ दुवै हात उत्तानो पारेर सोध्यो । महिलाहरूले एकै स्वरमा हो भने । उसलाई शङ्का छ, तापनि मोबाइलमा ‘पुतली’ सेभ गर्‍यो । उसलाई नाम होइन, चिनारी मात्र चाहिएको थियो । यतिन्जेल अरु साथीहरू उठेर म्युजिकमा नाच्न थालिसकेका थिए । अप्ठेरो मानेर उठ्यो र जिउ मर्काउन थाल्यो । उसलाई नाच्न आउँदैन । ती दुई महिलाहरू उसैलाई हेरेर हाँस्दै थिए । उसले देख्यो दौडेर गयो र पुतलीलाई हात समातेर तान्यो । ऊ मानिनँ । कानमा खुसुक्क केही भन्यो । फेरि पुतली र अर्की महिला दुवैको हात तान्यो । दुवै नाच्न सरिक भए, कम्मर हल्लाउँदै एक आपसमा ठोक्किरहे । उसले नृत्य देखेन, केवल बान्की परेको सुडोल शरीर हल्लेको रमाइलो मानेर हेरिरह्यो । स्वादले हेरिरह्यो ।

पिउने र नाच्ने क्रम चलिरह्यो । उसले सँगै नाचेका आफ्नो साथीहरू बिस्र्यो । पुतलीले पनि साथीको वास्ता गरिनँ । घरीघरी लाइभ संगीत रोकिन्थ्यो, उनीहरूको नृत्य रोकिन्थ्यो तर समातिएका हात छुट्दैनथे । कुराकानी रोकिँदैनथे । कति छिटो नजिकिएको भनी साथीहरूले जिस्काउँदा पनि बिन्दास थिए । 

रातको ११ः३० भयो । लाइभ संगीत बन्द भयो । ड्रमभित्र आगो अझै दन्किँदै थियो । उनीहरूमा आकर्षण घटेकै थिएन । साथीले ‘उठौँ’ भन्दा ऊ झसङ्ग भयो । यही बेला ‘बिल कति भयो ? म तिरौँ ?’ भनेर पुतलीलाई सहयोग गर्ने उपाय सोँच्यो । पाकी महिलाले ‘पर्दैन, हामी आफैँ तिर्छौं’ भनेर योजना तुहाइदिई । उसले मुखाकृति बिगार्‍यो । पुतलीले मायालु नजरले सान्त्वना दिई । ऊ असमञ्जमा पर्‍यो । तिनीहरूलाई बुझ्नै सकेन । महिलाले वेटरसँग बिल मगाई, ऊ काउन्टरतिर हान्नियो । दुवैले छुट्टाछुट्टै बिल तिरे । 

रेस्टुरेन्टबाट सबै सँगै बाहिरिए । ऊ र पुतलीसँग एउटै लहरमा भए, अरु अघिपछि । पुतली पनि ऊप्रति मुग्ध थिई । एकापसमा टाँसिएर गफिँदै हिँड्दा दुवैले सहज मानेका थिए, हिच्किचाहट थिएन । दुवै मस्त थिए । जोडीझैँ देखिन्थे । अनुहारमा पाउट बनाउँदै संयुक्त सेल्फी पनि खिचे । मध्यरातको हिँडाइ ताल किनारबाट हल्लनचोक आइपुग्यो । पुतलीको गन्तव्य १७ नम्बर स्ट्रिट, उसको मुस्ताङ चोक । दुवैलाई नछुट्टिन संकोच भयो । आफ्नै साथीहरूको संकोच । उसले पुतलीको मुहार नियाल्यो । पुतलीले उँधो मुन्टो लाउँदै लजाई । उसले साथीहरूलाई सोध्यो ‘अब कता जाने ?’ 

अर्की पाकी महिलाले पाखुरामा समात्दै ‘भोलि बिहान हट एयर बेलुनमा उड्ने टिकट छ, छिटो सुत्नुपर्छ, जाउँ,’ भनेर पुतलीलाई झट्काली । 

‘बाइ’ भन्दै पुतली मध्यरातमा सडकको माझबाट तेर्सो लागी । ऊ अवाक् भयो, ‘बाई’ भन्नै सकेन । ठिङ्ग उभिरह्यो । बिस्तारै पुतली अँध्यारोमा अदृश्य भई । साथीहरूलाई हेर्‍यो, साथीहरू उसैलाई नियाल्दै थिए । उसको अनुहार निचोरिएको ज्यामिरजस्तै भो । उसलाई पुतलीकै पछिपछि दौडन मन लाग्यो । तर साथीहरूको अगाडि धक मान्यो । ज्याकेटको जिपर तल झार्‍यो । सर्टको दुईवटा बटन खोल्यो । उसलाई भित्रबाट गर्मीले पोल्यो । रानो हराएको मौरीले झैँ उसले दिशा भुल्यो । टाढा हेर्‍यो, रातो टिसर्ट खोज्यो, सडक सुनसान थियो, सन्नाटा मात्र । केही गुमाएझैँ गर्‍यो । 

त्यही बेला ‘क्याटवाक’ लेखेको गाडी आयो । ऊ फुत्त गाडीभित्र चढ्यो । साथीहरू पनि चढे । त्यो नाइट क्लबमा मान्छे ओसार्ने भ्यान थियो । साथीहरू गफिँदा ऊ मौन थियो । क्षणभरमै गाडी पोखराको चर्चित नाइट क्लब ‘क्याटवाक’ पुग्यो । उनीहरू क्लबभित्र छिरे । चर्को संगीत, निष्पट्ट अँध्यारो ठाउँ, झलाकझुलुक बत्ती र धुँवा उडेको वातावरण । उसले कम्मर हल्लायो । आँखा चिम्म गरेर उफ्रन थाल्यो । पुतलीसँग छुट्टिनुको उकुसमुकुसले पनि ऊ उफ्रियो । आँखा चिम्ल्यो कि पुतलीको आकृति देख्थ्यो । फेरि बेचैनी बढ्दै गयो । एकाएक ऊ बाहिर निस्क्यो, मोबाइल झिकेर डायल गर्‍यो । पुतलीले ‘हेल्लो’ भनेको सुन्यो । ‘डार्लिङ’ ऊ बोल्यो । पुतलीले ‘हजुर’ भनी । उसले सन्तोष मान्यो र थोरै रोमाञ्चित भयो । 

‘म एक्लै भएँ’ उसले सहारा खोज्यो । ‘म त्यहाँ आउँ ?’ अनुमति पनि माग्यो । ‘ढिला भइसक्यो, अब सुतौँ है’ उसले फोन काटिदिई । ऊ निःशब्द भयो । क्षणभरमै पुतलीको आमन्त्रण अस्वीकृतिमा बदलिएको थियो । उसले आँखा वरिपरि पुतली देख्यो । आगोको ज्वालाले रापिएको अनुहारको झल्को आयो । दुई घण्टामै आफू सम्मोहित भएको सम्झ्यो । शरीर सुमसुम्याउँदै गफिएको सम्झ्यो । जुठो तोङ्बाको पाइपमा मुख जोतेको सम्झ्यो । ‘थुइक्क’ ज्याकेटको बाहुलाले मुख पुछ्दै दाहिने खुट्टा उचालेर पछुतो मान्दै बेस्करी भुइँमा बजार्‍यो ।

‘होइन पुतली साँच्चै मायालु थिई र ? अब ऊ शंकालु भयो । यति छिटै मसँग उदाङ्गिएकी पुतली अनायसै किन बन्द भई ? दुई घण्टाभित्रै सिर्जना भएको यो बेचैनीले मलाई मात्र किन सताएको ? पुतलीले त निस्फिक्री फोन राखिदिई । ऊ मप्रति आकर्षित थिइनँ क्यार ! उसमा आफैँप्रति दयाभाव उत्पन्न भयो । छाती भारी भयो, अनुहार हुप्प फुल्यो । ग्लानिले घाँटी सुक्यो । घुटुक्क थुक निल्यो र पुनः नाइट क्लबभित्र छिर्‍यो । फेरि म्युजिकको बिटमा शरीर हल्लाउने उपक्रम चल्यो । नाच्यो, जोडले नाच्यो । आफ्नो व्यवहार सम्झिँदै संगीतको तालमा नाच्न थाल्यो । पसिनाले निथ्रुक्क भिज्यो, ज्यान थकित भयो । अब उसले आँखा चिम्म गरेन, पुतलीको आकर्षक आकृति नदेखियोस् भनेर अध्यारो हेर्दै संगीतको तालमा नाचिरह्यो, एकनासले नाचिरह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नबरथ बानियाँ
डा. नबरथ बानियाँ
लेखकबाट थप