पूर्वमिस नेपाल सदीक्षाको युवाहरूलाई सन्देश: दृढ अठोट लिनुस्, सफलता मिल्छ

सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवमा शनिबार कर्णालीका युवाहरूमाझ प्रेरणादायी सन्देश लिएर उपस्थित थिए, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र वरिष्ठ पत्रकार दिलभुषण पाठक ।
सन् २०१० की मिस नेपाल सदीक्षाले युवाहरूलाई दृढ अठोट लिएर निरन्तर अघि बढेमा आफ्नो लक्ष्यमा सफलता मिल्ने बताइन् । यसका लागि हरेकले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने बताइन् । ‘अरूले जे सुकै भनोस् तर आफूले आफ्नो क्षमतामा विश्वास राख्नुपर्दछ, कुनै पनि अवसर तपाईँको अगाडि आउँछ भने समाउनुस्, अवसर टाढा टाढा जान खोज्छ भने पछ्याउनुहोस्,’ उनले भनिन्, ‘हरेक कामको सम्मान गर्नुपर्छ, ठुलो सानो जे–जस्तो भए पनि त्यो एउटा अवसर हो, त्यसलाई अँगाल्न सक्नुस् ।’
साथै उनले युवाहरूलाई कुनै काममा एकपटक असफल हुँदैमा निराश नहुन सुझाइन् । ‘तपाईँ सबै असफल हुनुहोस्, असफल त्यस्तो होस्, त्यसले तपाईँलाई सफलताका लागि अग्रसर गराउन सिकाउँछ,’ उनले भनिन् ।
वरिष्ठ पत्रकार दिलभुषण पाठकले युवाहरूलाई सही सूचनालाई पछ्याउन आग्रह गर्दै सत्य सूचना भएको मान्छे नै अहिलेको शक्तिशाली हुने बताए । ‘तपाईँको हातमा स्मार्ट मोबाइल फोन छ, सही प्रयोग गरे एकदम ठिक छ तर गलत प्रयोग भएमा भयानक अवस्था निम्तिन सक्छ, उनले भने, ‘अध्ययनले युवाहरू पनि फेक समाचारको सिकार बनेका छन्, फेक समाचार फैलाउनमा पनि युवा प्रयोग भएका छन्, सूचना आधिकारिक भए मात्र विश्वास गर्नुस् ।’
डिजिटल प्रविधिले सात गुना बढी झुटो समाचार सबैभन्दा छिटो आइपुग्ने उनको भनाई थियो ।
आफू तीन दशक अघि कर्णाली आएको स्मरण गर्दै उनले त्यतिबेलाको कर्णाली र अहिलेको कर्णालीमा निकै फरक पाएको बताए । ‘३० वर्ष अघि कर्णाली पुग्दा सिटामोल र दुई छाक खाना नपाएर ज्यान गुमाएका मान्छेहरू भेटेँ, कर्णालीमा बाटो थिएन, गाडी थिएनन्, सरकारले चामल ढुवानी गर्ने गरेको थियो, त्यही चामल पाउन हानथाप हुने गर्दथ्यो,’ उनले भने, ‘तर अहिले परिस्थिति फरक छ, अहिले जता हेर्यो उतै सम्भावनै सम्भावना छन् ।’
दिलभुषणले युवाहरूलाई कर्णालीका सुन्दर दृश्यहरूलाई सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्न आग्रह गरे । ‘जुम्लामा फल्ने उचाइको धान जस्तो अन्त छैन, मूल्यवान् जडीबुटी पाइने ठाउँ कर्णाली नै हो, तर यस्ता विषयहरू टिकटिकमा देखिँदैनन्,’ उनले भने ।
कर्णाली युवा महोत्सव परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रबारदेखि वीरेन्द्रनगरमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘'कम्युनिस्ट' भनेर कार्यकर्तालाई ठग्ने, 'समाजवादी' भनेर जनतालाई ठग्ने ?’
-
त्रिवि प्रिन्सिपल कार्यालयको तालाबन्दी खोल्न होटलमा छलफल
-
सेन्सरबारे दीपकराज गिरी, दयाहाङ राई र नवीन सुब्बाको आपत्ति
-
चाड बन्यो सन् २०२४ कै सर्वाधिक प्रदूषित देश, नेपाल सातौँ नम्बरमा
-
प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरे : ज्ञानेन्द्र शाही
-
४ करोडको बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ