मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

संसद्‍मा एक स्वरका साथ एउटै आवाज उठाउन सांसदहरूलाई देउवाको निर्देशन

‘केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्नु’
शनिबार, १२ माघ २०८१, १७ : ५६
शनिबार, १२ माघ २०८१

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक ढिक्का भएर संसद्‍मा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् । 

सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद् र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभई पार्टीको रूपमा आफ्ना धारण राख्न निर्देशन दिएको जानकारी दिए । बैठकमा मन्त्रीहरूले सरकारमा भएका काम, कारबाहीबारे जानकारी गराउनुभएको बताए । 

उनकाअनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसद्मा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन रूपमा छलफल भएको छ । नेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि एक ढिक्का भएर प्रस्तुत हुने निर्णय भएको बताए । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नै पर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राख्नुभएको बताए । 

उनले भने, ‘वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसद्मा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन रूपमा छलफल भयो । नेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि एक ढिक्का भएर प्रस्तुत हुने । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नै पर्ने बाध्यता भएकाले यसलाई अध्यादेशको रूपमा ल्याइएको हो । केही समस्या छन् भने संसदीय दलमै कुरा राख्न र संसद् अधिवेशनमा एक ढिक्का भएर प्रस्तुत हुन निर्देशन दिनुभयो ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीरताका साथ गृहकार्य थालेको जानकारी दिए । उनले पार्टीबाहेक पनि सरकारको तर्फबाट संविधान संशोधनका लागि छुट्टै संयन्त्र बनाएर काम अघि बढाउने बारेमा सरकारमा सहभागी मन्त्रीहरूले जानकारी गराउनुभएको बताए । 

आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेश ल्याएको र सबैले स्वागत गरेको उनको भनाई थियो । उनले भने, ‘संविधान संशोधनका विषयमा हामीले गम्भीर गृहकार्य थालनी गरेका छौँ । त्यसमा एउटा छुट्टै संयन्त्र पनि बन्छ । त्यसमाथि पार्टीगत पनि बन्छ । संशोधनका विषयवस्तुहरू हुन सक्दछन् । सरकारबाट पनि एउटा संयन्त्र बनाएर त्यसउपर गम्भीर गृहकार्य गर्ने भन्ने नै हो । धेरै विधेयकहरू संसद्मा धेरै वर्षदेखि पेन्डिङ रहेको र समयमा कार्यान्वयन नभएको अवस्थामा आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेशमार्फत छिटो छरितो हुने आशयले ल्याएको कुरा राख्नुभयो । त्यसलाई सबैतिरबाट स्वागत भइरहेको छ । संसद्मा तत्काल नै अध्यादेश प्रस्तुत हुनेछ ।’

प्रवक्ता महतले अध्यादेश, सरकारको स्थितिबारे पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जानकारी गराउनुभएको बताए । विचाराधीन विधेयक संसद्बाट छिटो पारित गर्ने बारेमा छलफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप