एमालेको ८ पन्ने अपानि : पुराना कार्यकर्ताको व्यवस्थापन चुनौतीपूर्ण, अध्यादेशको बचाउ

काठमाडौँ । नेकपा एमालेले अधिवेशनबाट बिदा भएका पुराना कार्यकर्ताहरूको व्यवस्थापन चुनौतीपूर्ण भएको बताएको छ । अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन-११ जारी गर्दै पार्टीमा आउन चाहनेहरूले सम्पर्क र सम्बन्ध बढाइरहे पनि व्यवस्थापनको जटिलताले पार्टी प्रवेश अभियानमा समस्या भएको भन्दै अधिवेशनबाट बिदा भएका कार्यकर्ताको समेत व्यवस्थापन चुनौतीपूर्ण भएको बताएका हुन् ।
‘पार्टीमा आउन चाहनेहरूले सम्पर्क र सम्बन्ध पनि बढाइरहेका छन् । तर व्यवस्थापनका जटिलताले पार्टी प्रवेशको अभियानमा समस्या देखिएको छ । प्रवेश गरेका अगुवाहरूको व्यवस्थापन हुन नसक्दा गुनासो पनि बढेको छ । अधिवेशनबाट बिदा भएका पुराना कार्यकर्ताको व्यवस्थापन चुनौतीपूर्ण बन्न पुगेको छ’, अध्यक्ष ओलीले जारी गरेको अपानिमा भनिएको छ ।
अध्यक्ष ओलीले आमरूपमा पार्टीको संगठनात्मक काममा तीव्रता आएको र पार्टीका बैठक र पार्टी कमिटीबाट आयोजना गरिएका कार्यक्रमहरूमा सहभागिता उल्लेख्य देखिएको पनि बताएका छन् । ओलीले पुराना र अनुभवी कार्यकर्ताको सम्मान र पार्टी निर्माणमा उनीहरूको सहभागिता जुटाउने कुरामा सम्बन्धित तहका कमिटीहरूको ध्यान दिन निर्देशन समेत दिएका छन् ।
उनले केन्द्रीय संगठन विभागको आयोजनामा सम्पन्न राष्ट्रिय कार्यशालाको निष्कर्ष समेतका आधारमा पार्टीको केन्द्रीय सचिवालयको ४४औँ बैठकले माघ, फागुन र चैत महिनामा तीन महिने वडा केन्द्रित अभियान प्रभावकारीरूपमा सञ्चालन गर्ने निर्णय गरेको स्मरण गराउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनाको अङ्गका रूपमा सञ्चालन गरिने उक्त अभियानमा आ–आफ्नो प्रदेशका केन्द्रीय तहदेखिका सम्पूर्ण नेता र कार्यकर्ता परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउनु पर्ने जनाएका छन् ।
‘अभियान पालिका तहमा योजना तयार गरी वडा केन्द्रित गरी सञ्चालन गर्नुपर्नेछ,’ अध्यक्ष ओलीले भनेका छन्, ‘वार्षिक कार्ययोजनाअनुरूप पार्टीको वैचारिक, राजनीतिक र संगठनात्मक कामलाई योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउनु आवश्यक छ ।’
आधारभूत वर्ग र समुदायका बिचमा पार्टीको प्रभावलाई गहिरो गरी स्थापित गर्न निर्देशन दिँदै ओलीले नयाँ पुस्ताका बिचको पार्टी काममा जोड दिनुपर्ने बताएका छन् ।
आगामी निर्वाचनमा पार्टीको एकल बहुमत आउने गरी अहिलेदेखि नै तयारीको काममा जुट्नुपर्ने भन्दै ओलीले प्रतिनिधिसभा, प्रदेशसभा, पालिका र वडा तहको निर्वाचनलक्षित योजना बनाएर पार्टी कामलाई अघि बढाउन निर्देशन दिएका छन् ।
‘सामाजिक र सामुदायिक संगठनहरूमा समेत पार्टीको बलियो उपस्थिति रहने गरी संगठनात्मक कामलाई विस्तार गर्नुपर्दछ । जनआधार विस्तारको योजनाअनुरूप पार्टीसम्बद्ध जनसंगठनको काममा विशेष जोड दिनुपर्दछ’, अपानि-११ मा ओलीले भनेका छन्, यी सबै पक्षमा सहयोग पुग्ने गरी पार्टीले तीन महिने वडा केन्द्रित अभियान सुरु गरेको छ । अब सिङ्गो पार्टीपंक्तिको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा केन्द्रित गर्नुपर्दछ ।’
अपानिमा पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे तथा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि कारबाहीको जानकारी गराउँदै एमालेले आगामी पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ मा गर्ने निर्णय गरेको जनाएको छ ।
पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको भन्दै एमाले अध्यक्ष ओलीले नेकपा (एमाले) र नेपाली कांग्रेस बिचमा भएको सहकार्यले राजनीतिक अस्थिरता र अन्योलको अवस्था एक हदसम्म अन्त्य भएको दाबी गरेका छन् ।
‘दुई पार्टीका बिचमा संयन्त्र गठन गरी कामलाई व्यवस्थित गर्ने प्रयास भएको छ । प्रदेश र जिल्ला तहमा पनि संयन्त्रहरू गठन भई कार्यादेशअनुरूप छलफलका प्रक्रिया सुरु भएको छ । कानुनी र संरचनागत सुधारका माध्यमबाट सुशासन र सेवा प्रवाहका प्रयासहरू अघि बढेका छन्’, प्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन् ।
अध्यादेशको बचाउ गर्दै ओलीले अध्यादेशका माध्यमबाट गरिएको कानुनी सुधारले आर्थिक क्षेत्रमा उल्लेख्य सुधार र सकारात्मक प्रभाव परेको दाबी गरेका छन् ।
तर पनि नेपालको राजनीतिलाई अस्थिर बनाएर त्यसबाट लाभ लिन खोज्ने तत्त्वहरू यति बेला थप सक्रिय भएको ओलीको भनाइ छ । ‘उनीहरूले हाम्रो पार्टी र नेतृत्वका विरुद्धमा प्रहारलाई केन्द्रित गरेका छन्,’ अपानिमा ओलीले भनेका छन्, ‘मिथ्या र भ्रमपूर्ण प्रचारका माध्यमबाट पार्टी र नेतृत्वलाई बदनाम र कमजोर बनाउने दुष्प्रयास गरिरहेका छन् । उनीहरू सामाजिक सञ्जालको व्यापक दुरुपयोग गर्दै साइबर हमलाको तहमा उत्रिएका छन् । यस्तो अवस्थामा सिङ्गो पार्टीपंक्तिले मिथ्या र भ्रमपूर्ण प्रचारको प्रतिवाद गर्ने र सही तथा सकारात्मक विषय सामाजिक सञ्जालका माध्यमबाट प्रभावकारी ढंगले सम्प्रेषण गर्ने काम योजनाबद्ध रूपमा अगाडी बढाउनुपर्ने भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो