‘जान्नेलाई छान्ने भन्नेहरूलाई सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने जानकारी समेत भएन’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको बताएका छन् । शनिबार काठमाडौँमा युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैल्याएको बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जान्नेलाई छान्ने भन्ने अभियन्ताहरू सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने पनि जानकारी नराख्नेहरू रहेको बताए । जान्नेलाई छान्ने भन्नेहरूले नेपालको कानुन पहिला जान्नुपर्ने उनको भनाई थियो । अब युवाहरूले बुझिसकेको भन्दै युवाहरू भ्रमित नहुने बताए । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएकाहरू र राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेका भरमा राजनीतिको मैदानमा सफल नभइने जिकिर गरे । राजनीति आफैँमा एउटा विज्ञान भएको उनले बताए ।
महासचिव पोखरेलले भने, ‘पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्दछ । कस्तो नयाँ खोज्नुपर्दछ । नयाँ खोज्नेहरूले नारा लगाए, जान्नेलाई छान्नुपर्दछ । नारा सारै मिठो थियो । छान्नै पर्दछ, जान्नेलाई नै छान्नुपर्दछ । तर कस्ता रहेछन् त नेता भन्दा सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने कानुन पनि पढ्न नजान्नेहरू जान्नेलाई छान्नेका अभियान कर्ता रहेछन् । नेपालको कानुन के छ ? भन्ने कुरा त जान्नुपर्यो नि, जान्नेलाई छान्नेहरूले । परेन ?’
उनले थपे, ‘कुनै पनि संस्थाबाट ल्याएको रकम फिर्ता गर्नुपर्दछ भन्ने मान्यताका आधारमा त्यो रकमको सदुपयोग गर्नुपर्दछ, भन्ने कुरा त जान्नुपर्यो नि । जहाँबाट पनि ल्याएको छ, मनपरी खर्च गरेको छ । संस्था डुबाएको छ । नारा लगाएको छ, जान्नेलाई छान्ने । त्यसका पछाडि युवालाई भ्रममा पार्ने । अब युवाहरू भ्रमित हुनेवाला छैनन् । जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको थियो भन्ने कुरा युवाहरूले अब बुझिसकेका छन् । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएका, एक प्रकारले भन्ने हो भने राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेका भरमा राजनीतिको मैदानमा सफल भइन्छ भन्ने हुँदैन । राजनीति आफैँमा एउटा विज्ञान हो ।’
महासचिव पोखरेलले राजनीति गर्नेहरूले संघर्ष गर्न सक्नुपर्ने र धैर्यता राख्न सक्नुपर्ने बताP । सयौँ फूलहरू फुल्न दिनुपर्छ भन्नुको अर्थ सयौँ पार्टीहरू खोलेर सत्ताको राजनीतिमा लुछाचुँडी गर्नुपर्छ भन्ने नभएको उनले बताए । समाजवादका नाममा अनेक प्रकारका दलहरूले खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने काम भइरहेको उनको भनाई थियो ।
पोखरेलले अहिलेको सरकारकार अप्राकृतिक भनी भ्रम फिँजाउने काम भइरहेको बताए । उनले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु पर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रस्ट पारे ।
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उनले स्पष्ट पारे । देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै पोखरेलले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दाबी गरे । उनले राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकाले प्रतिरक्षा गर्न अग्र मोर्चामा उभिन युवा संघलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालले तीन जनालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा खेलकुद क्रिकेटतर्फ क्यानका सचिव तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्का, सूचना प्रविधितर्फ अस्गर अलि र महिला खेलकुदमा पलेसा गोवर्द्धन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री आचार्य
-
रौतहटमा झन्डै ५० हजार बालिकालाई एचपीभी खोप लगाइने
-
भारतको कुम्भमेलामा भागदौड, कैयौँ हताहत भएको आशङ्का
-
सरकारले थाल्यो भारतबाट गहुँ आयात प्रक्रिया
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
संसार हेर्ने अभिलाषा पुरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख