सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
कला

प्रिन्ट आर्ट फेयर : नवयुवादेखि पाको कलाकारसम्म

शनिबार, १२ माघ २०८१, १८ : ००
शनिबार, १२ माघ २०८१

सिद्धार्थ कला दीर्घामा भर्खरै (१८ डिसेम्बर २०२४ देखि १५ जनवरी २०२५ सम्म) ‘द मिनी प्रिन्ट्स आर्ट फेयर’ नामक सामूहिक कला प्रदर्शनी सम्पन्न भयो । 

प्रदर्शनीमा केही एकनासका स–साना र केही अलि ठुला ‘प्रिन्ट–मेकिङ’ चित्र राखिएका थिए । ठुलाठुला ‘प्रिन्ट मेकिङ’को एक अलग्ग महत्त्व छ, यस्ता काम गर्न जो–कोहीलाई कठिन हुन्छ । 

यस प्रदर्शनीमा कुनै कुनै त ‘तीन बाई दुई इन्च’सम्मका नितान्त ‘मिनियचर पेन्टिङ’ समेत राखिएका थिए । तथापि यस्ता कला बगुन्द्रो देखिँदा सानोतिनो मेला भएझैँ लाग्थ्यो । मूलतः यो कला प्रदर्शनी ‘सिद्धार्थ कला दीर्घा’ र ‘प्रिन्ट मेकिङ’ नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । 

प्रदर्शनीमा नवयुवा कलाकारदेखि अग्रज कलाकारका परिपक्व, अपरिपक्व, नयाँ–पुराना सबैजसो कला थिए । यसो हुँदा नवयुवाले आफूभन्दा अग्रजका कलाबाट सिक्ने अवसर पनि पाउँछन् । नवयुवा ‘प्रिन्ट मेकर’लाई प्रोत्साहन गर्नकै लागि यो कला प्रदर्शनी आयोजना भएको आयोजकको दाबी थियो । 

यस प्रदर्शनीमा राखिएका हरेकजसो कलाका विषयवस्तु फरक छन् । माध्यम अनि प्रस्तुतिमा पनि फरकपना देखिन्छ । यसपालिको प्रदर्शनमा पाका कलाकार अलि पुरानै विषयवस्तु, शैली र प्रवृत्तिमा देखिए भने युवा तथा नवयुवा कलाकारका काम (चित्र) स्वभावतः नितान्त अलग संयोजनमा देखिए । विषयवस्तुकै रूपमा हेरौँ— पाका कलाकारका ‘हिमाल’, ‘पञ्चबुद्ध’, ‘प्रकृति’, ‘रामायण’, ‘गणेश’ आदि चित्र छन् । नवयुवा कलाकारका ‘फ्लाई फ्री’, ‘इटरनल बिगेनिङ’, ‘इन द स्याडो अफ प्रोगे्रस’, ‘तान्त्रिक विजडम मिट्स टेक’ आदि शीर्षकका काम छन् । यी दुई पुस्ताबिच कलाका पात्रको चयन पनि फरक छ, मोटिफहरू अलग–अलग छन् । प्रतीक र विम्बहरू पनि फरक ढंगबाट प्रयोग भएका छन् । पात्रहरूको सङ्गठनको ढाँचा पनि फरक देखिन्छन् । 

युवा कलाकारको कलामा कन्सेप्ट जोडिनुले पनि पृथक् पहिचानमा देखिएका छन् । प्रिन्ट मेकिङ कला गर्दा मात्र होइन कुनै पनि कला गर्दा आजका अधिकांश युवा कलाकारले कन्सेप्टलाई जोड दिएका हुन्छन् । आजका युवा कलाकारका लागि ‘आइडिया’ र ‘एक्सपेरियन्स’ कलासँग जोडिनु अपरिहार्यजस्तो भएको छ । आजका कलामा यो एक प्रकारको विशेषता जस्तै देखिएको छ । 

पाका कलाकारका ‘हिमाल’, ‘पञ्चबुद्ध’, ‘प्रकृति’, ‘रामायण’, ‘गणेश’ आदि चित्र छन् । नवयुवा कलाकारका ‘फ्लाई फ्री’, ‘इटरनल बिगेनिङ’, ‘इन द स्याडो अफ प्रोगे्रस’, ‘तान्त्रिक विजडम मिट्स टेक’ आदि शीर्षकका काम छन् । यी दुई पुस्ताबिच कलाका पात्रको चयन पनि फरक छ, मोटिफहरू अलग–अलग छन् ।

प्रिन्ट मेकिङका अनेकौँ माध्यम छन्— उडकट, इचिङ, इम्बोसिङ, इचिङ एक्वान्टिन्ट, लिनोकट, सर्फेस प्रिन्ट, लिथो, स्क्रिन प्रिन्ट, सिल्क स्क्रिन’ आदि । यी सबै प्रिन्ट मेकिङका अलग–अलग टेक्निक हुन् । हरेकजसो माध्यमका आ–आफ्नै प्रकारका सिर्जन प्रक्रिया हुने गर्छन् । विषय एकैजसो भए पनि कला पृथक् विशेषताका साथ देखापर्छन् । यसो हुँदा यस प्रदर्शनी विविधताले भरिएको महसुस गर्न सकिन्छ । 

यसपालि प्रदर्शित कति चित्रमा सामान्य विषयवस्तुलाई यथार्थ रूपमा उठाएको देखिन्छ भने कति स्वैरकाल्पनिक रूपमा वा अमूर्त रूपमा समेत देखिन्छन् । यसरी कति चित्र मात्र वस्तुको रूपमा देखापरेका छन् भने कति चित्र गहिरो भावना र विचारले ओतप्रोत समेत छन् ।  

  • प्रिन्ट मेकिङ कला 

प्रिन्ट मेकिङ कला काठ वा मेटल (जिङ्क प्लेट)मा चित्रहरू बनाई छाप्ने प्रक्रियामा बनेका हुन्छन् । यो एउटा आर्ट फर्मको रूपमा देखापर्छ । यसमा सामान्य वस्तुलाई पनि कलाकारले आर्टका रूपमा प्रस्तुत गर्ने प्रचलन छ । सामान्य वस्तु अनि यसैलाई आर्ट फर्ममा निर्माण गर्नु फरक कुरा हो । जसका लागि कलाकारले कल्पना र शिल्प दक्षता प्रयोग गर्छन् । यसैले त एउटै विषय, एउटै विधामा बनाउँदा पनि कलाकारैपिच्छे कला अलग–अलग रूपमा देखिन्छन्, देखिएका छन् । 

प्रिन्ट कलाको सिर्जन प्रक्रियामा टेम्लेट वा म्याट्रिक्स (गर्भकोष्ठ पनि भन्न सकिन्छ)मा रङ लगाई कागज वा कपडामा छापेर निकालिन्छ । जसका लागि विशेष प्रकारका औजार र केमिकलको प्रयोग गरिन्छन् । गर्भकोष्ठभित्र काठ, धातु, विशेष प्रकारका शिला आदि हुन्छन् । निश्चित समयसम्म वा निश्चित प्रति मात्र प्रिन्ट गरिन सक्ने यो विधामा कलाकारले कसरी र कति प्रिन्टसम्म हुबहु निकाल्न सक्छ, त्यसकै आधारमा कलाकारको दक्षता लेखाजोखा गरिन्छ । यसका लागि कलाकारमा प्रविधिको ज्ञान हुनुपर्छ, योसँगै शिल्प दक्षता हुनु अनिवार्य हुन्छ । 

प्रिन्ट कलाको सबै उपविधाका अलग–अलग नाम छन् । टेक्निक पनि अलग छन् र कला अलग–अलग रूपमा देखापर्छन् । 

काठलाई खोपेर इमेजलाई छाप्ने (उडकट) प्रचलन हामीकहाँ नयाँ भने होइन । अझ व्यावसायिक रूपमा समेत बनाउने प्रचलन अझ पुरानै हो । लोककला वा हस्तकलामा बढी मात्रामा यस्ता कला बनाउने प्रचलन उहिलेदेखि छ । सारी वा बेड कभरमा मूर्त वा अमूर्त बुट्टाहरूको रूपमा यस्ता कला बन्ने–बनाउने परम्पराले आज प्रशस्तै बजार पाएको देखिन्छ । यसबाहेक यसरी प्रिन्ट गरेर वा विभिन्न वस्तुमा स्क्रिन प्रिन्ट गरेर व्यवसाय चलाउनेहरु पनि छन् । 

birendra pratap singh

  • उपयोगी र सिर्जनात्मक कला 

उपयोग कलाका रूपमा पनि यस्ता कला बनाइन्छ । हस्तकलाका यस्ता कला त अझ ठुलो मात्रामा नेपालबाहिर निर्यात हुने गरेको छ । विभिन्न पहिरनमा काठमा ब्लक बनाई छाप्नेदेखि देवी–देवताका चित्र कागज, कपडा वा अन्य वस्तुमा पनि यसरी नै छापेर उपयोगी वा धार्मिक कला बनाइने गरिन्छ । यस्ता चित्र धार्मिक कार्य, संस्कार, जात्रामा प्रयोग पनि हुने गरेका छन् ।

यसपल्टको प्रिन्ट मेकिङ कला आधुनिक कलाका रूपमा बनेको हुँदा अलग प्रकारको देखिन्छ । जहाँ नयाँ–नौलो टेक्निकका साथ सिर्जनात्मक र भावनात्मक रूपमा कला बनेका छन् । यस्ता कलालाई उपयोगी कलाका रूपमा मात्र नलिई मन–मस्तिष्कलाई शान्त र आनन्दित पार्ने हिसाबमा पनि लिने गरिन्छ । यसलाई अर्को भाषामा ‘आर्ट थेरापी’ भन्ने चलन छ । यसै बेला ‘इन्टेरियर डेकोरेसन’का रूपमा पनि यसलाई प्रयोग गर्ने प्रचलन छ । शैलीगत रूपमा भने यसबखतका यस्ता चित्र कतै यथार्थवादी कलाका रूपमा अनि कतै अर्ध–अमूर्त वा अमूर्त रूपमा पनि बनेका देखिन्छन् । 

यस्ता प्रिन्ट कलाको आधुनिक रूप सर्वप्रथम कलाकार उर्मिला उपाध्यायले सन् ६० को दशकतिर पहिलोपल्ट प्रदर्शन गरेकी थिइन् । उनले लामो समयसम्म यस्तै कला बनाउन समय दिइनन् । यसपछि सिकेर आएका आधुनिक कलाले पनि प्रिन्ट मेकिङ कलालाई निरन्तर रूपमा यस विधामा काम गरेको देखिँदैन । यसर्थ यस्ता कला बनाउने क्रम सुस्त रह्यो । गतका दशकदेखि यसमा पुनः गति देखापर्न गई अहिले सयौँको मात्रामा यस्ता प्रिन्ट मेकिङ कला बन्ने गरेका छन् । कलाका स्कुल तथा कलेजमा यसका अलग्ग विधालाई कोर्समा समावेश गरेका कारण यस विधामा बगुन्द्रो कलाकार देखापरेका हुन् । चित्रकै उपविधाजस्तो देखिए पनि यो कला सिर्जना गर्न सहज छैन, जटिल प्रविधिगत प्रक्रियामा जानुपर्ने, लामो समय लाग्ने र बढी खर्च लाग्ने हुँदा यसमा निरन्तर रूपमा लागिपर्ने कलाकार भने कम देखिन्छ । 

sujita maharjansujita marjan

  • यो कला प्रदर्शनीमा चाहिँ 

यो कला प्रदर्शनीमा ४६ कलाकारका सुरुमा ९८ वटा चित्र राखिएको थियो । यसपल्ट मेलाको रूपमा प्रदर्शनी हुँदा बिक्रीहरु बढे र नयाँ–नयाँ चित्रहरु थपिए । 

यसपल्टको प्रिन्ट मेकिङ कला आधुनिक कलाका रूपमा बनेको हुँदा अलग प्रकारको देखिन्छ । जहाँ नयाँ–नौलो टेक्निकका साथ सिर्जनात्मक र भावनात्मक रूपमा कला बनेका छन् । यस्ता कलालाई उपयोगी कलाका रूपमा मात्र नलिई मन–मस्तिष्कलाई शान्त र आनन्दित पार्ने हिसाबमा पनि लिने गरिन्छ ।

विभिन्न माध्यममा ओपेक वा पारदर्शी जलरंग, तैलरंग वा एक्रेलिक आदि रङहरूबाट क्यानभास, कागज आदिमा हातैले (म्यानुअल्ली) बनाएका कला पनि यस प्रदर्शनीमा देखिए । यस्ता कला बनाउन कल्पना, सिर्जनशीलता, शिल्पका साथसाथै प्रविधिको पनि ज्ञान हुन आवश्यक छ । 

यसपल्टको कला प्रदर्शनीमा यसै विधामा निरन्तर लागिरहने वा कहिलेकाहीँ मात्र लाग्ने कलाकार पनि थिए । 

sangita ghimire

लोक चित्रकारका ‘पञ्चबुद्ध’ नामक चित्र र समुन्द्रमान सिंहका ‘नेचर’ नामक चित्र पनि यस प्रदर्शनीमा राखिएको थियो । जसको सिर्जनामा ‘इचिङ टेक्निक’को प्रयोग गरिएको छ । यी दुवै कलाकार परम्परागत पौभा चित्रका हस्तीका रूपमा मानिन्छन् । यसै गरी मिथिला देवी यादवको ‘किङ सलेस’ र एससी सुमनका ‘देवी सरस्वती’ नामक चित्र पनि इचिङमै बनेका देखिन्छन् । यी दुवै मिथिला लोक चित्रकार हुन् । 

पाँच दशकभन्दा बढी समयसम्म तैल वा एक्रेलिक माध्यममा क्यानभासमा अमूर्त चित्र बनाइराख्ने अमूर्त चित्रकार कृष्ण मानन्धरको ‘हिमाल’ नामक चित्र इचिङमै बनेको छ । यस्तै प्रकारले ६ दशकदेखि स्वैरकाल्पनिक चित्र बनाउँदै आएका चित्रकार शशि शाहका प्रिन्ट मेकिङ कला यस प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ । उनले तैल रङ वा इक्रेलिक रङबाट लोकगाथाको पृष्ठभूमिमाथि आराध्य देवी–देवतालाई प्रयोग गरी चित्र बनाउने गर्छन् । 

कृष्ण मानन्धरकै समकालीन चित्रकार वत्सगोपाल वैद्यका इचिङबाट बनेका ‘शुभ मंगल गणेश’का चित्र पनि यो कला प्रदर्शनीमा राखिएको थियो । तैल वा एक्रेलिक माध्यमलाई बढी मात्रामा प्रयोग गर्ने यी कलाकार पनि एकताका प्रिन्ट कला (इम्बोज टेक्निकबाट) प्रशस्तै रूपमा गर्थे । 

वैकल्पित कलाकारका रूपमा यथेष्ट नाम कमाइसकेका सुनील सिग्देल र सुभास तामाङको काम पनि यसपालि प्रदर्शनमा राखिएको थियो । सुनीलको ‘पोलिटिकल ब्युटी’ नामक चित्र इचिङका माध्यममा देखापरेको छ । सुभासले ‘सेरिग्राफ टेक्निक’लाई प्रयोग गरेका छन् । 

यसैगरी वीरेन्द्र प्रतापसिंह, आशा डंगोल, सुदर्शन राणा, सुनिता राणा आदि कलाकार समसामयिक कलाकारका रूपमा राम्रै नाम कमाइसकेका हुन् । यी कलाकारका चित्र पनि यहाँ देख्न सकिन्छ । 

lok chitrakar

नवयुवा कलाकारलाई प्रोत्साहन दिने उद्देश्यले प्रिन्ट मेकिङ नेपालको आयोजनामा गरिएको यस प्रदर्शनीमा तीनदेखि पाँच हजार रुपैयाँसम्मका चित्र प्रशस्तै राखिएका थिए । 

स्थापित कलाकार शशिविक्रम शाह, लोक चित्रकार, समुद्रमान सिंह, वत्सगोपाल वैद्य, उमा शंकर साह, सीमा साह आदिको कलाकोे मूल्य पनि २०–२५ हजार रुपैयाँभन्दा बढी छैन । शशि शाहको चित्रको मूल्य त ३५ हजार रुपैयाँ मात्र राखिएको छ । यो एकदमै कम मूल्य हो ।

rabita kcuma sankar shah

प्रिन्ट मेकिङ कलामा निरन्तर काम गरिरहेका कलाकारमा सीमा शाह, उमाशंकर शाह, शुष्मा शाक्य, विद्यामान तामाङ, रविता केसी, रुकमणि श्रेष्ठ, सम्झना राजभण्डारी, शौरगंगा दर्शनधारी, सुजिता महर्जन, तिशा श्रेष्ठ, टिकादत्त दाहाल आदिका काम उम्दा रूपमा देखिन्छन् । 

टीकाको काम अलग्ग संयोजनमा देखिन्छ । उनको काममा देवी–देवता संवादका क्रममा देखिन्छन् भने प्राचीन अक्षरहरू छरपस्टिएर तह–तहमा बसेको परिदृश्य पनि गजबले संयोजन भएको छ । ‘कृष्ण विथ गोपिनी’ नामक उनको चित्र हुने गरेको धार्मिक संयोजनभन्दा सर्वथा पृथक् देखिन्छ । 

‘लोककथा’ नामक उमा शंकरको कलामा लोककथामा वणर््िात मैथिली पात्र देखिन्छन् । यसमा माछा, हात्ती कमलको फूल आदि प्रतीकात्मक विम्बका रूपमा आउका छन् । उनका चित्रमा परम्परागत बुट्टा आदि–इत्यादि शृंगारका रूपमा सँगालेर अब्बल रङ संयोजन गरिएको छ । उनले बनाएको राम–सीता स्वयम्बरको घतलाग्दो चित्र पनि प्रदर्शनीमा राखिएको थियो । युद्धदेखि बिहेको जन्त अनि जानकी मन्दिरको दृश्य समावेश हुँदा यो चित्र आफैँ अलौकिक देखिन्छ । 

सीमा शाहको ‘शुभलाभ’ अर्को लोभलाग्दो चित्र हो । जसमा देव गणेशलाई बडो मिठासका साथ प्रस्तुत गरिएको छ । शुष्माको ‘एम्पी महाविहार रेसिडेन्स अफ पद्मशम्भव’को चित्र अर्को महत्त्वपूर्ण चित्र हो । 

sima shahsushma shakyatika dahal

यस प्रदर्शनीमा राखिएका चित्रमा पारम्परिक बुट्टाहरूदेखि बिहार अनि रञ्जना लिपि समेतलाई सुन्दर ढंगले समायोजन गरिएको छ । संगीता घिमिरेको ‘ह्यापिनेस’ नामक फूलहरूको संयोजन गरेर बनाइएको चित्र र शौर गंगाको अति आकर्षक कामहरू यहाँ प्रदर्शित भएका छन् । विपना महर्जनको भैरव, रुकमणिको ‘लस्ट ट्रेडिसन’, डेभिडको ‘वल्ड साइकल’ सुनिताको ‘समर’ आदि चित्र प्रदर्शनमा  राखिएका थिए । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप

छुटाउनुभयो कि ?