‘युवाहरूलाई उद्यममा आकर्षित गर्न राज्यको प्रयास पुगेन’
सुर्खेत । युवा उद्यमीहरूले युवाहरूलाई बिदेसिनबाट रोक्न राज्यले उद्यम विकासमा जोड दिनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवको दोस्रो दिन शनिवार प्यानल छलफलका वक्ताहरूले राज्यले युवालाई उद्यम क्षेत्रमा आकर्षित गराउन नसकेको धारणा राखे ।
विनीता बोगटीले सहजीकरण गरेको ‘कर्णालीका युवा: उद्यमी र सृजनशील युवा’ सत्रमा युवा उद्यमीहरू पोषणराज रेग्मी, राजेन्द्र विष्ट, कल्पना विष्ट, लक्ष्मी भट्टराई र आकाशदीप श्रेष्ठ प्यानलिष्ट थिए । उनीहरूले राज्यले युवा उद्यमशीलता उन्मुख नीति ल्याएर विदेश जानबाट रोक्नुपर्ने बताए ।
वीरेन्द्रनगरमा रेस्टुरेन्ट सञ्चालन गरी स्थानीय युवाहरूलाई रोजगारी दिएका पोषणले युवालाई बिदेसिनबाट रोक्न राज्यले उद्यम सहजीकरण नीति ल्याउनुपर्नेमा जोड दिए । ‘नेपालमा अहिले सहजै सुरु गर्न सकिने र स्थापित हुन सकिने उद्यम पर्यटन भएकाले यसतर्फ राज्यले युवाहरूलाई प्रेरित गर्नुपर्छ,’ उनले भने, ‘नेपालको भौगोलिक सुन्दरताले नै पर्यटन व्यवसाय गर्नेहरू स्थापित हुन सक्छन्, यसका लागि सरकारले नीतिगत रूपमा सहजीकरण गर्नु जरुरी छ ।’
अर्का वक्ता युवा वैज्ञानिक राजेन्द्रले पोषणकै भनाइमा सहमत जनाउँदै युवाहरूलाई विदेश जानेभन्दा उद्यममा प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले आफूले सुरु गरेको व्यवसाय पनि अरू युवाहरूलाई प्रेरित गर्नका लागि भएको बताए ।
नवप्रवर्तनका क्षेत्रमा उनी कर्णालीकै ख्यातिप्राप्त युवामा पर्दछन् । राज्यले बनाएको नीति पूर्ण कार्यान्वयन नहुनुजस्ता कारणले नेपालमा साना लगानीमा उद्यम गर्न चुनौती रहेको उनको भनाई थियो । ‘नेपालमा व्यवसाय गर्न चुनौती छन्, राज्यबाटै दिनुपर्ने सुविधा नपाउँदा नै उद्यममा लाग्न चुनौती छ,’ राजेन्द्रले भने, ‘भौतिक पूर्वाधार कमजोर हुँदा पनि उद्यम गर्न चुनौती छँदैछ, हाम्रो सन्दर्भमा त सीप भएका युवाहरु समेत उद्यमशीलतामा आकर्षित भएको पाइँदैन ।’
उद्यमी कल्पनाले उद्यमशील बन्न चाहने युवाहरूले आफ्नै क्षेत्रबाट सुरु गर्नुपर्ने बताइन् । अर्का उद्यमी लक्ष्मीले बहुउद्देश्यीय उद्यम गर्न चाहनेलाई प्रदेश र स्थानीय सरकारले विशेष सुविधा दिनुपर्ने धारणा राख्दै भनिन्, ‘युवाहरूलाई उद्यमतर्फ प्रेरित गर्न प्रदेश तथा स्थानीय सरकारले अनुदानसँगै बजारीकरणमा सहजीकरण गर्नुपर्छ ।’ लक्ष्मीले वीरेन्द्रनगरमा बेत तथा बाँसबाट फर्निचर तथा भवन डेकोरिङका सामानहरूको उत्पादन र बजारीकरण गर्दै आएकी छिन् ।
नबिल बैंकका कर्णाली प्रदेश प्रमुख आकाशदीप श्रेष्ठले बैंकले केही गर्छु भन्ने युवाहरूका लागि उद्यमशीलता र नव प्रर्वतनसम्बन्धी व्यवसायका लागि ऋण प्रवाह गर्ने बताए । कर्णाली युवा महोत्सव परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रवारदेखि वीरेन्द्रनगरमा सञ्चालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, युरो, पाउन्ड स्टर्लिङ र सिङ्गापुर डलरको मूल्य बढ्यो
-
खराब लयबाट बाहिर निस्कँदै म्यान्चेस्टर युनाइटेड
-
ला लिगामा बार्सिलोनाको गोल वर्षा, भ्यालेन्सिया ७-१ ले स्तब्ध
-
अब स्वास्थ्य बीमा रकम पाँच लाख
-
दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण, २२ जना मारिए, १२४ जना घाइते
-
ला लिगामा गेटाफे र रायो भायकानोलाई सफलता