सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय
रंगमञ्च बहस

के गर्दै छ, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले ?

भारतको नेसनल स्कुल अफ ड्रामाको च्याप्टर नेपाल ल्याइने
शनिबार, १२ माघ २०८१, १७ : ००
शनिबार, १२ माघ २०८१

म कुलपति भएर आइसकेपछि विशेषतः नाटकको क्षेत्रमा बजेट अभावका कारण प्रशस्त काम गर्न सकिएको छैन । नाटकका कार्यशाला ठाउँठाउँमा गर्दै आएका छौँ । यस्तै संगीत र नृत्य विधाका कार्यशाला र अनुसन्धान पनि हुँदै आएका छन् । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रंगमञ्चलाई दुई विभाग (नाटक र रंगमञ्च) मा बाँडेर काम गरिएको छ । यसअघि म प्राज्ञपरिषद् सदस्य रंगमञ्च विभागमा म संयोजक थिएँ । अहिले पनि मैले रंगमञ्च विभाग हेर्छु । नाट्यविधा हिसन बी. मगरले हेर्नुहुन्छ । यी दुवै विधामा मञ्चन पनि पर्छन् । खासगरी नाटक लेखन र मञ्चदेखि बाहिरको काम (ध्वनि, प्रकाश आदि) कामलाई नाटक विभागले हेर्छ, यसमा अनुसन्धान पनि गर्छ । यस्तै मञ्चमा अभिनयसँग जोडिएको विषय रंगमञ्च विभागसँग सम्बन्धित छ । 

रंगमञ्च विभाग अन्तर्गतको कार्यशालामा संवाद, ध्वनि, संगीत, प्रकाश आदिको प्रयोग गर्न र अभिनय गर्न सिकाइन्छ । यस्ता कार्यशालाले रंगमञ्चबारे बुझाउँछ, रंगकर्मी जन्माउँछ । 

हामीकहाँ संस्कृतिलाई गम्भीरतापूर्वक लिइएको छैन । पर्यटन भित्र्याउने भनेर हामी (संगीत तथा नाट्य प्रतिष्ठान)लाई पर्यटन र उड्ययनसँग जोडिएको छ । संगीत तथा नाटक भनेका संस्कृति हुन् । वास्तवमा संस्कृति बलियो भयो भने पर्यटन बलियो हुन्छ, पर्यटक भित्रिएपछि नै उड्ययन बलियो हुने हो । तर हामीलाई बजेट दिँदा अफिस चलाउन पुग्ने मात्रै दिइन्छ । हामीसँग सातवटा विभाग छन्, तिनले खर्च गर्ने रकम एक करोड पनि छैन । एउटा कार्यशाला चलाउन एक लाख रुपैयाँ दिइएको हुन्छ, त्यसमा ट्याक्स कटाएर ८०–८५ हजार रुपैयाँ हुन्छ, त्यति पैसाले कसरी कार्यशाला चलाउने ? त्यसमाथि रंगमञ्च विधा अलि महँगो छ । यसमा टिमवर्क हुन्छ, केही समय अभ्यास र तयारी गर्नुपर्ने हुन्छ ।  

एउटा अन्तर्राष्ट्रिय नाट्य फेस्टिभल गर्न कम्तीमा दुई करोड रुपैयाँ लाग्छ । अहिले हाम्रो बजेट ५ करोड ४३ लाख रुपैयाँ छ । चार करोड जति त कार्यालय सञ्चालनमै खर्च हुन्छ । हाम्रो बजेट १० करोड भएर कमसे कम पाँच करोड खर्च गर्न पाउने हो भने केही खास काम गर्न सकिन्थ्यो । 

पहिलो कुरा त, हाम्रो प्रेक्षालय छैन । हाम्रो प्रेक्षालय हुने हो भने धेरै कार्यशाला र तालिम यहीँ सञ्चालन गर्न सकिन्छ । गत साल प्रेक्षालयको डीपीआर तयार गर्ने बारेमा काठमाडौँका मेयर बालेन शाहसँग कुरा भएको थियो । उहाँहरूले एउटा डिजाइन त हामीलाई दिनुभएको छ, जसमा तीनवटा ब्लक बनाउने कुरा छ । तर अझैसम्म डीपीआर बनेको छैन । 

  • ‘नेपाल–भारत रंंग महोत्सव’ 

म प्राज्ञ परिषद् भएकै बेलादेखि भारतको ‘नेसनल स्कुल अफ् ड्रामा’ (एनएसडी) सँग मिलेर रंगमञ्चका क्षेत्रमा केही गर्ने कुरा उठेको थियो तर बजेटको अभावले त्यसमा केही हुन सकेको थिएन । अहिले म कुलपति भइसकेपछि एनएसडीसँग रंगमञ्चका केही गतिविधिमा सहकार्य गर्ने योजना अघि बढेको छ । 

भारतमा रंग महोत्सव भइरहन्छ । सुनील पोखरेल (वरिष्ठ रंगकर्मी तथा निशा शर्माका श्रीमान्)ले एनएसडीमा पढेर आएकाले पनि हामीले ती महोत्सवमा नाटक लिएर जान्थ्यौँ । 


पछिल्लो समय हामीकहाँ प्रदेशमा र पालिका–पालिकामा प्रज्ञा प्रतिष्ठान खोल्न थालिएको छ । पोहोरसम्म यसरी खुलेका प्रज्ञा प्रतिष्ठान देशभर ३४ वटा थिए, यसपालि ४७ वटा पुगेछन् । उहाँहरूले के गर्ने भन्ने अन्योल छ । कहाँ, के–कसरी प्रज्ञा–प्रतिष्ठान खुल्दै छन् भन्ने हामी केन्द्रलाई केही अत्तोपत्तो छैन, हामीलाई जानकारी आउँदैन । यस्ता प्रज्ञा–प्रतिष्ठानले आफ्नो क्षेत्रमा अनुसन्धानका धेरै काम गर्न सक्छन् ।


यसपालि भारत रंग महोत्सव भारतदेखि अन्य देशमा पनि जान खोजेको रहेछ । मैले उहाँहरूसँग सम्पर्क गर्दा यसपालिको महोत्सवमा एक ढंगले सहकार्य गर्ने कुरा भयो । प्रज्ञा–प्रतिष्ठानले यस वर्ष ‘एनएसडी’सँगको सहकार्यमा नेपालमा एकहप्ते नाटक फेस्टिभलको (यही माघ २३ गतेदेखि ३० गतेसम्म) आयोजना गर्न लागेको छ । यस फेस्टिभलमा नेपालका तीन र भारतका तीन गरी ६ नाटकको मञ्चन गरिनेछ । यस फेस्टिभलका लागि नेपालबाट पहिले नै दुईवटा नाटक छानिएका रहेछन्— दिया मास्केको ‘कथा कस्तुरी’ र नम्रता केसीको ‘जून’ । योसँगै हामीले उत्पादन गरेको नाटक ‘गच्छामि’ (निर्देशक : सुनील पोखरेल, सहनिर्देशक वीरेन्द्र हमाल)लाई महोत्सवमा देखाइनेछ । यस कार्यक्रममा भारतको संस्कृति मन्त्रालयका प्रतिनिधिहरू, एनएसडीका उपाध्यक्ष, निर्देशक लगायत प्रतिनिधिहरू र भारतीय पत्रकारहरू आउने कुरा छ । यो उनीहरूकै फेस्टिभल हो तर हामीले आयोजना गर्दैै छौँ । यसको नाम पनि हामीले ‘नेपाल–भारत रंंग महोत्सव’ राखेका छौँ । 

  • ‘एनएसडी च्याप्टर’

अर्को कुरा, हामीकहाँ नाटकको स्कुल छैन । निजी तथा सरकारी संस्थाले तालिम दिएर सर्टिफिकेट दिए पनि युनिर्भसिटीको मान्यताजस्तो हुँदैन । हिजो हामीले गुरुकुलमा नाटक पढाएर सर्टिफिकेट त दिन्थ्यौँ तर त्यसको भ्यालिड थिएन । त्यसैले एनएसडीको एउटा शाखा नेपालमा ल्याउने पहल हामीले गरेका छौँ । यसबारे मैले कुरा गर्दा मन्त्रीज्यू उत्साहित हुनुभएको छ तर हामीसँग बजेट छैन । यही बिचमा भारतीय राजदूतसँग कुरा गर्ने अवसर जुर्‍यो, उहाँले १० लाख दिने भन्नुभएको छ । मन्त्रीज्यूले सम्बन्धित निकायसँग कुरा गर्छु भन्नुभएको छ । यो बिचमा मलाई भारतको दिल्लीस्थित संस्कृति मन्त्रालयले बोलायो । एनएसडीको च्याप्टर अन्य देशमा लैजान उहाँहरूले पनि अनुमति लिनुपर्ने रहेछ । एनएसडी भारतको संस्कृति मन्त्रालय अन्तर्गत पर्छ । उहाँहरूले एनएसडीको च्याप्टर नेपाल ल्याउने कुरामा एउटा ‘एमओयू’ बनाउन भन्नुभएको छ । अहिले नेपालस्थित भारतीय दूतावासमा एमओयू पुगेको छ । भोलि राजनीतिक रुपमा कुनै अप्ठेरो नपरोस् भनेर यसमा दूतावास जोडिन आवश्यक छ । 

एनएसडी च्याप्टर सञ्चालनका लागि यहाँ हामीले पनि ‘एफिलियसन’ लिर्नैपर्छ । यसलाई कसरी सञ्चालन गर्न सकिन्छ भनेर हामीले दुईवटा सिलेबस मगाएका छौँ— एक वर्षीय र दुई वर्षीय । यहाँ एनएसडीको च्याप्टर राख्न भवन हामीले उपलब्ध गराउने, नेपालकै एकजना डाइरेक्टर राख्ने र आवश्यक शिक्षकहरू पनि उताबाट उहाँहरूले पठाउने कुरा भएको छ । यहाँका योग्यता पुगेका शिक्षकले पढाउने कुरा त छँदै छ । एनएसडीको च्याप्टर भारतका अन्य स्थानमा पनि छन् । नेपालमा पनि भयो भने हाम्रा विद्यार्थीलाई सहज हुनेछ । 

अर्को कुरा भारतको ‘संगीत नाटक एकादेमी’का प्रतिनिधिले हामी (नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान)सँग जोडिने कुरा गर्नुभएको छ । जोडिने भनेको सांस्कृतिक कार्यक्रमको आदान–प्रदान नै हो । 

  • ‘कल्चरल म्याप’

कुलपति हुँदा नै मैले मन्त्रीज्यूलाई एउटा ‘कल्चरल म्याप’ बनाउने प्रस्ताव गरेकी थिएँ । अहिलेसम्म हाम्रो ‘कल्चरल म्यापिङ’ भएको छैन । यो भयो भने कहाँ के–कस्ता संस्कृति छन् भनेर हेर्न सहज हुन्छ । यो काम हामीले एउटा प्रदेशबाट सुरु गर्न सक्छौँ । यसका लागि विभिन्न निकायले सहकार्य गर्न सकिन्छ । 

यस्तै, संस्कृतिसम्बन्धी रिसर्च गर्नका लागि एउटा रिसर्च सेन्टर पनि हामीलाई आवश्यक छ । हाम्रा कतिपय संस्कृति त्यसै हराएर जाँदै छ, तिनको जगेर्ना गर्न पहिले खोज–अनुसन्धान गर्नुपर्नेछ । अर्कोतिर बाबुले सारंगी बजाए तर कहिल्यै आर्थिक उत्थान भएन, यो देखेपछि छोराले सारंगी समाउँदैन, यसतर्फ पनि राज्यले ध्यान पुर्‍याउनुपर्नेछ । अन्यथा हाम्रा यस्तायस्तै कतिपय संस्कृति हराएर जानेछन् । 

हामीकहाँ ‘एथ्निक’मा पीएचडी गर्ने एकजना हुनुहुन्छ, लोचन रिजाल । कम्तीमा हामीकहाँ संस्कृतिका विविध विधामा पीएचडी गराउन सक्यौँ भने धेरै खोज–अनुसन्धान हुन्छ । र उहाँहरूले अरु खोजकर्ता तयार गर्नुहुन्छ । यस्ता अनुसन्धानमा लागेकालाई छात्रवृत्ति उपलब्ध गराउन सकिन्छ ।  

पछिल्लो समय हामीकहाँ प्रदेशमा र पालिका–पालिकामा प्रज्ञा प्रतिष्ठान खोल्न थालिएको छ । पोहोरसम्म यसरी खुलेका प्रज्ञा प्रतिष्ठान देशभर ३४ वटा थिए, यसपालि ४७ वटा पुगेछन् । उहाँहरूले के गर्ने भन्ने अन्योल छ । कहाँ, के–कसरी प्रज्ञा–प्रतिष्ठान खुल्दै छन् भन्ने हामी केन्द्रलाई केही अत्तोपत्तो छैन, हामीलाई जानकारी आउँदैन । यस्ता प्रज्ञा–प्रतिष्ठानले आफ्नो क्षेत्रमा अनुसन्धानका धेरै काम गर्न सक्छन् । त्यसो भयो भने हराउन लागेका विविध संस्कृतिको जर्गेना गर्न सकिन्छ र देशैभरिका विविध संस्कृतिलाई कल्चरल म्यापमा समेट्न सकिन्छ । कसैलाई हुम्लाको संस्कृतिबारे बुझ्ने चाहना भयो भने उसले म्यापमा हेर्न सक्छ जसमा भिडियो, अडियो, फोटो, टेक्स्ट आदिमा जानकारी राख्न सकिन्छ ।    

देशभित्रैको कला–संस्कृतिको आदानप्रदानका लागि पनि काम गर्ने हाम्रो योजना छ । हामीभित्रै पनि पूर्वको कला पश्चिमलाई र पश्चिमको कला पूर्वलाई थाहा नभएको अवस्था छ । त्यसैले लोक नाटक, लोककथा, लोकगीत आदिका माध्यमबाट संस्कृतिको आदान–प्रदान गर्न सकिन्छ । 

हो, यी सबै कामका लागि हाम्रो एउटा नाटक स्कुल हुन आवश्यक छ । यसका लागि पहिले त भवन चाहियो, बजेट चाहियो । हामीले यसबारे नसोचेको होइन । जस्तो : लुम्बिनी बौद्ध विश्वविद्यालय छ, त्यसमा एउटा ड्रामा फ्याकल्टी राख्न सकिन्छ । त्यो फ्याकल्टीलाई काठमाडौँमा राखेर संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सञ्चालन गर्न सक्छ । हामीले यसबारे पहल गरेका हौँ, त्यहाँको रजिस्ट्रारले हिम्मत गर्न सक्नुभएको छैन । 

अहिले डा. अर्जुन कार्कीहरूले एउटा युनिभर्सिटी खोल्दै छन् । उहाँहरूसँग पनि जोडिएर एउटा नाटक स्कुल खोल्न सकिन्छ कि भन्ने छ । एकेडेमीले एउटा छुट्टै नाटक स्कुल खोल्न सहज हुँदैन, यसका लागि कसै न कसैसँग मिलेर अगाडि बढ्नुपर्छ । हामीले सम्भव भएसम्मका निकायसँग कुरा गरिरहेका छौँ ।

अर्को कुरा, सबैको आफ्नो संघ छ तर नाटकको कुनै संघ छैन । यसको एउटा संघ हुनुपर्ने रहेछ । त्यसो भयो भने के कस्ता रंगकर्मी छन् भन्ने लगायत विविध तथ्यांक राख्न सकिन्छ । रंगकर्मीको हकहितमा काम गर्ने वातावरण बन्छ । 

(नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति पोखरेलसँग राटोपाटीकर्मी ध्रुवसत्य परियारले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निशा शर्मा पोखरेल
निशा शर्मा पोखरेल
लेखकबाट थप