हिमपात र शीतलहरको प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शीतलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका जिल्लाहरूमा भइरहेको शीतलहर र हिमाली जिल्लाहरूमा भइरहेको अत्यधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरूमा शीतलहर र हिमाली जिल्लाहरूमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताए । हिमपात र शीतलहरका कारण चिसोबाट प्रभावित हुने जनसङ्ख्या उल्लेख्य रहेको उनको भनाई थियो ।
उनले चिसोबाट नागरिकहरूलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको बताए । शीतलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरू गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिए ।
उनले यसअघि नै प्राधिकरणले कार्ययोजना बनाएर सबै जिल्लाहरूमा परिपत्र गरिसकेको जिकिर गरे । महिला, बालबालिका, सीमान्तकृत सङ्कटापन्न समुदायका लागि न्यानो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरू भइरहेको उनको भनाई थियो । ।
उनले भने, ‘महिला, बालबालिका, सीमान्तकृत सङ्कटापन्न समुदायका लागि न्यानो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कुराहरू विगतदेखि नै पालिकाहरूबाट पनि र जिल्ला विपद् व्यवस्थापन समितिबाट पनि हुँदै आएको छ । यस वर्ष पनि त्यस भन्दा अझ प्रभावकारी रूपले काम गर्न सकिन्छ । यसबाट पर्न सक्ने नकारात्मक असरलाई कसरी न्यूनीकरण गर्ने भनेर उहाँहरूले आफ्नो तयारी गरिरहनुभएको अवस्था छ । अस्पतालमा यस बेलामा निमोनिया, दम, खोकी लगायतका रोगहरू बढ्न सक्ने भएकाले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले पनि अस्पताललाई पूर्वतयारी अवस्थामा रहन निर्देशन गरेको हुन्छ । विभिन्न सञ्चारमाध्यमबाट हामीले सूचना पनि जारी गर्ने गरेका छौँ । जोखिमबाट अनपेक्षित घटना हुन नदिन चाहिने राहत सामग्री वा न्यानो कपडा लगायतका कुराहरू जिल्ला विपद् व्यवस्थापन समितिले जिल्ला विपद् व्यवस्थापन कोषबाट पनि खरिद गरेर वितरण गर्न सक्ने अवस्था छ । प्रत्येक वर्ष जस्तो अत्यधिक हिमपात, शीतलहर, आगलागीका घटना पनि प्रारम्भ भएको छ । परिवारले अपनाउनुपर्ने सावधानीका कुराहरू अपनाउन आग्रह गर्दछौँ । यात्रा गर्दा तीव्र गतिमा सवारी नचलाउन अनुरोध गर्दछौँ । जोखिम घटाउने काम व्यक्ति र परिवारको हो । जति सावधानी अपनाउन सकिन्छ, त्यति नै जोखिम कम हुन्छ ।’
विगत केही दिनदेखि कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु/कुहिरो लागेको छ । मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) र कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीत लहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरूको दैनिक जीवनमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए