लेखक, लेखन–धर्म र शब्द–सङ्ग्राम
लेखनको आनन्द र दुःखबारे यदाकदा गरिने चर्चा प्रायः छिपछिपे, अति सरलीकृत, आत्मकेन्द्रीत र कुण्ठाग्रस्त प्रतीत हुन्छ । लेखनजगत्मा एकथरी अथक गनगने छन् । यी गनगने रुन्चे स्वरमा भन्छन्— मैले राष्ट्रलाई सर्वस्व दिएँ, राष्ट्रले मलाई के दियो ? राष्ट्रका लागि म जिउँदो शहीदसरह भएँ, राष्ट्रले मलाई उपेक्षा सिबाय के दियो ? यिनका गनगनका कथामा लुकेका व्यथा कहीँ टुङ्गिदैनन् । आलोचनाशील र सिर्जनशील लेखन कसैको खटनमा गरिने ज्यालादारी कर्म होइन ? यो आफ्नै विवेकले राजेको कर्म हो भने फल पाइनँ भनी रुनु किन ? यी जो रोइरहेछन्, भीक्षाबाट पाइने आनन्दको तृष्णाले यिनका आत्मा जलेका छन् । यिनको लेखनको दुःख लेखेर केही नपाउनुमा छ । रुग्ण मनोरचना, दुर्बल चरित्र र कुण्ठाग्रत प्रलापयुक्त यी दुःखी आत्मपीडक हुन् । यी आफैँ मनचिन्ते पीडाको सिर्जना गर्छन् र त्यही पीडामा डेबेर गनगन गदै रातोदिन रुन्छन् ।
ठिक छ, यिनलाई धित मर्नेगरी गनगन गर्न र रुन छाडिदिऊँ ।
०००
‘स्वान्त सुखाय’मार्गी लेखन यहाँ मेरो चाखको विषय होइन । जो केवल ‘स्वान्त सुखाय’ लेख्छ, ऊ जीवनको सुरक्षित क्षेत्रमै विचरण गर्न रमाउँछ । आफ्नो चर्मरक्षाप्रति ऊ सतत सचेत रहन्छ । लेख्नुको ध्येय नै फगत निजी सुख प्राप्त गर्नु छ त बित्थामा चिलिमाग्न अरिङ्गालको गोलोमा ढुङ्गा हान्नु किन ? तर, जो जगत्का प्रियजनहरूकोे सुख–दुःख, समाज व्यवस्थाको चरित्र, मूल्यप्रणालीको प्रकृति र वृहत्तर समाजबारे चिन्तन र चिन्ता गर्छ, र जो व्यक्तिगत एवं सामूहिक यत्नद्वारा जीवन जिउन लायकको होला भनी विश्वास गर्छ, ऊ शब्दका माध्यमले तानाशाहसँग आँखा जुधाउन आँट गर्छ । निषेधका लछुमनरेखाहरू नाघ्न ऊ तम्सिन्छ । आफ्नो कर्मले निम्त्याउने जोखिमहरूलाई झेल्न ऊ तयार हुन्छ । आलोचनाशील र सिर्जनशील लेखन सदैव कठिन कर्म हो । मेरो विचारमा लेखनको आनन्द र दुःख यही कठिन कर्मको वृक्षमा लाग्ने जुम्ल्याहा फल हुन् ।
लेखक यथार्थको उत्खनन र अन्वेषण गर्दै जब अभिव्यक्तिको स्वप्नशील मोर्चामा डट्छ, उसका अघिल्तिर तरबार बोकेर तानाशाह उपस्थित हुन्छ । त्यो जङ्गी पोसाकमा हुन सक्छ वा निजामती पोसाकमा । त्यसले शिरमा श्रीपेच लगाएको हुनसक्छ अथबा टोपी । त्यो दृश्यमान् हुनसक्छ वा अदृश्य । त्यो घोषित हुनसक्छ वा अघोषित । उपस्थितिको रूप र भङ्गिमा जस्तोसुकै होस्, जहाँ आलोचनाशील, स्वप्नशील र सिर्जनशील शब्दलहर क्रियाशील हुन्छ, त्यहाँ तानाशाहको तरबार उपस्थित नभई छाड्दैन । त्यो तरबार सेन्सरसिपको अस्त्र हो । त्यस्तो सेन्सरसिप जो प्रश्न, सन्देह, तर्क, विमति र विद्रोहको भले सधैँ स्वतन्त्र चेतनाको गलो रेट्ने तरबार उजाएर भष्मासुर मुद्रामा प्रस्तुत हुन्छ ।
सुरक्षा चेकका नाउँमा यात्रुलाई वाहनबाट बलात् सडकमा झारेर दुई डोरीको बिचमा भेडा–च्याङ्ग्रालाई झैँ लुखुरलुखुर हिँडाइँदाका सम्झनाहरू । सङ्गीनसामु झोला खोतलखातल र खल्ती छामछाम–छुमछुमको ताण्डवनृत्य गरिँदाका सम्झनाहरू ।
जङ्गी शासनको जङ्गी सेन्सरशीप हुङ्कारमय हुकुमी भाषामा बोल्छ । त्यो प्रत्यक्ष देखिन्छ, त्यो टड्कारै सुनिन्छ । तानाशाहको उन्मादी खटनमा सम्पादकको टेबुलमा ज्यानमारा राइफल तेर्सिन्छ । राइफलधारी अरौटे टेबुलमाथि बुटधारी खुट्टा पसारेर बस्छ । टेबुलभरि यो माथिको आदेश हो, यसो नलेख्नु, उसो नछाप्नु, नत्र... जस्ता ध्वाँसयुक्त गर्जनहरूको बिस्कुन लाग्छ । लौहअस्त्रको घातक छायामा परी सातो उडेको सम्पादक हात बाँधेर टुलुटुलु हेरिबस्छ, सम्पादकको काम सन्काहा तानाशाहको राइफलले फत्ते गर्छ । अटेर गरी तानाशाहलाई प्रश्न गर्ने शब्दकर्मी पक्राउ पर्छ, कुटिन्छ, थुनिन्छ, बेपत्ता पारिन्छ वा मारिन्छ । यो सब देखिन्छ, सुनिन्छ वा परिस्थितिको नाडी छामेर चाल पाइन्छ ।
मेरो स्मृतिपटमा ज्ञानेन्द्रीय तानाशाहीकालका कटु एवं क्लेशकारक सम्झनाहरूको लस्कर लामै छ ।
गोर्खे राजतन्त्रको अवसानसँगै शाही सैन्यावद पृष्ठभूमिमा धकेलियो । तथापि निकट अतीतका कटु एवं क्लेशकारक सम्झनाले मलाई नित्य झस्काइरहन्छन् । ती सम्झना प्याजको गेडोमा झैँ पत्रमाथि पत्र भएर मेरो घायल मानसमा टाँसिएका छन् । यथार्थका झल्काले स्मरण गराउने ती अप्रिय घटनाले मलाई नित्य झस्काइरहन्छन् ।
एकाबिहानै सडकमा सैनिक र प्रहरी जवानहरू तरुनी फकाउने गीतको बोलमा चर्को स्वरमा हल्ला गर्दै नसा तन्काउन कुदेका जब देख्छु, म झस्किन्छु । सडकमा भयका तरङ्ग छर्दै सैनिक गाडी हुइँकिएका जब देख्छु, म झस्किन्छु । टोपीधारी शासक राइफलको बलले सिङ्गै सडक कब्जा गरी नागरिक संवेदनामा आतङ्कमय भाव जगाउने साइरन बजाउँदै राजसी मार्काका सवारीमा निस्केका जब देख्छु, म झस्किन्छु ।
तानाशाही हिंस्रक चितुवाजस्तै हो । यसको झम्टाइका क्रूर सम्झना छिटै र सजिलै विस्मृतिमा ओझेल पदैनन्् । यी आलोचनात्मक विवेकमाथि बज्राघात गर्ने सम्झना हुन् । यी सत्व र निजत्वयुक्त मानवीय गरिमालाई कुल्चिने सम्झना हुन् । यी स्वप्नदृष्टिलाई क्षत–विक्षत तुल्याउन, सिर्जनशीलतालाई डस्न, स्मृति–शृङ्खलालाई छिन्नभिन्न पार्न, कल्पनालाई भुत्ते बनाउन र सङ्कल्पशक्तिको नूर गिराउन खोज्ने सम्झना हुन् । परिस्थितिको नाडी छाम्दा टोपी र दौरा–सुरुवालको भेषमा तानाशाहको उदय हुने पो हो कि भन्ने आशङ्का जब पैदा हुन्छ, मेरो अन्तरमनको पर्दामा अस्तिताकका घातक सम्झनाहरू जमजमाउन थाल्छन् । अदृश्य काँडेतारका बारभित्र नागरिकका लागि चलखेल गर्न वर्जित निषेधित क्षेत्रका सम्झनाहरू । सुरक्षा चेकका नाउँमा यात्रुलाई वाहनबाट बलात् सडकमा झारेर दुई डोरीको बिचमा भेडा–च्याङ्ग्रालाई झैँ लुखुरलुखुर हिँडाइँदाका सम्झनाहरू । सङ्गीनसामु झोला खोतलखातल र खल्ती छामछाम–छुमछुमको ताण्डवनृत्य गरिँदाका सम्झनाहरू ।
प्रचलित शैलीमा सडकका भित्तामा पिसाप फेर्ने अशक्त र वृद्ध यात्रुलाई कान समातेर उठबस गराइँदाका दारुण सम्झनाहरू । मसिनो स्वरमा बोल्न ओठ चलाएको कसुरबापत मूक र मृतवत् दर्शकहरूसामु फौजीका हातबाट निर्घात कुटिँदा पीडित युवाका कण्ठबाट निस्केका चीत्कारका सम्झनाहरू । समस्त बस्तीलाई कफ्र्यु आतङ्कले गाँजेर नागरिकलाई आफ्नै घरमा कैदी बनाइँदाको उकुसमुकुसीका सम्झनाहरू । सुनसान मध्य रातमा सुत्ने कोठा, भान्सा कोठा र पूजा कोठामा सैनिक जवानहरूको आक्रामक प्रवेश र अपमानजनक प्रश्नहरूको ओइरोका सम्झनाहरू । पक्राउ, यातना, बलात्कार र बेपत्ताका भयावह समाचारका सम्झानाहरू । र, धरतीमा कम्प छुटाउँदै आतङ्कमय गर्जनसाथ गुडेका घातक सैनिक ट्याङ्कका सम्झनाहरू । अप्रिय समझनाहरूको यो शृङ्खला कति कति लामो छ !
सम्झनाको अर्को पाटोमा छन् तानाशाहको पाखण्ड र दम्भयुक्त दिनचर्याका दृश्यहरू । जङ्गी र निजामति चाटुककारहरूद्वारा लोभ, भय र भ्रमका डोरीले बाँधेर घिसारिएका चौपायाजस्ता नरनारीको भिडमाझ प्रायोजित अभिनन्दनका दृश्य । जहाँ तानाशाह पुष्पगुच्छा ग्रहण गर्छ, कुटिल मुस्कान वितरण गर्छ र आशीर्वादको भाकामा आश्वासन दिँदै मखलेल हुन्छ । जहाँ तानाशाहको नक्कली जयजयकारको गुन्जनले गगनमण्डल कम्पित हुन्छ । दृश्यहरूको यही लहरमा कतै तानाशाहका पाउ स्पर्श गर्न भक्तिनी महिला घोप्टिएको देखिन्छ, कतै प्रधानसेनापतिले दासवत् मुद्रामा घुँडा टेकेर तानाशाहका हातको टीका थाप्न निधार अघि सारेको देखिन्छ । र, कतै नेता नाउँको आत्महीन जीवात् तानाशाहसामु नाइटोसम्म निहुरिएको देखिन्छ । विद्युतीय आमसञ्चारका काँचका पर्दाहरूमा अहोरात्र यी दृश्य देखाइन्छन् । यसरी जनमानसमा तानाशाहको दिलदार, उदार, करुणामयी, सर्वशक्तिमान् र देवतुल्य बिम्बको रचना गर्ने यत्न गरिन्छ । यसरी नागरिक चेतनालाई बलात् भय र भ्रमको पिन्जराभित्र कैद गर्न खोजिन्छ ।
‘स्वान्त सुखाय’मार्गी लेखन यहाँ मेरो चाखको विषय होइन । जो केवल ‘स्वान्त सुखाय’ लेख्छ, ऊ जीवनको सुरक्षित क्षेत्रमै विचरण गर्न रमाउँछ । आफ्नो चर्मरक्षाप्रति ऊ सतत सचेत रहन्छ । लेख्नुको ध्येय नै फगत निजी सुख प्राप्त गर्नु छ त बित्थामा चिलिमाग्न अरिङ्गालको गोलोमा ढुङ्गा हान्नु किन ?
यी दुईथरी दृश्यका बिचमा, प्रकाशक साहुको खटन र तानाशाहको तरबारको छायामुनि सरदर सम्पादक निरीह जागिरे मुद्रामा लज्जावती झारझैँ लल्याक–लुलुक गल्छ । र, लाचारीको भाकामा लेखकलाई ऊ भन्छ— ‘खबरदार ! राजनीति नलेख ।’ भनाइको अर्थ हो, देखेको, सुनेको र भोगेको जे हो, त्यो नलेख । इतिहासको घर्षणमय दैनिकी नलेख । जीवनको कठोर यथार्थ नलेख । ब्यङ्ग्य र कटाक्ष नलेख । केही रुमानी भावुकता लेख । केही साकाहारी आख्यान लेख, बस् ।’
मेरो विचारमा इतिहासका यस्ता असहज क्षण लेखकको परिक्षाका घडी हुन् । लेखकको इच्छाशक्ति, ऊर्जा, आवेग, साहस र सङ्कल्पको श्रोत ऊ आफैँमात्र होइन । त्यो स्रोत त उसले सत्सङ्ग र संवाद गर्ने सहनागरिकहरूका आँखाको प्रकाश, तिनका अनुहारको कान्ति र तिनका बोलीको दम हो । धूमिल आँखा, निस्तेज अनुहार र निरीह बोलीयुक्त दमित परिवेशमा चेतनाको संवाहक भनिने लेखक के गर्छ ? दुबिधायुक्त मनोदशामा, साहस र त्रासको पीडादायी द्वन्द्वबिच, कर्तव्यबोध र चर्मरक्षाको दोधारमा परेर यथार्थलाई उजागर गर्न ऊ प्रतीकहरूको शरण पर्न विवश हुन्छ । सम्झेर ल्याउँदा हाँस उठ्छ, ज्ञानशाही कुकालको आरम्भमा कान्तिपुरको आफ्नो स्तम्भमा यस्तै मनोदशामा मैले ‘काग र चिबेचरीको प्रणयगाथा’ लेखेँथेँ । सतहमा त्यो मनोरञ्जक हास्य थियो । अन्तर्यमा थियो त्यो तानाशाहका बफादार अनुचरहरूमाथि हल्का व्यङ्ग्य । त्यो दोपाया चितुवासँग सोझै आँखा जुधाउन नसक्दा डमरुमार्पmत आँखा जुधाउने कार्यनीतिक जुक्ति थियो । आखिर घना अन्धकारमा देखिने जुनकिरीको पिलपिल झलझलाकार सूर्योदयको पूर्वाभास त हो नै ।
००
तानाशाहलाई नदी मन पर्दैन, कारण त्यसमा ध्वनि, गति र प्रवाह हुन्छ । तानाशालाई वन मन पर्दैन, कारण त्यसमा हरियाली, सरसता र निःशब्द सङ्गीत हुन्छ । तानाशाहलाई इन्द्रेनी मन पर्दैन, कारण त्यसमा रङ्गहरूको बहुलता हुन्छ । तानाशाहलाई मुक्त संवाद, प्रगाढ प्रणय र मधुर मुस्कान मन पर्दैन, कारण यी सबैमा जीवनको जीवन्त स्पन्दन हुन्छ । तानाशाहलाई मसानघाट मन पर्छ, जहाँ भयावह एकलासेपना, उच्चाटलाग्दो सन्नाटा र आहत सुस्केरा हुन्छ । त्यसैले त तानाशाह मृत्युको खेती गर्नमा औधी रुचि राख्छ । यो मृत्यु जिउँदो विचार, अर्थपूर्ण संवाद, घर्षणकारी विवाद र प्रतिकारमुखी चेतनाको मृत्यु हो । त्यसैले त जिउँदो लेखक इतिहासको नागबेली बाटोमा यात्रा गर्दै यो मृत्युको स्रष्टासँग जुध्छ र जित्छ । ज्ञानशाही तानाशाहीसँग जुधेर जितिएको हिजै त हो । त्यो जित बागी विचार र छापामारहरूका लौहअस्त्रको योगबाट समाजभरि उठेका उत्ताल र अदम्य आवेगहरूको जित हो ।
०००
भनिसकेँ, बर्दीधारी वा श्रीपेचधारी तानाशाहको तरबारमुनि लादिने भिन्न मतनिषेधी सेन्सरसिप नग्न भेषमा प्रकट हुन्छ । जुध्न त गाह्रै हुन्छ, देख्न भने त्यो सजिलै देखिन्छ । तर, छद्म सेन्सरसिप प्रत्यक्ष रूपले देखिँदैन । त्यो विचारको एक कोणीय, एक आयामिक र एक रङ्गी कोलाहलको भेषमा अभिव्यक्त हुन्छ । भिन्न मतमाथि बधकारी मुद्रामा त्यो खनिन्छ । प्रसङ्गवश, जब वीरेन्द्र परिवारको वंश विनाश भयो, शाही राजशाहीको निरन्तरतामा भयङ्कर सङ्कट आइलाग्यो । र, सत्ता, सम्पत्ति र संस्कृतिमाथि वर्चस्व कायम गरिआएको सामन्ती र भतुवा पुँजीवादी जमात आफ्नो अस्तित्व नै महासङ्कटमा परेको महसुस गर्दै आतङ्कित भयो । त्यो सर्वाङ्ग काम्यो । हिजोसम्म आफ्ना सुखदायी अग्राधिकारहरूको रक्षा गरिदिने अभिभावक राजा थियो । राजापछि राजा हुने रोलमा राजाको छोरो थियो । ती दबै एकै घानमा मारिए । सहारारूपी ख्वामित् गुमेको यो जमातलाई वीरेन्द्र परिवारको रगतको दहबाट झिकेर ज्ञानेन्द्रलाई राजा बनाउनुपर्ने झम्पाट लेठो आइलाग्यो । डुब्न लागेको मानिसले परालको त्यान्द्रो समातेझैँ शाहं वंशको अखण्ड गौरवगानको आवरण पहिराएर, पाउमा दाम चढाएर ज्ञानेन्द्रलाई सिंहासनमा थपना गरियो ।
एकाबिहानै सडकमा सैनिक र प्रहरी जवानहरू तरुनी फकाउने गीतको बोलमा चर्को स्वरमा हल्ला गर्दै नसा तन्काउन कुदेका जब देख्छु, म झस्किन्छु । सडकमा भयका तरङ्ग छर्दै सैनिक गाडी हुइँकिएका जब देख्छु, म झस्किन्छु । टोपीधारी शासक राइफलको बलले सिङ्गै सडक कब्जा गरी नागरिक संवेदनामा आतङ्कमय भाव जगाउने साइरन बजाउँदै राजसी मार्काका सवारीमा निस्केका जब देख्छु, म झस्किन्छु ।
ज्ञानेन्द्रपछि रोलमा पारस थिए । तिनको चारित्रिक र नैतिक अनुहार हेर्नलायकको थिएन । त्यसैले सिङ्गो सञ्चारयन्त्र प्रयोग गरी दुई विपरीत बिम्बको निर्माण गर्ने महाअभियान सुरु गरियो । दीपेन्द्रको दानवीय बिम्ब र पारसको मानवीय बिम्ब । बाल्यकालदेखिका वास्तविक वा कल्पित दुर्गुणहरूको उत्खनन र वर्णन गर्दै दीपेन्द्रलाई दुष्ट, लोभी, असामाजिक, स्त्रीलम्पट, सन्काहा र मनोविकारग्रस्त पात्रका रूपमा बिम्बन गरियो । अनि पारसलाई ? पारसलाई मैथुनरत क्रौँन्च पन्छीको हत्याबाट मर्माहत भई हृदय परिवर्तन भएका महर्षि बाल्मिकीको स्थानमा थपक्क राखियो । ‘सुयोग्य पिता मौसुफ श्री ५ ज्ञानेन्द्रका एकमात्र पुत्ररत्न’ भनी तिनको भजन गाइयो । एक अङ्ग्रेजी साप्ताहिकमा त दाज्यै दीपेन्द्रको हत्याबाट भावविह्वल भएका पारसको आँसुमय कविताका केही हरफ पनि छापिए । यो सब यत्न, यो नौटङ्की र यो किर्ते कसरतको अभीष्ट दीपेन्द्रको हत्याकारी बिम्ब रचना गरी पारसको अनुहारका कलङ्कका दागहरूलाई धोइपखाली गर्नु थियो ।
विम्ब विरूपीकरण र बिम्ब सुरूपीकरणको यो मेसोमा मैले भिन्न मत राखेँ । मैले प्रश्न गरेँ— मातेका, गलेका र ढलेका दीपेन्द्रले त्यत्रो सुरक्षा पङ्क्तिबिच, त्यत्रात्यत्रा राइफल पड्काएर एक्लै त्यत्रो हत्याकाण्ड रचे हुनन् र ? मेरो ‘भतिज दीपेन्द्र, मलाई माफ गर’ कान्तिपुरको सम्पादीय पृष्ठको पारिपट्टि पुछारमा, विना बे्रकर, मेरो जिज्ञासाको उल्टो अर्थ सम्प्रेषण हुने गरी बर्दीधारी दीपेन्द्र र देवयानीको तस्बिर राखेर छापियो । छपाइको त्यो स्थान र प्रकृति मलाई अहंकारी विष्टले दलित दर्जीलाई आँगनको पल्लो छेउमा आसन दिएजस्तै लागेथ्यो । तथापि, त्यो उपेक्षित लेख शब्द–सङ्ग्राममा हाँकको सानो झन्डा बोकेरै उभियो । पछि, सके संवैधानिक, त्यो नसके आलङ्कारिक र त्यो पनि नसके शिशु सम्राटलाई जोगाउन यी कोलाहलकारी बिम्ब निर्माताहरूले साम, दाम, दण्ड, भेद सबै जुक्ति प्रयोग गरे । तर लोकमतद्वारा परित्यक्त शाही राजतन्त्र पारसले श्रीपेच लगाउनै नपाई धूलिसात् भयो ।
अहिले, इतिहासको अर्को कालखण्डमा, उनै पात्र उही स्वार्थरक्षाका लागि, उही शैलीमा रिक्त राजतन्त्रको सट्टाभर्ना गर्न सञ्चार डबलीभरि उसैगरी यत्नशील छन् । दासतामुखी यो यत्न राष्ट्रपति रामवरण यादवको देवत्वकरण गर्ने चेष्टामा मुखरित भइरहेछ । पितारूपी नरेशविहीन यी टुहुराहरूलाई टोपीधारी नरेश निर्माण गर्नु छ । यिनको यो अधोमुखी चेष्टा जब देख्छु, मलाई पहिलेका पञ्च–मण्डलेहरूको कर्कश राग–रटनाको याद आउँछ । ऊबेला पञ्च–मण्डलेहरू राजाका वचन र कर्महरूमाथि प्रश्न गर्नु देवद्रोह ठान्थे । अहिले गणतन्त्र नेपालका राष्ट्रपतिका वचन र कर्महरूमाथि प्रश्न गर्नु अक्षम्य अपराध हो भनी विराट् कोलाहल मचाइँदै छ । यहाँ पनि बिम्ब सुरूपीकरण र बिम्ब कुरूपीकरणको उही बासी नाटकको पुनरावृत्ति भएको छ । निहित स्वार्थको वेदीमा निर्माणधीन देवतामाथि जो प्रश्न गर्न आँट गर्छ, आमसञ्चारमा उसको बाटै छेक्न खोजिन्छ । र, बिम्ब विरूपीकरणका स्रष्टाहरूद्वारा आमसञ्चार जगत्भरि नै उसको दानवीय बिम्ब प्रक्षेपण गरिन्छ । तथापि सन्देह, प्रश्न, तर्क, विमति र विद्रोह प्रकट गर्ने विवेक र शब्द अअmै जीवित छन् । त्यत्रो लगन र भक्तिद्वारा सिंहासनमा विराजमान गराइएका विष्णुका औताररूपी श्रीपेचधारी राजा त हारेर रुँदै बाटो लागे भने टोपीधारी राजाका दिन के आउलान् र ?
यो एकाइसौँ शताब्दीको नेपाल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छ : वनमन्त्री ठकुरी
-
एकीकृत समाजवादीका तीनवटै कमिटीकाे बैठक फागुनमा
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया फेरि विवादमा
-
मस्कको डजलाई संवेदनशील वित्तीय भुक्तानीसम्म पहुँच
-
मेजर जनरल इयाल जामिरलाई नेतन्याहूले बनाए सेना प्रमुख
-
नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण