काठमाडौँ । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको आठौँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । नेपालको शैक्षिक इतिहासमा चन्द्रकान्तादेवी जोशी (मल्ल) ले गरेको योगदान स्तुत्य छ । जतिबेला पुरुषका लागि पनि शिक्षा सुलभ थिएन, त्यतिबेलैदेखि नारी शिक्षाको विकासमा ध्यान दिनु र त्यसैको प्राप्तिका लागि मरिमेट्नु उनको विलक्षण सङ्कल्प हो । नेपालमा कन्या पाठशाला खोल्छु भन्ने सोच जागेदेखि उनी यही सपना पूरा गर्ने ध्याउन्नमा लागिन् । सपना पूरा हुन समय लाग्यो, तर अधुरो रहेन । यो शृङ्खला उनै चन्द्रकान्तादेवीका सम्बन्धमा छ ।
निरङ्कुश राणाकालमा कन्या पाठशाला खोल्ने धारणा व्यक्त गरिँदा उनी हाँसोको मात्र होइन, अपमानको पात्र समेत बनेकी थिइन् । यस्ता ससाना कुराले उनको अठोट मेटिने खालको थिएन । अदम्य साहसकी धनी चन्द्रकान्ताले कन्या पाठशाला खोल्न श्री ३ चन्द्रशमशेरको पालादेखि गुहार लगाएको इतिहास पाइन्छ ।
उनले पाठशाला खोलेको कालखण्डका सम्बन्धमा चाहिँ विभिन्न उल्लेख भेटिएका छन् । एकथरीले १९८० सालमा चन्द्रकान्तादेवीले पहिलो कन्या पाठशाला खोलेको जिकिर गरेका छन् ।
अर्काथरीले १९९० वैशाख दुई गते जनाएका छन् । १९९० सालमा कन्या पाठशाला खोलिएको जनाउनेका अनुसार श्री ३ चन्द्रशमशेरले उनको माग नसुनेपछि पछिल्ला शासक श्री ३ भीमशमशेरकहाँ पुगिन् ।
त्यहाँ पनि उनको सुनुवाइ भएन । अन्ततोगत्वा, श्री ३ जुद्धशमशेरका पालामा उनको प्रस्ताव मन्जुर गरियो ।
यसरी उनी वि.सं. १९९० साल वैशाख दुई गते कन्या पाठशाला खोल्न समर्थ बनिन् । शिक्षाविद् नानीमैयाँ वज्राचार्यका अनुसार चाहिँ १९८० असार २२ गते नै कन्या भाषा पाठशाला स्थापना भएको हो ।
शुक्रराज शास्त्री (शहीद) की बहिनी चन्द्रकान्तादेवीबाट स्थापित यो पाठशाला पहिले, हाल गोरखापत्र संस्थान रहेको स्थान नजिकै धर्मपथ, काठमाडौँमा थियो । २००१ सालसम्म त्यहीँ सञ्चालित पाठशाला श्री ३ जुद्धशमशेर ज.ब.रा.को शासनकालमा मखनटोलमा स्थानान्तरण गरिएको हो ।
वि.सं. २०१६ सालसम्म त्यहाँ रहेको पाठशालालाई त्यतिबेलाका शिक्षा डाइरेक्टर पुरोहित माहिला बडागुरुज्यूको प्रयासले सैनिक ब्यारेकसँगै जोडिएको खाली भवनमा सारियो । हुन त त्यो मुन्सी कौसिक अड्डाको भवन थियो तर खाली भएकाले विद्यालय सञ्चालन गर्न थालिएको हो ।
२०३० सालमा कन्या निम्न माध्यमिक विद्यालय नामकरण गरियो, यसअघि कन्या भाषा पाठशाला नाम थियो । त्यही वर्ष श्री अध्ययन मन्दिर तथा श्री कङ्केश्वरी पाठशाला यसमा गाभिएपछि सह शिक्षालयका रूपमा विद्यालय सञ्चालन भयो ।
२०५२ सालदेखि कन्या माध्यमिक विद्यालयका रूपमा यटखा, काठमाडौँमा रहेको छ । स्मरणीय छ, नानीमैयाँ यस विद्यालयमा लामो समयदेखि अध्यापन गर्दै आएकी, पूर्व प्रधानाध्यापक हुन् ।
कन्या भाषा पाठशाला स्थापना भएको एकवर्षभित्रै दुई सयभन्दा बढी विद्यार्थी भर्ना भएका थिए । पाठशालाको ‘हेडमास्टर’ चन्द्रकान्तादेवी स्वयं थिइन् ।
सिलाइ, बुनाइ, पाकशास्त्र आदि विषय पढाइने पाठशालाका लागि उनले आफै ‘गृहलक्ष्मी’ पाठ्यपुस्तक तयार गरेकी थिइन् । १९९४ वैशाख २ गते जुद्धसडक, भूगोलपार्कको दक्षिणतर्फ नेपालको प्रथम उद्योग प्रदर्शनी हुँदा यस पाठशालाका छात्राले हस्तकलाका सरसामान प्रदर्शन गरेका थिए ।
कन्या पाठशाला खोल्ने प्रथम नेपाली महिला चन्द्रकान्ता मल्ल ‘आत्मकथाकार’ नेपाली महिलामा पनि अग्रणी व्यक्तित्व हुन् । गृहलक्ष्मी, म र मेरो आत्मकथा, शहीद के कलम से आदि उनका कृति रहेका छन् ।
नेपालको शिक्षा तथा नारी जागरणमा उनी भुतुक्कै भएर लागिपर्नुका पछाडि उनको पारिवारिक उत्प्रेरणाले पनि काम गरेको देखिन्छ । उनका पिता बहुमुखी प्रतिभाका धनी थिए । कहलिएका ज्योतिष, पण्डित माधवराज जोशीकी छोरी हुन्– चन्द्रकान्ता ।
माताको नाम रत्नकुमारी जोशी हो । अमरराज, शुक्रराज र वाक्पतिराज तीनै जना उनका दाजु हुन् ।
दाजुहरू उतिबेलाका होनहार युवा, शुक्रराज शास्त्रीको बलिदान त सर्वविदितै छ । दाजु शुक्रराजसँगै उनले महात्मा गान्धी तथा नेता सुभाषचन्द्र बोससित पनि भेट्ने मौका पाएकी थिइन् ।
पण्डित माधवराजले नेपालमा वि.सं. १९५३ मा आर्य समाजको स्थापना गरेका हुन् । आर्यसमाजका संस्थापक महर्षि दयानन्द सरस्वतीबाट प्रभावित थिए– माधवराज ।
उनी भारतमा जस्तै नेपालमा पनि आर्यसमाजका माध्यमबाट रुढिवाद, अन्धपरम्परावाद तथा अत्याचारविरुद्ध शङ्ख फुँक्न चाहन्थे । आर्य समाज स्थापना गरी प्रवचन दिनथालेका माधवराज समर्थन बढ्दै जाँदा राणाशासकका आँखी बने ।
अपमान, कुटपिट एवं कारावास समेत झेल्न विवश माधवराजको परिवार वीरगञ्ज पुग्यो । दुई वर्षको कारावास सकिनुभन्दा छ महिनाअगावै माधवराज भागेर परिवार लिई भारत छिरे ।
उनको चिन्ताको विषय छोराछोरीको शिक्षा थियो । यसका लागि उनीसम्बद्ध आर्य समाज सहायक बन्न पुग्यो ।
उनले नौ वर्षीया चन्द्रकान्तालाई मेरठ, भारतको रामचन्द्र कन्या पाठशालामा पढ्ने व्यवस्था मिलाए । मेरठका स्वामी तुलसीरामकहाँ अमरराजलाई र स्वामी अच्युतानन्दकहाँ शुक्रराजलाई पुर्याइएको थियो ।
वाक्पतिराजलाई चाहिँ सिकन्दरावादको गुरुकुलमा पढ्न पठाइयो । डा. रामचन्द्र कन्या पाठशालामा चन्द्रकान्ताले शिक्षा आर्जन गरिन् ।
कसंस्थापक डा. रामचन्द्रबाट उनले छोरीसरह स्नेह पाएकी थिइन् । डाक्टरसाहेब केही वर्षमै दिवंगत भएपछि उनलाई त्यहाँ बस्न मन लागेन ।
आर्यसमाज, दार्जिलिङको अध्यक्षका रूपमा कार्यरत पिताकै थलोमा पुगिन् । दार्जिलिङको कूचविहार महारानी स्कुलमा भर्ना भइन् ।
त्यहाँ सीपमूलक शिक्षा हासिल गरिन् । नारी चेतनाका लागि शिक्षाको अपरिहार्यता बोध गरेकी चन्द्रकान्तालाई नेपालमा कन्या पाठशाला खोल्ने चाहना पलायो ।
उनकै जिद्दीका कारण परिवारका सबैजना नेपाल फर्किए । श्री ३ चन्द्रशमशेरसित उनले नै क्षमायाचना गरी नेपाल बस्ने वातावरण मिलाएकी हुन् ।
उनको कन्या पाठशाला खोल्ने धोको पनि अन्ततः पूरा भएरै छाड्यो । एउटी महिलाले आफै अघि सरी त्यतिखेर कन्या पाठशाला खोल्नु चानचुने कुरो थिएन ।
तब त चन्द्रकान्तादेवी जहाँ, जहाँ पुग्थिन्, आश्चर्यमिश्रित आँखा उनलाई पछ्याइरहेका हुन्थे । उनले वि.सं. १९८२ देखि १९८४ सम्म झन्डै दुई वर्ष जनरल केशरशमशेरको दरबार (केशरमहल) मा बिताइन् ।
त्यहाँ उनले नारीहरूलाई सिलाइ, बुनाइ आदिको सीपसम्बन्धी शिक्षा पनि दिइन् । १८ वर्षकी हुँदा चन्द्रकान्ताको विवाह १९७३ फागुन २५ गते भयो ।
उनका पति उमेश्वरलाल मल्ल हुन् । वैवाहिक जीवन भने सुखद रहेन ।
दोस्री पत्नीका रूपमा घर भित्रिएकै केही दिनपछि पतिले छाडेर मलंगवा, सर्लाही गए । २४ वर्ष जति उनी पतिबाट अलग रहिन् ।
१९९६ ताका घर हुलिएकी चन्द्रकान्ताले पतिको इच्छा अनुसार पाठशाला छाडी घरधन्दामा लाग्दा पनि सम्मान पाइनन् । उल्टै तिरस्कार सहनुपर्यो ।
‘गुरुमा’ का रूपमा प्रसिद्धि पाइसकेकी उनी शैक्षिक जागरण अभियानबाट लामो समय पछाडि सर्ने कुरै थिएन । निरन्तर आफ्नो बाटामा लम्किरहिन् ।
सौता बितेपछि अलि फरक व्यवहार हुनथाल्यो । तैपनि, चन्द्रकान्ताका मनमा विगतका बुहार्तन र उत्पीडन असह्य काँढाका रूपमा बिझिरह्यो ।
दाजु शुक्रराज शास्त्रीको निधनले उनलाई अकल्पनीय शोकमा डुबायो । राजद्रोहको अभियोग लगाई शुक्रराज शास्त्रीलाई वि.सं.१९९७ माघ १० गते पचली, टेकु, काठमाडौंस्थित खरीको रुखमा झुन्ड्याएर सजाय दिइएको थियो । त्यतिखेर धर्मभक्त माथेमालाई माघ १३ गते सिफलस्थित बकैनाको रुखमा झुन्ड्याएर मारिएको थियो । माघ १५ गते दशरथ चन्द ठकुरी र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानियो ।
दाजु भनेपछि भुतुक्कै हुने चन्द्रकान्ता त्यस घटनापछि विद्रोही बन्न पुगिन् । राणाकालमै ‘गुरुमा’ का रूपमा सम्मानित चन्द्रकान्तालाई प्रजातन्त्र आएपछि थप कदर गर्न थालियो ।
राजा त्रिभुवनद्वारा २०११ साल वैशाख १ गते गठन गरिएको सल्लाहकार सभामा उनी मनोनीत भइन् । महिलावर्गतर्फ मनोनीत हुनेमा काठमाडौँका चन्द्रकान्तादेवी, पुण्यप्रभादेवी तथा कमल शाह थिए ।
विराटनगरकी इन्दिरा आचार्य, परासीकी तुलजा शर्मा, इलामकी सरस्वती राई, वीरगञ्जकी माधुरी शाह, नेपालगञ्जकी नर्मदादेवी एम.ए., महोत्तरीकी सुमित्रादेवी र कलैयाकी तारादेवी शर्मा थिए ।
२०१५ मा राजा महेन्द्रद्वारा गठित राजनीतिक पीडित सहायता समितिको सदस्य पनि बनेकी थिइन्– चन्द्रकान्ता ।
पछिल्ला समयमा देश, विदेशका विभिन्न समारोहमा उनलाई सहभागी हुने अवसर प्राप्त भयो । चन्द्रकान्ताले दाजु शुक्रराजको स्मृतिमा २०१८ साउन २५ गते भेडासिंह, खिंलटोलस्थित आफ्नै घरको छिँडीमा स्कुल खोलेकी थिइन् ।
विद्यार्थीको चाप बढ्दै गएपछि २०२४ सालमा लाजिम्पाटस्थित चेतभवनमा विद्यालय सारियो । त्यसपछि भगवतीबहालमा सरेर २०२७ सालमा पुरानै थलो भेडासिंह, खिंलटोलमा विद्यालय पुर्याइयो ।
चन्द्रकान्ताको निजी तथा अन्य दानदातव्यबाट २०२८ माघ १७ गते बागबजारमा भवन शिलान्यास भएपछि विद्यालय यतै सर्यो । २०३१ माघ २७ देखि शहीद शुक्र मा.वि.का रूपमा सञ्चालनमा रहेको जानकारी प्रधानाध्यापिका मन्जु तुलाधरले दिएकी हुन् ।
यस विद्यालयकी संस्थापिका चन्द्रकान्ता २०१८ सालदेखि २०३० सम्म प्रधानाध्यापिका थिइन् । २०३० देखि २०३२ सालसम्म उनी विद्यालयकी अध्यक्ष भइन् ।
चन्द्रकान्ताका पतिको निधन २०३५ सालमा भयो । उनका सन्तान भएनन् तर उनले पढाएका सन्तति आज पनि ठाउँ, ठाउँमा पुगेर देश, विदेशमा सेवा गरिरहेका छन् ।
चन्द्रकान्ताले नारी शिक्षा, सामाजिक जागरण र जनचेतना अभिवृद्धिका दिशामा निरन्तर सेवा गरिन् । वि.सं. १९५५ पौषशुक्ल पञ्चमी तिथिका दिन बकुम्बहाल, ललितपुरमा जन्मिएकी चन्द्रकान्ता ८८ वर्षको उमेरमा २०४३ असार ३१ गते सधैंका लागि बिदा भइन् ।
उनी हामीमाझ नरहे तापनि उनको कीर्ति जगमगाइरहेको छ । वि.सं. १९९० सालभन्दा अघिदेखि चन्द्रकान्ता स्वतन्त्रता, प्रजातन्त्र, चेतना र जागरणका क्षेत्रमा समर्पित नाम हो ।
उनले भारतको स्वतन्त्रता आन्दोलनमा समेत सहयोग पुर्याएकी थिइन् । आफ्नो संस्मरणमा इन्दिरा श्रेष्ठले जनाए अनुसार चन्द्रकान्ता वि.सं.१९८७ सालदेखि नै महिला जागरण र उत्थानका दिशामा अटुट रूपमा सङ्घर्षरत थिइन् ।
सबैप्रति माया, ममता र करूणाको भावना उनमा प्रचुर थियो । नेपाली महिलाको प्रतिनिधित्व गरी उनी २०१३ सालमा रूसको राजधानी मस्को पनि पुगेकी थिइन् ।
नेपाली महिलालाई सङ्गठित गरी उनी शैक्षिक चेतनाका माध्यमबाट निरङ्कुशताविरूद्ध पाइला चाल्न सफल भएकी थिइन् । विरोध प्रकट गर्ने शैली पनि उनको फरक थियो ।
त्यतिखेर पचासहाते फरिया लगाउनुपर्ने परम्परा भए तापनि उनी दशहाते सारी पहिरिएर श्री ३ महाराजलाई भेट्न जान्थिन् । इन्दिरा श्रेष्ठका अनुसार दशहाते सारी, हाफ ब्लाउज, हाइहिल जुत्ता, सानो कालो चस्मा लगाई बाहिर निस्कने जनसाधारणतर्फ पनि उनी प्रथम नेपाली महिला बनेकी छिन् ।
यसपछि मात्रै अरूले दशहाते सारी लगाउन थालेका हुन् । नेपाली नारी जागरणको ऐतिहासिक पृष्ठभूमिमा चन्द्रकान्ताले पुर्याएको योगदान गरिमामयी छ । लेखन, सम्पादन तथा प्रकाशनमा समेत कार्य गरेकी चन्द्रकान्ताले सर्वसाधारणबाट त मान पाइन् नै, राजसंस्थाबाट पनि अनेक पदक पाएकी थिइन् । नेपाल महिला सङ्गठनले २०३६ फागुन २५ गते उनलाई बग्गीमा राखी नगर परिक्रमा सहित सम्मान गरिएको थियो । नेपालको शैक्षिक इतिहासमा ‘गुरुमा’ चन्द्रकान्ता मल्लको भूमिका निकै महत्त्वपूर्ण छ ।
१ प्रतिक्रिया