बरु जिन्दगीमा
![बरु जिन्दगीमा](https://npcdn.ratopati.com/media/news/rai_hkYHN4I84L.jpg)
एउटा सानो घर हुनु
रातो माटोले पोतेको
गोबरले लिपेको ।
घरमुन्तिर थोरै बारी हुनु
मकै छरेको
कोदो रोपेको ।
हरेक दिन जब म पसिनाले भिजाउँदै गरेको हुनेछु बारीका मकै कोदो
मेरी बुढीले ल्याइदिउन् एक बटुकी वासिम
म बारीको डिलको वाख्रोमाको शीतलमा बसेर
खुइय्या सुसेल्नु एउटा थकित आनन्द ।
हरेक साँझ कलिलो जूनमा
मेरा जूनजस्तै कलिला केटाकेटी
आँगनमा खेल्नु आफ्नी कोकुसँग लुकामारी
म सिकुवामा बसेर हेरिरहनु उनीहरुको हाँसो र चर्तिकला ।
म राजनीति के हो नबुझ्नु
पैसा र पावरको खेल नबुझ्नु
अमेरिकामा के हुँदैछ थाहा नपाउनु
सरकारमा को छ ?
को छ प्रतिपक्षमा ?
भर्खरै कसलाई समायो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ?
कसले ल्याउँदैछ अब आन्दोलनको आँधी ?
म केही नजान्नु
म केही नबुझ्नु ।
बरु चिन्तित हुनु
यसपालि कस्तो हुने होला मौसम ?
कति फल्ने हो सुन्तला ?
कसरी जोगाउनेहो मकैको बोट फौजी किराहरुबाट !
आमालाई यो हिउँदमा किन्दिनुपर्नेछ मजेत्रो
बुढीलाई एकजोर लुङ्गी-चोली
कान्छो छोरोलाई एकजोर जुत्ता
खसी किन्ने किन कोही आउँदैन यसपालि ?
यसपालिको सुँगुर किन सप्रेन ?
म चिन्तित हुनु
सिकुवामा बसेर बेर्नु भोर्लाको पातमा सुर्ती
बिडीको धुवाँमा बनाएर जिन्दगीजस्तै आकारहरु
सुरुप्प वासिम खानु
अनि चिन्तित हुनु ।
बरु जिन्दगीमा यसरी नै बाँच्नु
बरु जिन्दगीमा यसरी नै बाँच्नु ।
बतासे, खोटाड