इन्धनलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न कानुनी अड्चन
काठमाडौँ । दुई वर्षअघि काठमाडौँ विश्वविद्यालयले पुरानो मारुती सुजुकी कारलाई विद्युतीय कारमा बदलेको थियो । विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका विद्यार्थीको समूहले पेट्रोलबाट चल्ने एउटा कारलाई विद्युत्बाट चल्ने बनाएका थिए । प्रयोगको रूपमा गरिएको उक्त रूपान्तरण सफल भयो तर सरकारसँग स्पष्ट नीति नहुँदा त्यो कार दैनिक प्रयोगमा छैन ।
गएको भदौ ३१ गतेमात्रै पेट्रोल र हाइड्रोजन दुवैबाट चल्ने कारको परीक्षण गरिएको थियो । रिन्यु जेन रिसोर्सेस् नेपालले पुलचोक इन्जिनियरिङ क्याम्पस र बेलायतको एक विश्वविद्यालयसँग सहकार्य गरी पेट्रोल र हाइड्रोजन दुवैबाट चल्ने कारको सफल परीक्षण गर्यो ।
नेपालमा शोध र अनुसन्धान मात्रै होइन, पुराना कारलाई विद्युतीयमा बदल्ने औद्योगिक परियोजनामा काम गर्न तयार भएर बसेका केही कम्पनी समेत छन् । दिगो ग्रुपले नाडा अटो शो २०१९ मै इन्धनबाट विद्युतीयमा रूपान्तरित गाडी प्रदर्शनमा राखेको थियो । यो कम्पनी अहिले विद्युतीय चार्जिङ स्टेशन निर्माणको परामर्श तथा प्राविधिक र इन्जिनियरिङ सहयोगमा काम गरिरहेको छ ।
यसरी बेलाबेला विश्वविद्यालय, प्राध्यापक, विद्यार्थीहरू र केही कम्पनीले पेट्रोल वा डिजेलबाट चल्ने गाडीलाई विद्युतीयमा बदल्ने प्रयोग गर्दै आएका छन् । तर सरकारसँग स्पष्ट नीति नहुँदा यसको व्यावहारिक प्रयोग हुन सकेको छैन ।
त्यसो त सरकारले २०७८ चैतमा इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न सक्ने ऐनमा व्यवस्था गरेको थियो । संशोधित ऐनको उक्त व्यवस्था तीन वर्षसम्म अर्थात् कानुन नबन्दासम्म लागु हुने ‘क्लज’ राखिएको थियो । सरकारले ऐन संशोधन गरेर राखिएको व्यवस्थाको समय सकिनै लाग्दा पनि यसबारे कानुन बनाउने विषयमा कुनै छलफल नै अगाडि बढेको छैन । यसले गर्दा यो बिचको अवधिमा कुनै पनि व्यावसायिक रुपमा प्रयोग भएका गाडी विद्युतीयमा रूपान्तरणका लागि यातायात कार्यालयमा पुगेनन् । रूपान्तरण गरिएका सवारीको ब्लुबुक के गर्ने, सवारी दर्ता कसरी गर्ने, कति वर्ष आयु तोक्नेजस्ता विषयमा सरकारको नीति स्पष्ट छैन । यसले समस्या ल्याएको जानकारहरूको भनाइ छ ।
इन्धन गाडीलाई बिजुलीमा प्रवर्द्धन गर्न कानुनी रुपमै बलियो व्यवस्था गर्न सके थन्किएका पुराना गाडी प्रयोगमा आउने, सवारी र पेट्रोलियम आयात घट्ने, बिजुली खपत बढ्ने, प्रदूषण घट्ने जस्ता थुप्रै फाइदा रहेको जानकारहरू बताउँछन् ।
रिन्यु जेन रिसोर्सेसका विज्ञ डा. प्रकाश थापाले रूपान्तरण प्रविधिको थप विकास गर्न सके पुराना र थन्काइएका सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउन सकिने जानकारी दिए । उनले भने, ‘पुराना सवारीसाधनलाई नयाँजस्तै गरी प्रयोगमा ल्याउन ‘कन्भर्जन’ उत्तम विकल्प हो । तर सरकारले यसमा उचित कानुनी प्रबन्ध गर्नु जरुरी छ ।’
इन्धन गाडीलाई बिजुलीमा प्रवर्द्धन गर्न कानुनी रुपमै बलियो व्यवस्था गर्न सके थन्किएका पुराना गाडी प्रयोगमा आउने, सवारी र पेट्रोलियम आयात घट्ने, बिजुली खपत बढ्ने, प्रदूषण घट्ने जस्ता थुप्रै फाइदा रहेको जानकारहरू बताउँछन् । ‘यसमा कुनै बेफाइदा म देख्दिनँ । तर सरकारले कानुनी व्यवस्था भने गरिदिनुपर्यो । कतिवर्ष पुराना भएपछि कन्भर्जन गर्ने स्पष्ट हुनुपर्यो,’ थापाले भने, ‘किनभने नयाँ गाडीलाई कन्भर्जन गर्न कोही तयार हुँदैन । प्रयोग हुनै नसक्ने अवस्थामा पुगेकालाई गर्ने हो ।’
नचलेर कवाडीमा थन्काइएका गाडीहरूलाई नै विद्युतीयमा रूपान्तरण गर्न सकिने हुँदा त्यसले वातावरण र अर्थतन्त्रमा ठुलो फाइदा पुग्ने विज्ञको भनाइ छ ।
इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसका सहायक प्राध्यापक लक्ष्मण मोत्रा रूपान्तरढा प्रविधि आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि भएको बताउँछन् । उनले भने, ‘गाडी हेरेर ८-१० लाखमा नयाँ जस्तै बनाउन सकिन्छ । त्यसकारणले पुराना गाडीको पुनःप्रयोग गर्न यो अत्यन्तै आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजुको फोन
-
किन भएन अपेक्षाकृत बजेट खर्च ?
-
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेज गर्नुपर्छ : अर्थविद् पौडेल
-
संघीयतालाई दोष दिने ठाउँ छैन, दोषी हामी हौँ
-
नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध
-
गण्डकी प्रदेशको समुन्नतिको यात्रा