विद्यालयको गेटले च्याप्दा बालक मृत्यु, साढे १० लाखमा मिलाइयो घटना
धनगढी । कैलालीको कैलारी गाउँपालिका ९ गदरियास्थित जनता माध्यमिक विद्यालयको प्रवेशद्वारमा रहेको गेट ढल्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । अर्को बालक घाइते भएका छन् । घटनालाई साढे १० लाखमा मिलाइएको पाइएको छ ।
विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीले जीर्ण फलामे गेट ढल्दा बिहीबार दिउँसो कैलारी गाउँपालिका ९ गदरियाका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको ज्यान गएको थियो । अर्का बालक, स्थानीय मुकेश चौधरीका ८ वर्षीय छोरा समिर चौधरी घाइते छन् । समिरको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्का अनुसार सो विद्यालयले प्रवेशद्वारमा फलामे गेट लगाएको थियो । जीर्ण बनेको गेटलाई रसीले बाँधेर राखिएको थियो । विद्यालयले माघ १० र ११ गतेका दिन जाडो बिदा दिएको थियो । त्यहाँकै स्थानीय रहेका ती बालकहरू त्यहाँ खेल्न पुगेका थिए । सो क्रममा ती बालकहरूलाई फलामे गेटले किचेको थियो ।
घटनापछि स्थानीयहरू आन्दोलित भए । शुक्रबार दिनभरी विद्यालय क्षेत्र तनावग्रस्त बन्यो ।
स्थानीय एवं मृतक र घाइतेका आफन्तजन मृतकका परिवारजनलाई क्षतिपूर्ति, घाइतेको उपचार, विद्यालय प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको राजीनामालगायत माग राखेर आन्दोलित बनेका थिए ।
आफन्तजन र विद्यालय पक्षसँग भएको छलफलपछि मृतकका आफन्तजनलाई क्षतिपूर्ति र घाइतेलाई उपचार गर्नेलगायत सहमति भएको जनाइएको छ ।
प्रहरी निरीक्षक खड्का अनुसार मृतकका आफन्तलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने सहमति भएको छ । एक लाख नगद दिइएको छ, भने बाँकी ९ लाख माघ मसान्तभित्र दिइने बताइएको छ । त्यस्तै, ५० हजार रुपैयाँ कैलारी ९ का वडाध्यक्ष खेमराज चौधरीले दिने सहमति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, घाइते बालकको उपचार पनि विद्यालयले गर्ने भएको छ । यसका साथै उनको पठनपाठन जिम्मा पनि विद्यालयको रहने भएको छ ।
यसैबिच विद्यालयका प्रधानाध्यापक सीताराम चौधरीले पदबाट राजीनामा दिने बताएका छन् । सञ्चारकर्मीहरूसँगको संवादको क्रममा प्रअ चौधरीले आफूले नैतिक रूपमा राजीनामा दिएको बताए ।
स्थानीयले कैलारी ९ की वडा समिति सदस्यसमेत रहेकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्ति चौधरीसहित पदाधिकारीहरूको राजीनामा माग गरेका छन् ।
यसैबिच आक्रोशित स्थानीयले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शान्ति चौधरीले आफ्नो पदीय जिम्मेवारी निर्वाह नगर्दा घटना घटेको आरोप लगाउँदै उनलाई हातपात समेत गरेको प्रत्यक्षदर्शी बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
श्रीमती र दाइको हत्या गरेको अभियोगमा दुई जना पक्राउ
-
हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी
-
राप्रपाको केन्द्रीय समिति बैठक मूल एजेन्डामा केन्द्रित हुन सकेनः ज्ञानेन्द्र शाही
-
सभामुख घिमिरेले बोलाए संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलमा
-
नेदरल्याण्ड्सको सङ्ग्रहालयबाट चोरी भए सुनका कलाकृति