काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस)का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो गरेका छन् । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनीहरुले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका हुने भएपनि यो भूमिका निर्वाह गर्न समस्या भएको जिकिर गरे ।
उनीहरुले भने, “जिल्ला समन्वय समितिका प्रमुखलाई संविधान प्रदत्त काम गर्न पनि समस्या भइरहेको छ । यसका तीनै तहका सरकारहरुले विशषे ध्यान दिनुपर्यो । ” कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष खड्काले समन्वय समितिका प्रमुखहरुले अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन सहयोगीको भूमिका निर्वाह गर्न चाहिरहेको बताए । उनले भने, हामी काम गर्न चाहन्छौँ तर काम नै छैन । संविधान प्रदत्त काम गर्न अप्ठ्यारो परिरहेको छ । ”
जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डेले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएपनि यसको व्यवहारिक कार्यान्वयन नभएको गुनासो व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्न आफूहरु तयार रहेको बताए । उनले भने “ जिल्ला समन्वय समितिको भूमिका समन्वय र अनुगमन गर्न अहं हुन्छ तर व्यवहारमा यसो हुन सकिरहेको छैन । ”
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा सम्पादन गरिएका कामहरुको प्रस्तुति गर्नहुँदै पूर्ण साक्षर नगरपालिका, एक विद्यालय एक नर्स कार्यक्रम, प्रत्येक वडामा सामुदायिक नर्स घरदैलो कार्यक्रम, प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा प्रारम्भ , ज्येष्ठ नागरिकहरुका लागि मधुमेह र रक्तचापको औषधि सेवनका लागि अनुदान, जर्मन विकास बैँकको रु १ अर्व लगानीमा परोपकार प्रसुती अस्पताल निर्माण हुन लागेको र उज्यालो चन्द्रागिरि अभियान अन्तर्गत सडक वत्ती जडान गरिएको जानकारी दिए ।
उनले स्थानीय विक्री केन्द्र, जिपिएस /जिआइएस आधारित डिजिटल घर नम्बर ,सडकचोक नामकरण सहित नगरप्रोफाइल तयार भइ प्रत्येक घरहरुलाई डिजिटल नम्बर, सडक चोक नामकरण प्लेट जडान कार्यान्वयन, बहुप्राविधिक शिक्षालय सञ्चालन थालनी , सुरुङ मार्ग समन्वय, दीगो विकास लक्ष्य कार्यान्वयनका क्रममा स्वच्छिक स्थानीय मूल्याङ्कन प्रतिवेदन तयारी, नगरपालिकाद्वारा दमकल सञ्चालन लगायत विभिन्न काम भएको बताए ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार पछिल्लो समय नगरपालिकाले आफ्ना सेवाहरुलाई अनलाइन मार्फत प्रदान गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले तत्कालीन कोभिड –१९ को महामारीका समयमा नगरपालिकाले निर्वाह गरेको भूमिका , यसका विरुद्धमा विशेष गरी महिला, अपाङ्गता भएका व्यक्तिलाई खोप लगाउन नगरपालिकाले घरदैलो सेवालाई स्वास्थ्य सेवा विभागले देशभर कार्यान्वयनमा ल्याएको जानकारी दिँदै पालिका तहका राम्रा सिकाइलाई आदान प्रदान गर्नुपर्छ भने । उनले स्थानीय तहमा जाने अनुदानमा संशोधन गरिएको जानकारी दिँदै यसकाबाट न्योयोचित वितरण हुने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ‘एक जिल्ला एक पर्यटन’को पूर्वाधार बनाउन जिल्ला समन्वय समितिका पदाधिकारीलाई आग्रह गर्दै यसबाट आर्थिक समृद्धि हाँसिल गर्न सजिलो हुने बताए । उनले भने, “ निजी क्षेत्रलाई प्रवद्र्धन गर्न पछिल्लो समय सरकारले लिएका नीति राम्रा छन् । अव सरकार र निजी क्षेत्रको सहकार्यबाट अर्थतन्त्रलाई सुदृढ बनाउन जरुरी छ । धेरै भन्दा धेरै रोजगारी सिर्जन गर्न जरुरी छ ।” सो अवसरमा अध्यक्ष ढकालले कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुखलाई चन्द्रागिरि हिल्सले पर्यटन प्रवद्र्धन गर्न अवलम्बन गरेका नीतिका बारेमा जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्केटिङ हाउसमा चन्द्रपुर नगरपालिकाले लगायो ताला
-
सगरमाथाको आरोहण शुल्कले हलचल : कस्तो पर्छ असर ?
-
६ महिनामा ८०.७७ प्रतिशत राजश्व लक्ष्य हासिल, कुन शीर्षकमा कति संकलन ?
-
ताप्लेजुङ घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ रिफर
-
ओस्कारको मनोनयनमा पर्ने पहिलो ट्रान्सजेन्डर बनिन् कार्ला सोफिया
-
वृज एडिटिभ्सद्वारा अत्याधुनिक निर्माण सामग्रीको नयाँ श्रृङ्खलाको घोषणा