शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय

दलित मुसहर परिवारमा शीतलहरको कहर

शनिबार, १२ माघ २०८१, ०१ : ३९
शनिबार, १२ माघ २०८१

बरहथवा । विपन्न दलित मुसहर परिवार चिसो र शीतलहरको जोखिममा परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन ।  बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् । 

सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहनु भएको छ । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उनले गुनासो गरिन् ।  खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तरा बनाएकी छन् । त्यसैमा उनले १० दिनको शिशु पनि सुताएकी छन् ।  

दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उनकी सासु जितनी देवी माझीले बताईन् । ‘भुइको चिसो पनि आउँछ’, सुत्केरी माझीले भनिन्, ‘माथिबाट शीत चुहिरहन्छ । ओड्ने कुरा पनि राम्रो छैन् । बाँसको टाटीको प्वालबाट छिरेको चिसो स्याँठले मुटु छेडेर जान्छ ।’ 

जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिईन्  । सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाकी उनलाई शीतलहर सुरु भएपछि भने समस्या भएको बताईन् । चिसोले रातभरि शिशु रोएर नसुत्ने उनले दुखेसो पोििखन् । चिसोका कारण आफू पनि निकै पटक बिरामी परिसकेको उनको भनाइ थियो । 

पुनिताका श्रीमान् पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुगेका छन् । श्रीमान्ले कमाएर ल्याउलान र मीठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताईन् । कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भन्नुभएको उनले सुदाईन् । सुत्ने ओछ्यान नजिकै बालेको घुर हेरेर रात कटाउने गरेको उनको दुखेसो छ । 

बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसिरकेही छन् । ‘भुइमा राख्यो की चिसोले बच्चा रोही हाल्छ,” उनले भनिन्, ‘छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।’ मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको उनले गुनासो गरिन् ।  

चिसो बढेकाले परिवारको अन्य सदस्य मजदुरीमा जान नसक्दा आफूसमेतले कयैँन रात भोकै बस्नुपरेको भन्दै शिशुलाई खुवाउन दूध नआएको उनले  सुनाईन् । बिनाका श्रीमान् पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गरिरहेका छन् । सिजन सकिएपछि घर आउने उनको तयारी रहेको विनाले बताईन् । तर, आफू र शिशुलाई चिसोले धेरै सताइरहेको उनको गुनासो छ । 

बस्तीमा चिसो सुरु भएपछि बच्चा जन्माएका अन्य आमा र शिशुको अवस्था उस्तै छ । न्यानो कपडा त परको कुरा दैनिक छाकको जोहोसमेत गर्न सबैको मुस्किल छ । अधिकांश परिवारका पुरुष कृषि मजदुरी गर्न भारतको पन्जाब गएका छन् । उनीहरु तीनदेखि चार महिनाको अन्तरमा केही कमाएर घर फर्कने गरेका बसवरिया गाउँपालिका–३, की वडासदस्य सिता देवी माझीले बताईन् । 

त्यति बेलासम्म परिवारले भोकै प्यासै बस्नुपर्ने वस्तीको बाध्यता रहेको उनले सुनाईन् । विपन्न परिवारका उनीहरूलाई सरसापटसमेत कसैले नपत्याउने भएकाले बनिबुतो यस बस्तीको एकमात्र जीवन धान्ने आधार रहेको वडासदस्य सीता देवीको भनाइ छ । वर्षामा पानीमा डुब्नु र हिउँदमा चिसोले कठ्याङ्ग्रिनु यो बस्तीको नियमित नियति रहेको उनले सुनाईन् । बस्तीका अन्य परिवारले पनि दिन रात घुर तापेर चिसो छल्ने प्रयास गरिरहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप