शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : राजेन्द्रलाई धवलको चुनौतीदेखि चुनावी लडाइँमा क्रान्तिकारीसम्म

शुक्रबार, ११ माघ २०८१, २२ : ००
शुक्रबार, ११ माघ २०८१

आज मिति २०८१ साल माघ महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. राप्रपा बैठक
राप्रपाका महामन्त्री डा.धवलशमशेर राणाले शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक विचार प्रस्तुत गरेका छन् । उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिने ढंगले लिखित रूपमै आगामी योजनासहितको राजनीतिक विचार प्रस्तुत गरेका हुन् । राप्रपाका नेताहरुले महामन्त्रीले पेस गरेको प्रस्ताव ‘फरक मत’ कै रूपमा आएको दाबी गरे । तर, महामन्त्री राणाले भने पार्टी निर्माणका लागि आफूले बैठकमा राजनीतिक विचार प्रस्तुत गरेको बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरूप दिएर सशक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

२. चुनावी लडाइँमा क्रान्तिकारी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन–२०८१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले शुक्रवार  केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो ।

३. प्रकाश भुजेल

झाँक्री भनेर चिनिएका प्रकाश भुजेललाई सवारी ज्यान मुद्दामा थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतले बदर गरेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधिशद्वय मुनेन्द्र प्रसाद अवस्थी र डिल्लीराज श्रेष्ठले काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरेका हुन् ।

४. सुरुङमार्गको ब्रेक थ्रु

निर्माणाधीन सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको मुख्य खण्डमा सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको भर्चुअल प्रविधिबाट ब्रेक थ्रु गरेका हुन् ।

५. ग्वार्को फ्लाइओभर

निर्माणको अन्तिम चरणमा रहेको ग्वार्को ‘फ्लाइओभर’को काम सात महिनादेखि रोकिएको छ । वर्षा सुरू भएपछि गत जेठ अन्तिम सातादेखि बन्द रहेको ‘फ्लाइओभर’ निर्माणको काम वर्षा सकिएको चार महिना बितिसक्दा पनि सुरु हुन नसकेको हो ।

६. प्रचण्डको सक्रियता

उमेरले ७१ वर्ष लागेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता निकै लोभलाग्दो देखिन्छ ।

असार ३१ गते प्रधानमन्त्रीबाट हटेपछि केही दिन निजी निवास खुमलटारमा आराम गरेका उनी साउन १० गते यता पार्टीको आन्तरिक बैठक, विपक्षी दलहरू र समाजवादी मोर्चाको बैठकमा सक्रिय देखिएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले अगाडि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई अभियानकै रूपमा लिएर देशव्यापी दौडाहामा निस्किएका छन् ।

७. अपराध/ठगीधन्दा

काठमाडौँ उपत्यकामा ठगी धन्दा चलाइरहेका दिनेश घिमिरेलाई प्रहरीले लामो प्रयासपछि पक्राउ गरेको छ । नुवाकोट ककनी गाउँपालिका वडा नम्बर–२ घर भएका ३५ वर्षीय घिमिरेले काठमाडौँ उपत्यकामा आफूलाई कुशल ठकुरीको नामबाट चिनाउँदै आएका थिए ।

उनलाई माघ ९ मा ठमेलस्थित चाइनिज रेष्टुरेण्टबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।

८. रवि लामिछानेको मुद्दा

पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका थिए । 

शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र   लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले आइतबारसम्म लम्बिइएको अदालतले जनाएको छ ।

९. रेल दुर्घटनामा नेपालीको मृत्यु

भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

१०. फ्राइडे रिलिज

आज शुक्रबारबाट नेपाली हलमा एक हिन्दी सहित दुई नयाँ फिल्म रिलिज भएका छन् । फिल्म हुन् ‘केटी हराएको सूचना’ र ‘डाकु महाराज’ । यी दुवै फिल्म देशभर एकसाथ रिलिज भएका हुन् । यद्यपि देशभरका हल यी दुई फिल्मले मात्र कब्जा जमाएको छैन । किनभने अघिल्लो साताको ‘कार्साङ’, ‘गेम चेन्जर’ र त्यस अगाडिका ‘पूर्ण बहादुरको सारङ्गी’, ‘पुष्पा २’ लगायत फिल्मले अझै केही स्टेसनमा निरन्तरता पाइरहेको छ ।

यो पनि....

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप