शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय
क्रान्तिकारीको निर्वाचन

क्रान्तिको विरासत सम्हाल्न तयार हुँदै नयाँ पुस्ता

शुक्रबार, ११ माघ २०८१, २० : ०९
शुक्रबार, ११ माघ २०८१

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको महासचिव पदमा प्रतीक कार्कीले उम्मेदवारी दिएका छन् । चार वर्षको उमेरमै जनयुद्धमा आमाबुवा गुमाएका प्रतीक आज स्पष्ट दृष्टिकोणसहित अगाडि आएका छन् । समाजप्रतिको उनको गहिरो बुझाइ र विश्लेषणले उनी विद्यार्थी सङ्गठनको मात्र नभएर समग्र समाजलाई नेतृत्व गर्ने क्षमता राख्छन् । उनी जस्तै समावेशी उपाध्यक्षमा उम्मेदवारी दिएका सन्दीप पुनले पनि जनयुद्धका क्रममा आफ्ना आमाबुवा गुमाएका थिए । 

खुला उपाध्यक्षमा मनोनयन गरेका अटल आचार्य र उपमहासचिव पदका प्रत्याशी जटिल कार्कीले पनि आफ्ना पितालाई क्रान्तिमा गुमाएका थिए । यी सबै विशिष्ट प्रतिभा र सामर्थ्यका धनी छन् । साथै, ध्रुव रावलसहित अन्य धेरै शहीदका सन्तानले नेतृत्वको दाबी गर्दै उम्मेदवारी दिएका छन् । 

जनयुद्धमा सहादत प्राप्त गरेका केही सन्तानहरूले क्रान्तिको नासो र विरासतलाई नयाँ शिराबाट अगाडि बढाउने उत्साह देखाएका छन् । अहिले आन्दोलन गतिरोधको सिकार भएको छ र नकारात्मक प्रवृत्तिहरू हाबी भइरहेका छन् । यस्तो बेला सहादत प्राप्त सन्तानहरूलाई सही शिक्षा, प्रोत्साहन र उचित जिम्मेवारीको वातावरण दिनु महत्त्वपूर्ण छ । उनीहरूलाई एकअर्काविरुद्ध जुधाउनुको साटो क्रान्तिको साझा उत्तरदायित्वका लागि तयार पार्नु आवश्यक छ ।

क्रान्ति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने एउटा साझा जिम्मेवारी हो । क्रान्तिकारीका सन्तानहरूले क्रान्तिलाई निरन्तरता दिनुपर्छ भन्ने बाध्यता नरहे पनि तिनीहरू आन्दोलनबाट टाढा भाग्नुपर्छ भन्ने धारणा झन् अनुचित ठहर्छ । 

क्रान्तिको उत्तराधिकार भनेको नयाँ पुस्ताले पुरानो पुस्ताका बलिदानलाई सम्झना गर्दै तिनलाई सकारात्मक परिवर्तनमा रूपान्तरण गर्नुपर्ने साझा जिम्मेवारी हो । तर, हामीले विगतदेखि देखेका छौं—जब आन्दोलनमा विकृति आउँछ, प्रभावशाली नेताहरूले सुविधाको बाटो रोज्छन् र आफ्ना सन्तानलाई राजनीतिक केन्द्रमा ल्याउन खोज्छन् । तर, जब राजनीति सङ्कटमा पर्छ, त्यतिबेला भने जनताका छोराछोरी खोज्ने प्रवृत्ति दोहोरिन्छ ।

क्रान्तिकारी आन्दोलनको नेतृत्वमा रहेका नयाँ पुस्ताले पुरानो पुस्ताको उपलब्धिहरूको निर्मम समीक्षा गर्दै भविष्यका नयाँ बाटाहरू खोज्नु जरुरी छ । नयाँ पुस्ताको यो जिम्मेवारीलाई पुरानो पुस्ताले आत्मसात गर्दै सहयोगी भूमिका खेल्नु आवश्यक छ । यदि कुनै नकारात्मक प्रभावले उनीहरूलाई प्रभावित गरेको छ भने त्यस प्रभावबाट मुक्त गराउन क्रान्तिका हिमायतीहरूले भूमिका खेल्नुपर्छ । 

क्रान्तिकारी आन्दोलनले सधैं नवीनता र सुधार खोज्छ । यो नवीनता पुरानो पुस्ताका गलत अभ्यासको अन्त्य गर्दै नयाँ पुस्ताले सही मूल्य र उद्देश्यमा आधारित परिवर्तनको खाका तयार गर्नबाट मात्र सम्भव छ ।

जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको बलिदानले हाम्रो समाजलाई नयाँ सोच र परिवर्तनको आधारशिला प्रदान गरेको थियो । ती बलिदानको सम्मान गर्ने उत्तम तरिका भनेको उनीहरूको नासोमा रहेको निरन्तर क्रान्तिलाई सही दिशा दिनु हो । सहादत प्राप्त गरेका सन्तानलाई परिवर्तनका हिमायतीहरूले सम्मानजनक जिम्मेवारी प्रदान गर्न प्राथमिकता दिनुपर्छ । जसले गर्दा उनीहरू क्रान्तिकारी मूल्यलाई संरक्षण र प्रवर्द्धन गर्न सक्षम बनुन् ।

तर, यो पनि सत्य हो कि शहीदका सन्तानहरूले मात्रै क्रान्तिको नासो बोकेको भन्ने मान्यता गलत हो । क्रान्तिको उत्तराधिकारी सिङ्गो नयाँ पिँढी हुनुपर्छ ।  

यो सच्चाइलाई हामीले स्विकार्नु पर्छ, शहीद परिवारका सदस्यहरूलाई राजनीतिमा ल्याउँदा जनताको सहानुभूति र समर्थन स्वाभाविक रूपमा प्राप्त हुन्छ । शहीदहरूले देखेका परिवर्तनका सपना पूरा गर्ने प्रेरणा उनीहरूमा हुन्छ । जसका कारण राजनीतिमा इमानदार र पारदर्शी नेतृत्वको विकास गर्छ । शहीद परिवारप्रति जनताको सम्मान र भावनात्मक लगावले उनीहरूको राजनीतिक यात्रालाई सहज र प्रभावकारी बनाउन सक्छ ।

शहीद परिवारका सदस्यहरूले समाजमा त्याग र समर्पणको सन्देश प्रवाह गर्न प्राधिकार हुन्छ । यसले राजनीतिमा एउटा नयाँ संस्कारको स्थापना गर्न पनि मद्दत गर्दछ । यस्तै, उनीहरूलाई राजनीतिमा ल्याउँदा विभिन्न क्षेत्र र वर्गका मानिसलाई मुख्य धारमा समेट्ने अवसर सिर्जना हुन्छ । 

अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेपछि पलाएको नकारात्मक ऐजेरुहरूलाई छिमल्दै नयाँ पालुवाहरू क्रान्तिको मैदानमा उमार्ने कामको सुरुवात पनि प्रतीक कार्की, बिराज थापाहरूको पुस्ताले गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप