शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय
सुप्रिम सहकारी ठगी प्रकरण

रवि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार ८ वकिलले बहस गर्ने

शुक्रबार, ११ माघ २०८१, १९ : २९
शुक्रबार, ११ माघ २०८१

बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका थिए ।  

शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र   लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले आइतबारसम्म लम्बिइएको अदालतले जनाएको छ ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार ५ जनाले बहस गरेको बताए । जसमा जाहेरीवालाको तर्फबाट २ र प्रतिवादीका तर्फबाट ३ गरी ५ जनाले बहस गरेकोमा नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको उनले बताए ।  लामिछानेलाई परिवारको जिम्मा लगाउने र आइतबार उपस्थित हुने आदेश भएको उनले बताए । उनले भने, ‘अब आइतबार फेरि बहस हुन्छ अनि  जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ भएपछि बल्ल आदेश आउँछ ।’

शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।  

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए ।  अव आइतबार प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् ।

शुक्रबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भएको थियो ।  सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी)  राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ  ६ गते पूरक मुद्दा दर्ता भएको थियो । लामिछाने काठमाडौँ जिल्ला अदलबाट धराैटीम रिहा भएपछि मंगलबार  रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप