उपेन्द्र यादव सत्ता पक्ष कि विपक्षमा ?
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल अहिले न सत्ता पक्षमा देखिएको छ, न त विपक्षमा । बरु मधेसमै मोर्चा बनाउन जसपा नेपाल सक्रिय देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार बनाउन सहयोग गरे पनि प्रदेशदेखि संघसम्म कुनै पनि सरकारमा जसपा नेपाल सहभागी छैन ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उनका पार्टीका नेताहरूको अभिव्यक्ति तथा गतिविधि हेर्दा विपक्षी दल हो कि भन्ने लागे पनि जसपा नेपाल विपक्षी कित्तामा पनि उभिएको छैन ।
जसपा नेपालका महसचिव रामकुमार शर्मा भन्छन्, ‘हामी न सत्ता पक्ष हौँ, न विपक्षी । देशमा परिवर्तनका लागि संघर्षको तयारीमा लागेका छौँ ।’
एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्ने बेला संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका कारण जसपा नेपालले सरकारलाई समर्थन गरेको शर्माले प्रस्ट पारे । तर आफ्नो पार्टी सरकारमा नरहेकाले जसपा नेपाललाई सत्ताधारी दल भन्न नमिल्ने उनले बताए ।
शर्माले भने, ‘हामीले सरकारलाई आलोचनात्मक समर्थन गरेका छौँ । हामीलाई सत्ताधारी दल भन्न मिल्दैन ।’
तर जसपा नेपालले आफूलाई विपक्षमा पनि राखेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउने विपक्षी दलको बैठकमा पनि जसपा नेपाल सहभागी हुने गरेको छैन । यहाँसम्म कि समाजवादी मोर्चा बनाउन सक्रिय भूमिका खेलेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सो मोर्चाको बैठकमा पनि जान छाडेका छन् ।
महासचिव शर्माका अनुसार मोर्चाको बैठकमा नजानुको मुख्य कारण माओवादीका अध्यक्ष प्रचण्ड हुन् । ‘उहाँले हामीलाई धोका दिनुभएको हो,’ उनले भने, ‘त्यही भएर हामी उहाँसँग सहकार्य गर्ने पक्षमा छैनौँ ।’
माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपा नेपाल सहभागी भएकै बेला सो पार्टी विभाजन भएको थियो ।
पार्टी विभाजनमा तत्कालीन प्रधानमन्त्री प्रचण्डको भूमिका रहेको जसपा नेपालको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंले पनि जसपा नेपाल विभाजनमा आफ्नो भूमिका स्वीकार गरेका छन् ।
यसरी एउटै मोर्चा, एउटै सरकारमा रहँदा पनि पार्टी विभाजनसम्मको षड्यन्त्र गरेको भन्दै प्रचण्डसँग अब कुनै सहकार्य नहुने निष्कर्षमा जसपा नेपाल पुगेको हो ।
जसपा नेपालबाट अशोक राईले सात जना सांसद लिएर छुट्टै पार्टी ‘जसपा’ गठन गरेका छन् ।
आफ्नो पार्टी विभाजन गराइदिएको भन्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति रुष्ट छन् । यी दुवै नेताको बिचमा पछिल्लो समय बोलचालसमेत भएको छैन । जबकि यसअघि दुवै जना एक अर्कालाई सहयोग गरेर अगाडि बढ्दै आएका थिए ।
जसपा नेपालका अध्यक्ष यादवले सञ्चारकर्मीसँग भनेका छन्, ‘प्रचण्डलाई हरेक मोर्चामा साथ दिएँ तर उहाँले मलाई धोका दिनुभयो । प्रचण्डलाई साथ दिनेहरूले जहिले पनि उहाँबाट धोका पाउँछन् ।’
जसपा नेपालका महासचिव शर्माले जसपा नेपाल विभाजन गरेकोमा सार्वजनिक रूपमा माफी नमागेसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सहकार्य नहुने प्रस्ट पारे ।
‘समाजवादी मोर्चा जसपा नेपालले बनाएको हो । मोर्चासँग हामीलाई कुनै प्रकारको आपत्ति छैन,’ शर्माले भने, ‘तर त्यहाँ अध्यक्ष प्रचण्ड भएका कारण हामी गएका छैनौँ ।’
उनले प्रचण्ड नेतृत्वको विपक्षी गठबन्धनमा जाने प्रसङ्ग नै नआउने दाबीसमेत गरे ।
मधेसमा नयाँ खालको ध्रुवीकरणको गृहकार्य भइरहेको बताउँदै महसचिव शर्माले जसपा नेपाल अहिले त्यसकै तयारीमा रहेको प्रस्ट पारे । देशका शासकसँग अन्तिम लडाइँ लड्नका लागि मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिलालगायत पिछडिएका समुदायलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ । त्यसैले पनि अहिले जसपा नेपाल सत्ता पक्ष वा विपक्षको भूमिकाभन्दा माथि उठेर आफ्नो गतिविधि अघि बढाइरहेको उनले बताए ।