शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
राप्रपा बैठक

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै धवलशमशेरले ल्याए छुट्टै राजनीतिक विचार

चिचीको पनि र पापाको पनि लोभ गर्ने बेला भएको छैनः राणा
शुक्रबार, ११ माघ २०८१, १५ : २५
शुक्रबार, ११ माघ २०८१

काठमाडौँ । राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक विचार प्रस्तुत गरेका छन् । उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिने ढंगले लिखित रूपमै आगामी योजनासहितको राजनीतिक विचार प्रस्तुत गरेका हुन् । राप्रपाका नेताहरुले महामन्त्रीले पेस गरेको प्रस्ताव ‘फरक मत’ कै रूपमा आएको दाबी गरे । तर, महामन्त्री राणाले भने पार्टी निर्माणका लागि आफूले बैठकमा राजनीतिक विचार प्रस्तुत गरेको बताएका छन् । 

६ पृष्ठ लामो उक्त विचारमा उनले एकता महाधिवेशनपश्चात् पार्टीले नयाँ गति लिने, गुणात्मक फड्को मार्ने तथा विधानको पालना भएर पार्टीको आन्तरिक प्रजातन्त्र सुदृढ हुन्छ भन्ने आम अपेक्षा गरिए पनि एकपछि अर्को समस्याहरूले गर्दा पार्टीपंक्तिमा चिन्ताको सञ्चार भएको उल्लेख गरेका छन् । 

यस्तै जनताको विश्वास आर्जन गर्ने सवालमा मात्र नभएर आन्तरिक परिचालनमा समेत सुधारको आवश्यकता रहेको राणाको भनाइ छ । राणाले महाधिवेशनको कार्यादेश, पार्टीको घोषित नीति र लक्ष्य कार्यान्वयनमा शिथिलता देखिएको उल्लेख गर्दै एकता महाधिवेशनको मर्म र भावना अनुरूप पार्टीलाई एक ढिक्का राख्न नयाँ सक्रियता र सत्प्रयासको अभाव देखिएको उल्लेख गरेका छन् । 

‘नयाँ नेतृत्वलाई ‘पुरानो विश्वविद्यालय’ को गल्ती कमजोरी दोहोर्‍याउने सुविधा छैन भन्ने उद्घोष थियो । तथापि गुटबन्दीको वातावरण सिर्जना हुने, आलोचना र आलोचक प्रति असहिष्णु देखिने र पार्टी छाडेर गए हुन्छ भन्ने किसिमको सन्देश प्रवाह भएमा त्यो संस्थागत विकास र एकताको पक्षमा हुने छैन’, अध्यक्ष लिङ्देनलाई कटाक्ष गर्दै उनले भनेका छन्, ‘महाधिवेशन लगत्तै ६ महिनाभित्र समान विचारधारा भएका दल, समूह, संस्था र व्यक्तिलाई एकताबद्ध गर्दै राजसंस्था, हिन्दु अधिराज्य लगायतका लक्ष्य प्राप्त गरिन्छ भन्ने नेतृत्वको सार्वजनिक प्रतिबद्धता आजकहाँ पुग्यो इमानदार भएर लेखाजोखा गर्नु परेको छ ।’

एकता महाधिवेशनको कार्यादेश सत्ताकेन्द्रीत नभई सिद्धान्त र जनता केन्द्रित राजनीति भएपनि पछिल्लो समय त्यसो हुन नसकेको राणाको भनाइ छ । 

यस्तै  राजसंस्थासहित हिन्दु राष्ट्रको पुनर्स्थापना, भ्रष्टाचार र धर्म परिवर्तनको विरोध तथा बेरोजगारी समस्या समाधानका निम्ति राष्ट्रव्यापी जनसंघर्ष सुरु गरिने गत महाधिवेशनको निर्णय भएपनि महाधिवेशनको म्यान्डेटप्रति कति इमानदार भइयो भन्ने प्रश्न धेरैको मनमा आउन थालेको राणाको प्रतिवेदनमा उल्लेख छ । 

‘पार्टीभित्र आन्दोलनको तयारी र कार्यान्वयनमा विभिन्न व्यवधान गम्भीर चिन्ताको विषय बनेको छ भने सदनमा समेत हाम्रो भूमिका प्रभावकारी रहन सकेको छैन । यस अर्थमा सडक र सदन दुबै मोर्चामा पार्टी कमजोर देखिन थालेको छ । मूलतः लक्ष्य र सिद्धान्तप्रतिको निष्ठा, पार्टी एकता जस्ता विषयमा विभिन्न प्रश्नहरु उब्जिएका छन्’, राणाको भनाइ छ, ‘त्यसैले महाधिवेशनको कार्यादेश हृदयंगम गर्दै राप्रपाको एकता, बृहत्तर हित, आन्तरिक प्रजातन्त्र र लक्ष्य प्राप्ति प्रतिको निष्ठा एवं इमान्दारीलाई मूलमन्त्र मानेर पार्टीलाई एकताबद्ध, विधिसम्मत अघि बढाउन आवश्यक छ ।’

उनले पार्टीको घोषित नीति, सिद्धान्त र सार्वजनिक प्रतिबद्धता विपरीत सरकारमा गएको अवस्थामा सिर्जित विश्वासको खाडल अझै कायम हुन नसकेकाले बैठकमा छलफल हुनुपर्ने प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए । 

यस्तै पार्टी सरकारमा गएपछि लोकप्रियता खस्केको, स्थानीय तह उपनिर्वाचनमा असफलता भोगिएको, नवीन राप्रपाको अवधारणा कार्यान्वयन नभएको, नेतृत्वले पार्टीका नेताहरूबारे मिथ्याङ्क प्रस्तुत गरेको, पार्टीमा समन्वय नभएको जस्ता विषयमा पनि बैठकमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेका छन् । 

rpp

अबको बाटो के ? 

यस्तै राणाले पार्टीले आगामी दिनमा लिनुपर्ने बाटोबारे पनि खुलाएका छन् । जसअनुसार उनले समान विचारधारा भएका सबै व्यक्ति, समूह, संस्था, संगठन र दलहरूको एकतामा, सडक र सदनमध्ये अवस्था र आवश्यकता अनुरूप सडकको प्रभावकारी बाटो रोज्दै राजसंस्था, हिन्दु अधिराज्य पुनर्स्थापना गर्न अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । यस्तै बेथिति, भ्रष्टाचार, नैतिकपतन र नैराश्यताबीच सुशासनविरुद्ध सडकमा जानुपर्ने उनको प्रस्ताव छ । ‘सडकमा राप्रपाको माग र खोजी भइरहेको बेला, राप्रपा निर्णायक नबने इतिहासले धिक्कार्ने छ । चिचीको पनि लोभ र पापाको पनि लोभ गर्ने बेला छैन, फलाम तातिएको बेला दत्तचित्त भएर सडक केन्द्रीत आन्दोलनमा होमिनुको विकल्प छैन,’ उनको भनाइ छ । 

यस्तै नीति, सिद्धान्त र लक्ष्यप्रति कटिबद्ध कार्यकर्तालाई पार्टीको गहना मानेर सिर्जनात्मक सुझाव र आलोचनाको सम्मान गर्नु जरुरी भएको उल्लेख गर्दै राणाले खुला बहस, फरक मत, असहमति बीचको सहमति प्रजातान्त्रिक अभ्यासका सार्थक आधार व्यवहारमा रुपान्तरण गर्नु आवश्यक भएको बताएका छन् । 

उनले लिङ्देनको बाँकी रहेको दश महिनाको कार्यकालमा विधान र महाधिवेशनको कार्यादेश पूर्ण पालना गर्दै आन्दोलनमा अर्जुनदृष्टि राखेर पार्टी संरचनाको सशक्त परिचालन गर्नु उपयुक्त हुने प्रस्ताव गरेका छन् ।  यही रणनीतिबाट मात्र पार्टीलाई एकताबद्ध गर्दै राप्रपाको मूल्य र मान्यता स्थापित गर्न सकिने उनको धारणा छ । राप्रपाभित्र पछिल्लो समूह लिङ्देन र इतरसमूहबीच विवाद बढेको भनिएको बेला राणाबाट फरक राजनीतिक विचार आएको हो । 

शुक्रबारदेखि धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सुरु बैठकमा यसअघि लिङ्देनले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए।  बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

प्रतिवेदन पेस गर्दै लिङ्देनले कांग्रेस–एमाले मिलेर बहुदलीय व्यवस्था मास्न लागिपरेको आरोप लगाएका छन् । यस्तै उनले दुई दलीय व्यवस्था कायम गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसविरुद्ध पार्टी चनाखो हुनुपर्नेमा जोड दिएका छन् । 

बैठकमा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले समेत आर्थिक प्रतिवेदन पेस गरेका छन् । पेस भएका प्रतिवेदनहरुमाथि छलफलपछि आवश्यक निर्णय गरेर शनिबार बैठक सक्ने राप्रपाको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप