सत्ताबाट हटेपछि प्रचण्ड देश दौडाहामा, ६ महिनामा कहाँ–कहाँ पुगे ?
काठमाडौँ । उमेरले ७१ वर्ष लागेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता निकै लोभलाग्दो देखिन्छ ।
असार ३१ गते प्रधानमन्त्रीबाट हटेपछि केही दिन निजी निवास खुमलटारमा आराम गरेका उनी साउन १० गते यता पार्टीको आन्तरिक बैठक, विपक्षी दलहरू र समाजवादी मोर्चाको बैठकमा सक्रिय देखिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारले अगाडि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई अभियानकै रूपमा लिएर देशव्यापी दौडाहामा निस्किएका छन् । कहिले सुदूरपश्चिमको कञ्चनपुर, कहिले पूर्वी नेपालको झापा पुगेका छन् । बिहीबारमात्रै उनी खजुरा गाउँपालिका बाँकेमा आयोजित खबरदारी सभामा भाग लिन पुगे । सभालाई सम्बोधन गर्दैै प्रचण्डले २०६४ सालको निर्वाचनमा जस्तै माओवादीलाई बहुमत दिएमा देशबाट भ्रष्टाचार निर्मुल पार्ने दाबी गरे ।
‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ को निर्वाचनमा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एकपटक नयाँ लडाइँ लड्नुछ । त्यसका लागि तपाईंले साथ दिनुपर्नेछ ।’
माओवादी आफ्नै खुट्टा, आफ्नै एजेण्डामा उभिने दाबी गर्दै प्रचण्डले भ्रष्टाचारीसँग समीकरण नगरिने पनि प्रस्ट पारे ।
कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध अभियान नै बनाएर आफू देश दौडाहामा निस्किएको जिकिर गरे । ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा म देशभर अभियानमा छु । मेरो नेतृत्वमा बनेको सरकारले आफ्नो वा अर्को नभनी भ्रष्टाचारविरुद्ध अभियान थाल्यो । तर भ्रष्टाचारीहरूले षड्यन्त्रपूर्वक मलाई सरकारबाट हटाए’, स्थानीय जनतालाई आश्वस्त पार्दै उनले भने, ‘म अब जनतामा फर्किएको छु । हाम्रा पनि केही कमी–कमजोरी भएछन् । त्यसमा हामीले गम्भीर समीक्षा गरेका छौँ । अब त्यस्तो गल्ती दोहो¥याइँदैन ।’
आफू भ्रष्टाचार विरोधी अभियानकै क्रममा कहिले कञ्चनपुर, कहिले झापा, कहिले हिमाल, कहिले मधेस पुगेको प्रचण्डले बताए । ‘जता गए पनि हजारौँ कार्यकर्ता माओवादीमा समाहित भएका छन्,’ उनले भने ।
यही पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकमार्फत प्रचण्डले आफूमात्र नभइ पार्टीका सम्पूर्ण जबस÷मोर्चा, विभाग, पार्टीपंक्तिलाई जिम्मेवारी दिएर ‘जनतासँग माओवादी’ अभियान लिएर पालिकामा खटाउने तयारी गरेका छन् । पदाधिकारीदेखि सबै केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिनेगरी माघ ८ गते बसेको पदाधिकारी बैठकमा उनले कार्यविभाजन प्रस्ताव पेस गरेका छन् । अब बस्ने बैठकले जिम्मेवारी हेरफेरसम्बन्धी निर्णय गर्ने सो पार्टीका नेताहरूको भनाइ छ ।
जनयुद्धको अवसर पारेर माओवादीले पूर्व–पश्चिम मध्यपहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय केन्द्रीय समिति बैठकमार्फत गरेको थियो ।
उपमहासचिव गिरिराजमणि पोखरेलले समाजवादको आधार तयारका लागि माओवादीले नेतृत्व गरेको १२३ पालिकालाई नमुना बनाउने, पार्टी रुपान्तरण, जनपरिचालन अभियानकै उचाइमा प्रचण्डको भ्रमणलाई लिनुपर्ने बताएका छन् ।
‘भर्खर सम्पन्न भएको केन्द्रीय समिति बैठकले संविधानमा व्यवस्था भएको समाजवाद उन्मुख समाजवादी आन्दोलनको आधार तय गर्न नयाँ पार्टी निर्माणको साथसाथै विचारको संश्लेषण गर्ने निर्णय गरेको छ,’ रातोपाटीसँग पोखरेलले भने, ‘माओवादीले नेतृत्व गरेको १२३ पालिकालाई नमुना बनाउने, अभियान चलाउने, जनपरिचालन गर्ने भनिएको छ । प्रचण्डको भ्रमणलाई त्यही ढंगले बुझ्नुपर्छ ।’
सत्ताच्यूत भएपछि फुर्सदिला देखिएका प्रचण्डले साउन १० गतेदेखि १५ गतेसम्म पदाधिकारी बैठक बोलाएर नेताहरूका घण्टौँ लामा भाषण सुने । पार्टी निर्माण र समाजवादी क्रान्तिको आधार तय गर्न विचार संश्लेषण आवश्यक रहेको निष्कर्ष निकाल्दै उनले साउन २६ देखि ३१ गतेसम्म स्थायी समिति बैठक बोलाए ।
स्थायी समिति बैठकले नै एक महिनासम्म सबै प्रदेशमा परामर्श बैठक राखेर स्थानीय नेताहरूको विचार, भावना बुझ्ने निर्णय ग¥यो । सबैबाट आएका सुझाव र सल्लाहका आधारमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक दस्ताबेज केन्द्रीय समिति बैठकबाट पारित भएको छ ।
कांग्रेस र एमालेसँग मिलेर झण्डै १९ महिना सरकार चलाएका प्रचण्डले २०८४ सम्म आफू सत्तामा नफर्किने बताउँदै आएका छन् । सुशासन, सामाजिक न्याय र देशको समृद्धिका लागि ओली सरकारको बहिर्गमन अनिवार्य शर्तका रूपमा प्रचण्डले लिएका छन् ।
गठबन्धन सरकारमाथि दबाब बढाउन संसदमा विपक्षी दलहहरूसँग मोर्चाबन्दी, समाजवादी मोर्चालाई सक्रिय बनाउनुको साथै देशव्यापी रूपमा जनसम्पर्कलाई प्रचण्डले महत्त्व दिएका छन् ।
पार्टीको आन्तरिक बैठकमा प्रचण्डले अब पार्टी फेरि २०६४ मा फर्काउने गरी आफू देशव्यापी स्थानीय जनतामाझ जाने घोषणा गरे । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा माओवादीले सिटसहित झण्डै ४० हजार मत बढाएपछि उत्साहित भएका उनी पार्टीलाई चलायमान बनाउने धुनमा छन् ।
प्रचण्ड जहाँ बास बस्छन्, त्यहाँ स्थानीयसँगै खाना खाने, मर्निङवाक गर्ने, उनीहरूका कुरा सुन्ने गर्दै आएका छन् । दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री भएर पनि ओली सर्वत्र आलोचनाको सिकार भइरहेको बेला विपक्षी राप्रपादेखि रास्वपा समेतको मोर्चाबन्दी गर्न उनी सफल भएका छन् ।
- ६ महिनामा देशभर प्रचण्ड कहाँ–कहाँ पुगे ?
भदौ ५ र ६ गते बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठकमा सहभागी ।
भदौ ७ र ८ गते उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा परामर्श बैठकमा सहभागी ।
भदौ ९ र १० गते गण्डकी प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ १२ र १३ गते सुदूपश्चिम प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ १४ र १५ गते कर्णाली प्रदेशका परामर्श समिति बैठकमा सहभागी ।
भदौ १६ गते नेपालगञ्जस्थित रंगशालाको अवलोकन ।
भदौ १६ र १७ गते लुम्बिनी प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ १८ गते महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को कार्यक्रममा सहभागी ।
भदौ १८ र १९ गते पार्टीको तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठकमा सहभागी ।
भदौ २२ गते ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको १२ वर्षे मेलाको समापन कार्यक्रममा सहभागी ।
भदौ २२ र २३ गते कोशी प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ २४ गते उदयपुरमा पार्टीको कार्यक्रममा सहभागी ।
भदौ २४ गते महोत्तरीको कार्यक्रममा सहभागी ।
भदौ २४ र २५ गते मधेस प्रदेश परामर्श समिति बैठकमा सहभागी ।
भदौ २५ गते सिरहामा आयोजित कार्यक्रममा सहभागी ।
भदौ २७ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ को कार्यक्रममा सहभागी ।
भदौ २७ र २८ गते ज.व.स.÷मोर्चा र केन्द्रीय विभागहरूको बैठकमा सहभागी ।
भदौ २९ गते विराटनगरमा भएको सभामा सहभागी ।
भदौ ३० गते झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी ।
भदौ ३१ आश्विन १ गते प्रवास प्रदेश परामर्श बैठकमा सहभागी ।
असोज २ र ३ गते ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकार परामर्श बैठकमा सहभागी ।
असोज १५ गते भक्तपुरमा आयोजित कार्यक्रममा सहभागी ।
असोज १६ गते काभ्रेमा बाढीपहिरो प्रभावित क्षेत्रमा अवलोकन ।
कात्तिक ३ गते चितवनमा जनयुद्धका वेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति सभामा सहभागी ।
कात्तिक ५ गते जुम्लामा आयोजित कार्यक्रममा सहभागी ।
कात्तिक ९ गते मकवानपुरको विभिन्न कार्यक्रममा सहभागी ।
कातिक १५ गते भक्तपुरमा आयोजित कार्यक्रममा सहभागी ।
कात्तिक २४ गते मकवानपुरको विभिन्न कार्यक्रममा सहभागी ।
कात्तिक २८ गते कीर्तिपुरको चुनावी सभालाई सम्बोधन ।
मंसिर ५ गते गोरखाको विभिन्न कार्यक्रममा सहभागी ।
मंसिर १३ गते कीर्तिपुरको चुनावी सभालाई सम्बोधन ।
मंसिर २५ गते चितवनको विभिन्न कार्यक्रममा सहभागी ।
मंसिर २७ गते धादिङको बेनिघाटमा आयोजित कार्यक्रममा सहभागी ।
मंसिर २९ गते रुपन्देहीको आयोजित विभिन्न कार्यक्रममा सहभागी ।
पुस १३ गते कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभामा सहभागी ।
पुस १५ गते झापामा पार्टी प्रवेश कार्यक्रममा सहभागी ।
पुस १६ गते चितवनको भरतपुर महोत्सव कार्यक्रममा सहभागी ।
पुस १८ गते उदयपुरको विभिन्न कार्यक्रममा सहभागी ।
पुस २९ गते सिन्धुपाल्चोकको सुकुटेको विभिन्न कार्यक्रममा सहभागी । साथै पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएको । सुकुटेदेखि बलेफीसम्म मर्निङ वाक गरेको ।
माघ ५ गते विराटनगरको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुको साथै विभिन्न कार्यक्रममा सहभागी ।
माघ ७ गते गोरखाको विभिन्न कार्यक्रममा सहभागी ।
माघ ८ गते चितवनको विभन्न कार्यक्रममा सहभागी ।
माघ १० गते सुर्खेत तथा बाँकेमा विभिन्न कार्यक्रममा सहभागी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै धवलशमशेरले ल्याए छुट्टै राजनीतिक विचार
-
रुपन्देही जिल्ला अदालतमा रवि लामिछाने पक्षका वकिलको बहस जारी
-
बाँकेमा पाटेबाघ मृत भेटियो
-
गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा
-
सामाखुसी–बसुन्धारा क्षेत्रको सर्भिस लेन कालोपत्र, तस्बिरहरु
-
मधेस सरकारले लियो कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता