शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

रविको मुद्दामा जाहेरवालाको तर्फका वकिलको बहस सुरु

शुक्रबार, ११ माघ २०८१, ११ : ४२
शुक्रबार, ११ माघ २०८१

बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको थुनछेकमा अहिले जाहेरीवालाको तर्फबाट बहस सुरु भएको छ । आज जिल्ला अदालतका पाँच नम्बर न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहसमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस  सुरु गरेका हुन् । बहस सुरु भएको जिल्ला अदालत रुपन्देहीका रजिस्टार यज्ञमूर्ति ज्ञवालीले बताए । 

त्यसपछि रवि पक्षका ८ जना कानुन व्यवसायीले बहस गर्नका लागि नाम टिपाएको उनले रातोपाटीलाई बताए ।  उनीहरूको बहस सकिएपछि  सरकारी वकिलहरूको सवाल जवाफ हुने समेत उनले बताए ।  बिहीबार वादीका तर्फबाट ८ जना सरकारी वकिलले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट  दिनेश त्रिपाठीले बहस गरेका थिए ।

गोर्खा मिडिया नेटवर्क मार्फत बुटवलको सुप्रिम सहकारीको बचत अपचलन सम्बन्धी प्रकरणमा जोडिएका लामिछानेविरुद्ध  जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा गत आइतबार दर्ता भएको हो । सोही मुद्दाको थुनछेक बहसका लागि लामिछाने बुधवार आफैँ अदालतमा हाजिर भएका थिए । बुधवार बयान सकेर बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो । लामिछानेका तर्फबाट सुशील पन्त , नारायणदत्त कँडेल, सुनिता राउत, सुरेन्द्र थापा, सञ्जय गोले लगायतका वकिलहरू पनि लामिछानेको बहस गर्ने तयारी गरेका छन् । 

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीवी) राई सहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो । ती २२ जनाबाट सामूहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ । 

गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक गितेन्द्रबाबु (जीवी) राई, पूर्वडीआइजी छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेल र लक्ष्मी पौडेलको समूहले सहकारी ऐन विपरीत सुप्रिमबाट  १० करोड ९९ लाख ३६ हजार रुपैयाँ लगेर अपचलन गरेको पुष्टि भएको भन्दै ती पाँच जनाबाट त्यति नै बराबरको अर्थात् १० करोड ९९ लाख ३६ हजार बिगो पनि दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप