दुई बुँदे सहमतिपछि ३१ औँ दिनमा खुल्यो कटहरिया नगरपालिकाको ताला
रौतहट । नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरूले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको छ।
मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादवसहित वडा अध्यक्षहरूबिच दुई बुँदे सहमतिपछि बिहीबार साँझ ३१ औँ दिनमा तालाबन्दी खुलेको हो।
रौतहटका सीडीयो हिरालाल रेग्मीको पहलमा स्थानीय प्रशासनले सहजकर्ताको भूमिका निर्वाह गरेपछि सहमति जुटेको हो ।
मेयर जैसवालका समर्थकले नगरपालिका को ताला खोल्ने तथा उपमेयर सहित असन्तुष्ट वडा अध्यक्षहरुको समर्थकले खोल्न नदिने भन्दै बिहीबार दिउँसो आमने सामने हुँदा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो।
घटनाको सुइँको पाएर कटहरिया नगरपालिका कार्यालय वरपर बिहानैदेखि जम्मा भएका नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले अवस्था साम्य बनाएपछि दुईपक्षीय छलफल सुरु भएको थियो।
यस अघि मेयर मेयर जैसवालको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले गलत तरिकाले मिति २०८१ मङ्सिर २० गतेको नगर कार्यपालिका बोर्डको बैठकले गरेको भन्दै लेखेको सम्पूर्ण निर्णय तत्काल कार्यान्वयन नगर्ने, अब आउने प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा हुने पहिलो बैठकमा पेस गरी अनुमोदन हुने बुँदाहरू मात्र कार्यान्वयन गर्ने सहमति भएको थियो।
त्यसैगरी आगामी बैठकमा असन्तुष्ट पक्षका मागहरू आम जनताको विद्युत् महसुल चुक्ता गर्ने ,कर्मचारीको तलब भुक्तानी गर्नुपर्ने, आन्तरिक राजश्व बाँडफाँड बाट आएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने, कर्मचारी सङ्ख्या तथा बाकी बक्यौता सार्वजनिक गरिनुपर्ने, इन्धनको विवरण कुन गाडीमा कति तेल राख्ने गरेको हो स्पष्ट हुनुपर्ने, आव २०७९–०८० देखि गत पुस मसान्तसम्मको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने, कार्यपालिका बोर्डको हरेक बैठक सामाजिक सञ्जालबाट लाइभ हुनुपर्ने लगायत समावेश गर्ने सहमति भएको छ।
कटहरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको भोलिपल्ट बिहीबार भएको दुईपक्षीय सहमति छलफलमा लैजान अथवा कार्यान्वयन गर्न मेयर पक्षले पहल नगरेमा नगरपालिकामा पुनः तालाबन्दी गरिने लिखित सहमति भएको बैठकमा सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले बताए।