शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

नेपाली उत्पादन बेलायती बजारमा आयात गर्नुपर्नेमा राजदूतको जोड

शुक्रबार, ११ माघ २०८१, ०६ : ५०
शुक्रबार, ११ माघ २०८१

लन्डन । संयुक्त अधिराज्य (युके) का लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेले नेपाली उत्पादन बेलायती बजारमा आयात गर्नुपर्नेमा जोड दिएका छन् । राजदूत घिमिरेले लाखौं नेपाली बसोबास गर्दै आएको बेलायतमा नेपाली समुदायलाई मात्र लक्षित गर्न सके व्यावसायिक लाभका साथै नेपालको अर्थतन्त्रलाई समेत टेवा पुग्ने धारणा व्यक्त गरे । 

एकसाता अघि मात्र बेलायतको २३ औँ राजदूतका रुपमा लन्डनस्थित नेपाली राजदूतावासमा आफ्नो कार्यभार सम्हालेका घिमिरेले विदेशमा बसेर मातृभूमि नेपालका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्न आग्रह गरे ।

प्रशस्त सम्भावना र अवसर रहेको नेपालमा विदेशमा सिकेको सीप, ज्ञान र प्रविधि नेपाली भूमिमा लगानी गर्न उनले सुझाएका छन् । ‘नेपाल सरकारले ‘ब्रेन गेन’ लाई आफ्नो नीतिमै राखेको छ’ घिमिरेले भने ‘देशलाई विदेशस्थित नेपाली डायस्पोराबाट सीप, ज्ञानको खाँचो छ ।’

हाइड्रोपावर, टनेल जस्ता प्राविधिक सेक्टरमा नेपालीहरूकै श्रम र ज्ञानको उपयोग गर्न सके देश विकासले फड्को मार्ने उनको विश्वास छ । अहिलेका दोस्रो पुस्ता अझ बढी सक्रिय हुँदै गएको अवस्थामा उनीहरूलाई पनि मातृभूमिप्रति घुलमिल गराउन अभिभावकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा उनले जोड दिए । उनीहरूलाई अहिलेदेखि नै नेपालसँग जोड्न नसके भविष्यमा नेपालसँगको दुरी बढ्न सक्ने उनको चिन्ता छ ।

बेलायत आए लगत्तै दूतावासको जिम्मेवारी सम्हालेका राजदूत घिमिरेको स्वास्थ्यमा सामान्य समस्या आएका कारण यहाँका कुनैपनि सार्वजनिक समारोहमा उपस्थिति भएका छैनन् । यद्यपि दूतावासको नियमित कार्यक्रम र भर्चुअल मिटिङहरूमा भने उनको व्यस्त बढेको छ ।

पछिल्ला दुई राजदूतलाई आफ्नो कार्यकाल पूरा नहुँदै सरकारले फिर्ता बोलाएपछि दूतावासका कतिपय महत्त्वपूर्ण कामहरू थाती छन् । लामो समयदेखि निष्कर्षमा पुग्न नसकेको भूपू गोर्खाहरूको मुद्दा पनि पेन्टिङमा छ । नेपाल र बेलायतको राजनैतिक परिवर्तन, रुस युक्रेन युद्ध आदिका कारण पटकपटक भएका वार्ताहरू पनि टुङ्गोमा पुग्न सकेनन् ।

निजामती सेवामा तीन दशक बढीको अनुभव हासिल गरिसकेका र व्यापार, पारवहन, उद्योग र लगानी क्षेत्रका ज्ञाता राजदूत घिमिरेको पहलमा गोर्खा मुद्दा निष्कर्षमा पुग्ने भूपू गोर्खाहरूको अपेक्षा छ । संसारमा कुनै पनि ठुला भन्दा ठुला समस्याको समाधान अन्ततः वार्ताबाटै भएको उल्लेख गर्दै उनले भूतपूर्व गोर्खा मुद्दा पनि वार्तामात्रै समाधान गर्न आफ्नो पहल निरन्तर रहने अठोट व्यक्त गरे ।

उनले त्यसका लागि गृहकार्य र उपयुक्त समयको पर्खाइमा काम गर्नुपर्नेमा समेत जोड दिए । वार्ता एक पक्षीय होइन, दुई पक्षीय भएकाले बेलायत र नेपाल दुवै पक्षको समझदारीमा वार्ता अगाडि बढ्ने विश्वास उनले दिलाए । ‘डिप्लोमेसी भनेको गेम अफ इन्गेजमेन्ट हो । जति धेरै इन्गेज हुन सक्यौँ हामी समाधानको त्यति नजिक पुग्न सक्छौँ’ राजदूत घिमिरेले भने ‘यो इन्गेजमेन्टबाट हामी लजिकल कन्क्लुजनमा पुग्न सक्छौँ । दुई देशबिचको ऐतिहासिक सम्बन्धको संवेदनशीलतालाई पनि अक्षुण्ण राख्दै, थप संवर्धन गर्दै हामीले यसको समाधान खोज्नु पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप