शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ्

१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म

शुक्रबार, ११ माघ २०८१, ०० : ०४
शुक्रबार, ११ माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. सरकारले खोस्यो जिम्मेवारी 
सरकारले  विभिन्न १३ वटा स्थानीय तहमा निमित्तको कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ।मन्त्रीस्तरीय निर्णयका आधारमा  बिहीबारबाटै लागू हुनेगरी यो व्यवस्था गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

२. सहकारी ठगी प्रकरण
पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिलहरूले बिहीबार ४ घण्टा बहस गरेका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बहस भएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी सम्बन्धी मुद्दामा रविविरुद्ध ८ जना सरकारी वकिलले बहस गरेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय भैरहवाबाट ५ र उच्च सरकारी वकिल बुटवल कार्यालयबाट ३ जनाले बहस गरेका हुन् ।

३. अनिश्चियको भुमरीमा सार्क
सार्कको १९औँ शिखर सम्मेलन हुन नसकेको दशक नाघ्यो । जुन दुई–दुई वर्षमा हुनुपर्ने हो । १८औँ सम्मेलन २०७१ सालमा काठमाडौँमा भएपछि अर्को पाकिस्तानमा २०७३ चैतमा आयोजना गर्ने तय भएको थियो । तर, अहिलेसम्म हुन सकेको छैन । बरु यो सवाल अनिश्चयकै 

४. स्वास्थ्य परीक्षणमा सिन्डिकेट
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुँदै आएको सिन्डिकेट हटाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरूले त्यस्ता श्रमिकको स्वास्थ्य परीक्षण स्थानीयस्तरमै गर्न पाउने व्यवस्था हुनुपर्ने बताए । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट हुँदै आएको भन्दै समितिमा उजुरी दिएको थियो ।

५. पद थप्ने होमवर्कमा एमाले
नेकपा एमालेले विधान संशोधन गरेर पार्टी केन्द्रीय सचिवालयमा केही पद थप्ने गृहकार्य थालेको छ । ११औं राष्ट्रिय महाधिवेशन अघि गर्नुपर्ने विधान महाधिवेशन राष्ट्रिय महाधिवेशनको झन्डै १५ महिनाअघि नै बोलाएर एमालेले ‘अर्ली महाधिवेशन’को संकेत समेत गरेको छ ।

६. डीनविरुद्ध उजुरी
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्राडा बेदराज आचार्यले सरकारी नम्बर प्लेटको गाडी घरायसी काममा प्रयोग गर्दै आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्रिवि संयुक्त विद्यार्थी सङ्घर्ष समितिको तर्फबाट  छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

७. गुरुङको मुद्दा पुनरावलोकन हुने
सर्वोच्च अदालतले विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा मतियार ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने आदेश गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने आदेश गरेको हो ।

८. समिति बैठक
राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्न सहमति जुटेको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सरकारले प्रस्ताव गरेको प्रस्तावनामाथि संशोधन गर्ने सहमति भएको हो ।

९. बहुमतमा धर्मेन्द्रको नेतृत्व
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले उनलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

१०. बीमा प्रिमियम वृद्धि
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बीमा प्रिमियम ८ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुससम्म जीवन बीमा कारोबार गर्ने कम्पनीहरूले ८० अर्ब ६६ करोड बराबरको बीमाशुल्क सङ्कलन गरेका हुन् । अघिल्लो वर्ष ७४ अर्ब २४ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन भएको थियो । यो वर्ष भएको बीमा प्रिमियम अघिल्लो वर्षभन्दा ८.६४ प्रतिशत बढी हो । गत वर्ष यस्तो वृद्धिदर जम्मा ३.६४ प्रतिशत मात्रै थियो ।

११. योजना आयोग
राष्ट्रिय योजना आयोगले १६औँ विकास योजनाको कार्यान्वयन योजना तयार गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधारशिलामा १६औँ योजना तयार गरिएको आयोगले जनाएको छ । यसको कार्यान्वयन योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धि प्रवद्र्धन र जनताको जीवनस्तर सुधार गर्न मार्गदर्शन प्रदान गर्ने अपेक्षा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सुनाइयो ।
यो आर्थिक वृद्धिमा मात्र केन्द्रित नभएको आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले बताए । उनका अनुसार दिगो विकासका साथै सामाजिक न्याय, समावेशिता र समान विकासका सिद्धान्तलाई कार्यान्वयन गर्ने दिशामा केन्द्रित छ ।

१२. चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
चीनले साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ । आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ । स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको शक्ति प्रयोग गरेर अन्तरिक्षमा यात्रा गर्न सहयोग गर्दछ । उक्त प्रक्षेपण दिउँसो १ः१५ मा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप