शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म

बिहीबार, १० माघ २०८१, २२ : ००
बिहीबार, १० माघ २०८१

आज मिति २०८१ साल माघ महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. सहकारी ठगी प्रकरण

पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिलहरूले बिहीबार ४ घण्टा बहस गरेका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बहस भएको हो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी सम्बन्धी मुद्दामा रविविरुद्ध ८ जना सरकारी वकिलले बहस गरेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय भैरहवाबाट ५ र उच्च सरकारी वकिल बुटवल कार्यालयबाट ३ जनाले बहस गरेका हुन् ।

 

२. अनिश्चियको भुमरीमा सार्क

सार्कको १९औँ शिखर सम्मेलन हुन नसकेको दशक नाघ्यो । जुन दुई–दुई वर्षमा हुनुपर्ने हो । १८औँ सम्मेलन २०७१ सालमा काठमाडौँमा भएपछि अर्को पाकिस्तानमा २०७३ चैतमा आयोजना गर्ने तय भएको थियो । तर, अहिलेसम्म हुन सकेको छैन । बरु यो सवाल अनिश्चयकै भुमरीमा छ ।

३. स्वास्थ्य परीक्षणमा सिन्डिकेट

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुँदै आएको सिन्डिकेट हटाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरूले त्यस्ता श्रमिकको स्वास्थ्य परीक्षण स्थानीयस्तरमै गर्न पाउने व्यवस्था हुनुपर्ने बताए ।

नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट हुँदै आएको भन्दै समितिमा उजुरी दिएको थियो ।

४. पद थप्ने होमवर्कमा एमाले

नेकपा एमालेले विधान संशोधन गरेर पार्टी केन्द्रीय सचिवालयमा केही पद थप्ने गृहकार्य थालेको छ । ११औं राष्ट्रिय महाधिवेशन अघि गर्नुपर्ने विधान महाधिवेशन राष्ट्रिय महाधिवेशनको झन्डै १५ महिनाअघि नै बोलाएर एमालेले ‘अर्ली महाधिवेशन’को संकेत समेत गरेको छ ।

 

५. डीनविरुद्ध उजुरी

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्राडा बेदराज आचार्यले सरकारी नम्बर प्लेटको गाडी घरायसी काममा प्रयोग गर्दै आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

 त्रिवि संयुक्त विद्यार्थी सङ्घर्ष समितिको तर्फबाट  छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

 

६. गुरुङको मुद्दा पुनरावलोकन हुने

सर्वोच्च अदालतले विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा मतियार ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने आदेश गरेको छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने आदेश गरेको हो ।

 

७. समिति बैठक

राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्न सहमति जुटेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सरकारले प्रस्ताव गरेको प्रस्तावनामाथि संशोधन गर्ने सहमति भएको हो ।

 

८. बहुमतमा धर्मेन्द्रको नेतृत्व

नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले उनलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

९. बीमा प्रिमियम वृद्धि

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बीमा प्रिमियम ८ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुससम्म जीवन बीमा कारोबार गर्ने कम्पनीहरूले ८० अर्ब ६६ करोड बराबरको बीमाशुल्क सङ्कलन गरेका हुन् ।

 अघिल्लो वर्ष ७४ अर्ब २४ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन भएको थियो । यो वर्ष भएको बीमा प्रिमियम अघिल्लो वर्षभन्दा ८.६४ प्रतिशत बढी हो । गत वर्ष यस्तो वृद्धिदर जम्मा ३.६४ प्रतिशत मात्रै थियो ।

१०. योजना आयोग

राष्ट्रिय योजना आयोगले १६औँ विकास योजनाको कार्यान्वयन योजना तयार गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधारशिलामा १६औँ योजना तयार गरिएको आयोगले जनाएको छ ।

यसको कार्यान्वयन योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धि प्रवद्र्धन र जनताको जीवनस्तर सुधार गर्न मार्गदर्शन प्रदान गर्ने अपेक्षा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सुनाइयो ।

 यो आर्थिक वृद्धिमा मात्र केन्द्रित नभएको आयोगका उपाध्यक्ष प्राडा‍. शिवराज अधिकारीले बताए । उनका अनुसार दिगो विकासका साथै सामाजिक न्याय, समावेशिता र समान विकासका सिद्धान्तलाई कार्यान्वयन गर्ने दिशामा केन्द्रित छ ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप