बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
सुप्रिम सहकारी ठगी प्रकरण

रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?

बिहीबार, १० माघ २०८१, २० : १५
बिहीबार, १० माघ २०८१

बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिलहरूले बिहीबार ४ घण्टा बहस गरेका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बहस भएको हो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी सम्बन्धी मुद्दामा रविविरुद्ध ८ जना सरकारी वकिलले बहस गरेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय भैरहवाबाट ५ र उच्च सरकारी वकिल बुटवल कार्यालयबाट ३ जनाले बहस गरेका हुन् ।

प्रतिवादीलाई थुनछेक बहस नै नगरी अदालतबाट परिवारको जिम्मा लगाएको विषयदेखि गोर्खा मिडियामा गलत ढङ्गको लगानी भएको विषयसम्म उनीहरूले बहसका क्रममा उठाएका थिए ।

थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले सहकारीको रकम प्रत्यक्ष रूपमा खर्च गरेको स्पष्ट देखिएका अभियुक्तलाई बुधबार बहस नै नगरी किन परिवारको जिम्मा लगाइयो भन्ने प्रश्न गरेका थिए ।

पौडेलले विनाजमानी, विनाधितो सहकारीबाट बैंकमा पैसा ट्रान्सफर गर्न लगाउने अनि बैंकबाट निकालेर खर्च गर्ने काम रविबाट भएको जिकिर गरे । उनले सहकारीबाट मिडियामा पैसा लैजाने काम योजनाबद्ध रूपमा भएको पनि बताए ।

उच्च अदालत बुटवलका सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले सहकारीको पैसा बैंकमा लगेर अरूलाई पठाउने  तर त्यो रकम विनाधितो कसरी जम्मा भयो भन्नेबारे थाहा छैन भनेर रवि उम्किन नमिल्ने तर्क गरे ।

उच्च सहकारी वकिल बुटवलका उपन्यायाधिवक्ता प्रकाश मरासिनीले रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलिरहेकाले  उनले दुई वटा जिल्ला अदालतमा यसअघि राखेको धरौटीबापतको १ करोड २५ लाख रुपैयाँको स्रोत उल्लेख गर्नुपर्ने माग गरेका थिए । रविले कास्की र काठमाडौँ जिल्ला अदालतमा गरी जम्मा १ करोड २५ लाख रुपैयाँ धरौटी बुझाएका थिए ।

कात्तिक २ मा पक्राउ परेका लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधमा सरकारी वकिल कार्यालयले रवि लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर आइतबार मुद्दा दर्ता गराएको थियो ।

मुद्दाको प्रतिवादका लागि लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए । न्यायाधीश योगीले बुधबार नै बयान गराएर उनलाई श्रीमती निकिता पौडेल र वकिलको जिम्मा लगाएका थिए ।

बिहीबारको बहसमा सरकारका तर्फबाट सरकारी वकिलहरू न्यायाधिवक्ता प्रेमराज पौडेल, उपन्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, वसन्त पोखरेल, सुनिल लामिछाने र पवित्रा भण्डारीले बहस गरेका थिए ।

यस्तै उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता शोभकान्त भण्डारी, उपन्यायाधिवक्ता प्रकाश मरासिनी र रवि न्यौपानेले पनि बहस गरे ।

जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्दै काठमाडौँमा आफूमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएका थिए । उनले सहकारीको पैसा किन आयो, कहाँबाट आयो भन्ने कुरा सम्बन्धित कम्पनीको प्रमुखलाई थाहा हुनुपर्ने बताए । उनले रविले जानीजानी सहकारीको रकम टिभीमा लैजाने भूमिका निर्वाह गरेको दाबीसमेत गरे ।

यस्तै सहकारी पीडितको तर्फबाट शुक्रबार दुई जना कानुन व्यवसायीले बहस गर्नेछन् । शुक्रबार नै अभियुक्त रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गर्ने तयारी छ । शुक्रबार दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो । मुद्दामा जीबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप